काठमाडौं । युगकवि सिद्धिचरण प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को बाल समितिको आयोजनामा विश्वव्यापी बाल वक्तृत्व कला प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताले विभिन्न महादेशमा रहेका नेपालीमूलका बालबालिकालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्य राखेको छ।
प्रतियोगितामा सहभागी बालबालिकाले नेपाली वा अङ्ग्रेजी भाषामध्ये आफूलाई सहज लागेको भाषामा वक्तृत्व प्रस्तुत गर्न सक्नेछन्। वक्तृत्वको मुख्य विषय युगकवि सिद्धिचरण श्रेष्ठ रहने आयोजकले जनाएको छ।
प्रतियोगिता विभिन्न महादेशमा फरक–फरक मितिमा सञ्चालन हुनेछ। अष्ट्रेलिया महादेशमा अप्रिल १८ मा सिड्नी समयअनुसार बिहान ९ बजे कार्यक्रम तय गरिएको छ भने उत्तर अमेरिकाअन्तर्गत क्यानडा र अमेरिकामा मे १५ मा न्यूयोर्क समयअनुसार साँझ ८ बजे प्रतियोगिता हुने जनाइएको छ।
१८ वर्षसम्मका बालबालिकाले सहभागी हुन सक्ने यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ। साथै, सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। सहभागिताका लागि अष्ट्रेलियाका प्रतियोगीले अप्रिल १० भित्र र अमेरिका तथा क्यानडाका सहभागीले मे १० भित्र नाम दर्ता गरिसक्नुपर्नेछ।
युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक मानिन्छन्। उहाँले राणा शासनविरुद्ध जनचेतना जगाउन साहित्यमार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाे थियाे।

