साहित्यपोस्ट डट कम

विष्टको ‘खण्सापका मुक्तक’ विमोचन

विष्टको ‘खण्सापका मुक्तक’ विमोचन

बाजुरा । मुक्तककार वीरबहादुर विष्टद्वारा बाजुरेली खस भाषामा लिखित मुक्तक संग्रह ‘खण्सापका मुक्तक’ सार्वजनिक गरिएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा मार्तडीस्थित बडीमालिका नगरपालिकाको सभाहलमा आइतबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।

स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको उक्त संग्रहमा १ सय १ वटा मुक्तक समावेश छन् । कृतिमा बाजुराको कला, पारिवारिक सम्बन्ध, माया–प्रेम, सामाजिक यथार्थ, राजनीतिक विसङ्गति र राष्ट्रिय चिन्तनका विविध पक्षहरूलाई समेटिएको छ । मुक्तकहरूमा गाउँ, समाज र देशप्रतिको गहिरो संवेदना तथा चोटिलो व्यङ्ग्य अभिव्यक्त गरिएको छ ।

बडीमालिका नगरपालिका–९ चौराटामा जन्मिनुभएकाे विष्टको यो पहिलो कृति हो । विमोचनपछि बोल्दै उहाँले छोटो समयमै कृति तयार गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो जीवनका अनुभव, समाजका यथार्थ र बाजुरेली जनजीवनलाई कृतिमा उतारेको बताउनुभयाे ।

कार्यक्रममा मालिका माविका प्राचार्य तथा साहित्यकार शुभराज पाध्यायले कृतिले समसामयिक समाजको यथार्थ चित्रण गर्नुका साथै बाजुरेली भाषाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रमकी प्रमुख अतिथि बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले कृतिले बाजुराको भाषा, संस्कृति र पहिचान उजागर गरेको उल्लेख गर्दै लेखक विष्टको प्रयासको प्रशंसा गर्नुभयाे ।

बाजुरेली खस भाषामा प्रकाशित यो मुक्तक संग्रहले स्थानीय साहित्यलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.