साहित्यपोस्ट डट कम

बर्थडे केकभित्र लुकेको इतिहास, मानव सभ्यता र संस्कृतिको लामो यात्रा

बर्थडे केकभित्र लुकेको इतिहास, मानव सभ्यता र संस्कृतिको लामो यात्रा

अचेल बर्थडे केक सर्वत्र पाइन्छन् र जन्मदिन, विवाह, वर्तमान, पार्टी, कुनै शुभकार्य आदि-इत्यादि सेलिब्रेसनका अवसरमा केक काट्दै रमाएर खाइन्छन् पनि । तर यो बर्थडे केक कहाँ, कसरी, कहिलेदेखि, कुन देश र कुन सभ्यताबाट शुरू भयो र कसरी एउटा सभ्यताबाट अर्को सभ्यतासम्म फैलिँदै आयो भन्ने यसको गहिरो इतिहास, रहस्य, मानव सभ्यता र संस्कृतिसँग जोडिएको मीठो लामो यात्राबारे भने धेरैलाई—के म त भन्छु, लगभग कसैलाई नै थाहा छैन । अनि, यसको खोजी गर्ने प्रयास पनि कसैले गरेका छैनन् ।

जन्मदिन केकसँग जोडिएको रहस्यात्मक मानव सभ्यता:

मानव सभ्यताको विकाससँगै मानिसले आफ्ना सुख, दुःख, प्रेम, विजय, जन्म र मृत्युलाई विभिन्न संस्कार तथा परम्पराद्वारा व्यक्त गर्दै आएको छ । ती परम्परामध्ये ‘जन्मदिन मनाउने’ संस्कार विश्वकै लोकप्रिय संस्कृतिमध्ये एक बनेको छ । आज संसारका प्रायः सबै देशमा जन्मदिन मनाउने चलन छ, र त्यो उत्सवको केन्द्रमा प्रायः एउटा विशेष वस्तु देखिन्छ — ‘बर्थडे केक !’

बर्थडे केक केवल मिठाइ होइन; यो भावना, स्मृति, आशा, संस्कृति र सामाजिक सम्बन्धको प्रतीक हो । एउटा सानो केकभित्र हजारौँ वर्ष पुरानो धार्मिक विश्वास, सामाजिक विकास, आर्थिक परिवर्तन र मानव सभ्यताको सांस्कृतिक यात्रा लुकेको छ । क्यान्डल बाल्ने, गीत गाउने, क्यान्डल फुकेर र अन्त्यमा केक काट्नेजस्ता साधारण लाग्ने क्रियाकलापको पनि आफ्नै गहिरो इतिहास छ ।

आजको आधुनिक अवस्थासम्म आइपुग्न बर्थडे केकले निकै लामो यात्रा तय गरेको छ । प्राचीन देवपूजादेखि आधुनिक सोशल मिडिया सेलिब्रेशनसम्म बर्थडे केक मानव जीवनको एउटा महत्वपूर्ण सांस्कृतिक प्रतीक बनेको छ ।

क्यान्डल फुक्ने प्रचलन त चल्यो तर क्यान्डल किन फुकिन्छ भनेर कसैले सोध्यो भने, म त भन्छु, सबैको जिब्रोमा ताला लाग्छ होला शायद! तल पढ्दै जानुहोला, यस्को अर्थ तल खुल्नेछ ।

जन्मदिन मनाउने संस्कारको प्रारम्भ:

इतिहासकारहरूका अनुसार जन्मदिन मनाउने परम्परा प्राचीन सभ्यताबाट शुरू भएको मानिन्छ । विशेष गरी Egypt र Greece जस्ता सभ्यतामा शासक, देवता वा धार्मिक व्यक्तिहरूसँग सम्बन्धित विशेष दिनहरू मनाइन्थे ।

प्राचीन मिश्रमा Pharaoh [“Pharaoh” भनेकै प्राचीन इजिप्टका राजाहरू वा शासकहरूलाई भनिने उपाधि हो । नेपाली, हिन्दी, उर्दू तथा इस्लामिक परम्परामा यसलाई प्रायः ‘फिरौन’ (फिरोन) भनेर उच्चारण गरिन्छ । Moses (इस्लाममा हजरत मुसा अलैहिस्सलाम) सँग सम्बन्धित कथामा आउने अत्याचारी शासक पनि यही ‘Pharaoh/फिरौन’हो] लाई देवतासमान मानिन्थ्यो । राजा गद्दीमा बसेको दिनलाई उसको ‘दोस्रो जन्म’ मानिन्थ्यो । त्यसैले उत्सव आयोजना गरिन्थ्यो । यद्यपि त्यतिबेला आजको जस्तो केक थिएन, तर विशेष भोजन र मिठाइको प्रयोग हुन्थ्यो ।ई

प्राचीन ग्रीसमा देवदेवीलाई प्रसन्न पार्न विशेष प्रकारका रोटी, मिठाई र Honey केक चढाइन्थे । यही संस्कृतिबाट बर्थडे केक को प्रारम्भिक रूप विकसित भएको मानिन्छ ।

चन्द्रदेवी आर्टिमिस (Artemis) र बर्थडे केकको प्रारम्भ:

बर्थडे केकको इतिहासमा सबैभन्दा चर्चित प्रसङ्ग प्राचीन ग्रीसको चन्द्रदेवी आर्टिमिससँग सम्बन्धित छ ।

ग्रीक मानिसहरूले आर्टिमिसलाई सम्मान गर्न गोल आकारको हनी केक बनाउँथे । त्यो केक चन्द्रमाको आकारको प्रतीक थियो । केकमाथि क्यान्डल बालिन्थ्यो, जसले चन्द्रमाको चमक जनाउँथ्यो ।

धेरै इतिहासकारका अनुसार क्यान्डल राख्ने परम्परा यही संस्कृतिबाट शुरू भएको हो । त्यतिबेला मानिसहरू विश्वास गर्थे कि बलिरहेको क्यान्डल को धुवाँले मानिसको इच्छा देवतासम्म पुर्‍याउँछ ।

आज पनि बर्थडे केक मा क्यान्डल राख्ने र निभाउँदा विस(wish) माग्ने परम्परा यही प्राचीन विश्वासको आधुनिक रूप हो ।

अब प्रश्न उठ्न सक्छ, को हुन् यी ‘आर्टिमिस’ ?

‘आर्टिमिस’ प्राचीन ग्रीसको मिथकीय देवीको नाम हो । Greek Mythology अनुसार उहाँलाई शिकार की देवी, जंगल र वन्यजन्तुको संरक्षक तथा चन्द्रमासँग सम्बन्धित देवी मानिन्थ्यो । उहाँलाई प्रायः धनुष-बाण बोकेकी, हिरणसँग उभिएकी, स्वतन्त्र र शक्तिशाली देवीका रूपमा चित्रण गरिन्छ ।

उहाँका पिता Zeus (प्राचीन Greece को Greek Mythology मा सबैभन्दा शक्तिशाली देवता मानिने पात्र) थिए । उहाँका जुम्ल्याहा भाइ अपोलो थिए । अपोलो सूर्य, सङ्गीत र कलासँग जोडिएका देवता मानिन्थे भने Artemis चन्द्रमा र शिकारसँग सम्बन्धित मानिन्थिन् ।

टेम्पल अफ आर्टिमिस : आर्टिमिसको नाममा बनेको “टेम्पल अफ आर्टिमिस” प्राचीन संसारका सेभेन वन्डर्समध्ये एक मानिन्थ्यो ।

आधुनिक समयमा पनि आर्टिमिस नाम किन चर्चित छ ?

आजकाल उहाँको नाम: फिल्म, उपन्यास, Video games, Space missions मा पनि धेरै प्रयोग हुन्छ । विशेषगरी NASA को “Artemis Program” नामक चन्द्र अभियान निकै चर्चित छ, जसको उद्देश्य मानिसलाई फेरि चन्द्रमामा पठाउनु हो ।

केकको प्रारम्भिक विकास:

आजको सफ्ट क्रिम केक जस्तो केक प्राचीन समयमा थिएन । शुरूमा केक साधारण रोटीजस्तै हुन्थ्यो । त्यसमा मह, सुख्खा फल, जौ, गहुँ, र मसला मिश्रण गरेर बनाइन्थ्यो ।

केक र पाउरोटी बीच धेरै फरक थिएन । समयसँगै मानिसहरूले चिनी र नौनी घिउ (Butter) प्रयोग गर्न थालेपछि केक अझ मीठो र स्वादिष्ट बन्न थाल्यो ।

मध्य युगीन युरोपमा बेकिङ कला विकास भएपछि केकको स्वरूप परिवर्तन हुँदै गयो । ओभन प्रविधि सुधारिएपछि केक अझ नरम, सुगन्धित र आकर्षक बन्न थाल्यो ।

जर्मनी र आधुनिक बर्थडे केक:

आधुनिक बर्थडे केक को विकासमा जार्मनी को ठूलो योगदान छ । १३ औँदेखि १५ औँ शताब्दीको बीचमा जर्मनीमा ‘किन्डरफेस्ट’ नामक बालबालिकाको जन्मदिन उत्सव शुरू भयो । यसलाई आधुनिक बर्थडे celebration को आधार मानिन्छ ।

‘किन्डरफेस्ट’मा बच्चाको लागि विशेष केक बनाइन्थ्यो, उमेरअनुसार क्यान्डल राखिन्थ्यो, एउटा अतिरिक्त क्यान्डल ‘भविष्यको उज्यालो’को प्रतीक मानिन्थ्यो । त्यो क्यान्डल दिनभर बलिरहन्थ्यो । साँझ बच्चाले एकैपटकको फुकाइमा क्यान्डल निभाउने चलन थियो । यदि सबै क्यान्डल एकैपटक निभे भने इच्छा पूरा हुने विश्वास गरिन्थ्यो ।

आज संसारभर प्रचलित बर्थडे क्यान्डलस्को संस्कृति यही परम्पराबाट आएको मानिन्छ ।

बर्थडे केक र धार्मिक विश्वास:

धेरै संस्कृतिमा आगो, प्रकाश र धुवाँलाई आध्यात्मिक शक्तिसँग जोडिएको पाइन्छ । क्यान्डल: प्रकाशको प्रतीक, जीवनको संकेत, आशाको चिन्ह र पवित्रताको प्रतिनिधित्व मानिन्थ्यो ।

प्राचीन मानिसहरू विश्वास गर्थे कि क्यान्डलको धुवाँले प्रार्थना देवतासम्म पुर्‍याउँछ, उज्यालोले दुष्ट शक्तिलाई हटाउँछ । यही कारण बर्थडे केक मा क्यान्डल राख्ने चलन धार्मिक र सांस्कृतिक रूपमा गहिरो अर्थ बोकेको छ ।

औद्योगिक क्रान्ति र केकको लोकप्रियता:

१८ औँ र १९ औँ शताब्दीपछि औद्योगिक क्रान्तिले बेकिङ उद्योगमा ठूलो परिवर्तन ल्यायो । Sugar सस्तो भयो । पिठो उत्पादन बढ्यो । ओभन र बेकिङ टूल्स् आधुनिक बने । फलस्वरूप केक धनी वर्गबाट सामान्य मानिससम्म पुग्न थाल्यो । युरोप र युएसमा बर्थडे केक घरघरमा लोकप्रिय बन्न थाल्यो । यस समय चकलेट केक, स्पन्ज (Sponge) केक, क्रिम केक जस्ता नयाँ शैलीहरू विकसित भए ।

बर्थडे गीत र आधुनिक उत्सव:

आज बर्थडे केक सँगै “ह्याप्पी बर्थडे टु यु” गीत गाउने चलन पनि अत्यन्त लोकप्रिय छ । यो गीत १९ औँ शताब्दीमा युएसमा विकसित भएको मानिन्छ । पछि यो संसारकै सबैभन्दा धेरै गाइने गीतहरूमध्ये एक बन्यो । केक काट्ने, फोटो खिच्ने, पार्टी गर्ने र सामाजिक सञ्जालमा साझा गर्ने संस्कृति आधुनिक युगमा अझ तीव्र रूपमा फैलियो ।

विश्वका विभिन्न देशमा जन्मदिनको केक संस्कृतिको विकास

जापानमा स्ट्रबेरी सर्टकेक निकै लोकप्रिय जन्मदिनको केक मानिन्छ । भारतमा ठूला क्रिम केक, मैनबत्ती प्रदर्शन र भव्य जन्मदिन भोजको संस्कृति लोकप्रिय छ । संयुक्त राज्य अमेरिकामा विषयवस्तुमा आधारित केक, डिजाइनर केक तथा व्यावसायिक जन्मदिन उद्योग अत्यन्त विकसित छ ।

नेपालमा पछिल्ला दशकहरूमा जन्मदिनमा केक काट्ने चलन तीव्र रूपमा बढेको छ । सहरहरूमा जन्मदिन उत्सव सामाजिक प्रतिष्ठासँग समेत जोडिन थालेको छ ।

आधुनिक डिजाइनर केकको युग

आज केक केवल खाने वस्तु मात्र नभई कलाको एउटा रूप पनि बनेको छ ।

अहिले तस्बिरसहितका केक, फन्डन्ट केक, त्रिआयामिक (थ्रीडी) केक, विषयवस्तुमा आधारित केक तथा विलासी विवाह केकजस्ता अनेक शैली प्रचलनमा छन् । सामाजिक सञ्जाल र युट्युबले केक सजावटलाई विश्वव्यापी प्रवृत्तिका रूपमा स्थापित गरेका छन् ।

जन्मदिनको केकको मनोवैज्ञानिक पक्ष

जन्मदिनको केक मानिसको भावनासँग गहिरो रूपमा जोडिएको हुन्छ । यसले खुशी, परिवार, प्रेम, सम्मान, स्मृति र अपनत्वजस्ता भावनालाई बलियो बनाउँछ । बालबालिकाका लागि जन्मदिनको केक उत्साहको प्रतीक हुन्छ भने वयस्कहरूका लागि यो स्मृति र सम्बन्धको प्रतीक बन्न सक्छ ।

जन्मदिनको केक र व्यापारिक संसार

आज जन्मदिनको केक एउटा विशाल उद्योग बनिसकेको छ । विश्वभर बेकरी व्यवसाय, कार्यक्रम व्यवस्थापन, केक सजावट तथा अनलाइन केक वितरणजस्ता उद्योग अरबौँ डलरको बजारमा विकसित भएका छन् । विशेषगरी सामाजिक सञ्जालमार्फत हुने प्रचारप्रसारले केक उद्योगलाई अझ विशाल बनाएको छ ।

नेपाली समाजमा जन्मदिनको केकको प्रभाव

पहिले नेपालमा जन्मदिन धार्मिक पूजापाठमार्फत मनाइन्थ्यो । तर आधुनिक शहरी संस्कृतिसँगै केक काट्ने चलन तीव्र रूपमा बढ्यो । आज विद्यालय, कलेज, कार्यालय, भोजनालय तथा घरपरिवार सबैतिर जन्मदिनमा केक काट्ने प्रचलन सामान्य भइसकेको छ । कतिपयले यसलाई आधुनिक संस्कृतिको प्रभाव मान्छन् भने कतिपयले खुशी बाँड्ने सुन्दर माध्यमका रूपमा हेर्छन् ।

जन्मदिनको केकको इतिहास केवल मिठाईको कथा होइन; यो मानव सभ्यता, धार्मिक विश्वास, सांस्कृतिक विकास र भावनात्मक सम्बन्धको लामो यात्रा हो । प्राचीन ग्रीसकी चन्द्रदेवीदेखि आधुनिक सामाजिक सञ्जालसम्म आइपुग्दा जन्मदिनको केक मानव जीवनको महत्वपूर्ण सांस्कृतिक प्रतीक बनेको छ ।

आज एउटा सानो मैनबत्ती निभाउँदा मानिसले मनमनै कुनै इच्छा व्यक्त गर्छ । सायद यही आशा, प्रेम, खुशी र भावनाले जन्मदिनको केकलाई सदाबहार बनाएको हो ।

जन्मदिनको केक नेपालसम्म कसरी आइपुग्यो ?

आज जन्मदिनको केक नेपालमा अत्यन्त सामान्य भइसकेको छ । गाउँदेखि सहरसम्म, साना बालबालिकादेखि वृद्धसम्म सबैले जन्मदिनमा केक काट्ने गर्छन् । तर यो संस्कृति नेपालमै जन्मिएको भने होइन । यसको यात्रा हजारौँ वर्ष पुरानो विश्व सभ्यतासँग जोडिएको छ ।

जन्मदिनको केकको विकास एउटा देशबाट अर्को देश हुँदै विस्तारै नेपालसम्म आइपुगेको हो । यसमा धार्मिक संस्कार, उपनिवेशवाद, व्यापार, आधुनिक शिक्षा, होटल संस्कृति, भारतीय प्रभाव तथा विश्वव्यापीकरण सबैको भूमिका रहेको छ ।

१. प्राचीन ग्रीसबाट प्रारम्भ

जन्मदिनको केकको प्रारम्भिक रूप प्राचीन ग्रीसमा देखिन्छ । ग्रीक मानिसहरूले चन्द्रदेवी आर्टिमिसलाई गोलाकार महको केक चढाउने गर्थे । त्यसमा मैनबत्ती बालिन्थ्यो । यही गोल केक, मैनबत्ती, इच्छा व्यक्त गर्ने र उत्सव मनाउने अवधारणा पछि युरोपभर फैलियो ।

२. जर्मनीमा आधुनिक जन्मदिनको केकको विकास

ग्रीसपछि जर्मनीमा किन्डरफेस्ट परम्परासँग आधुनिक जन्मदिनको केक विकसित भयो । जर्मनीमा उमेरअनुसार मैनबत्ती राख्ने, केक काट्ने र जन्मदिन मनाउने परम्परा निकै लोकप्रिय बन्यो ।

सत्रौँ र अठारौँ शताब्दीपछि फ्रान्स, इङ्ग्ल्यान्ड र इटालीलगायत युरोपका अन्य देशहरूमा पनि जन्मदिनको केक संस्कृति फैलिन थाल्यो ।

३. युरोपबाट अमेरिकासम्म

उन्नाइसौँ शताब्दीमा युरोपेली आप्रवासीहरू संयुक्त राज्य अमेरिका पुगेपछि जन्मदिनको केक संस्कृति त्यहाँ अत्यन्त लोकप्रिय बन्यो । अमेरिकाले यसलाई अझ व्यावसायिक र आकर्षक बनायो । डिजाइनर केक, जन्मदिन भोज, ‘ह्याप्पी बर्थडे’ गीत तथा विषयवस्तुमा आधारित केकजस्ता प्रवृत्ति अमेरिका हुँदै संसारभर फैलियो ।

हलिउड चलचित्र तथा पाश्चात्य सञ्चारमाध्यमहरूले पनि जन्मदिनको केकलाई विश्वव्यापी संस्कृति बनाउन ठूलो भूमिका खेले ।

४. भारतमा जन्मदिनको केक कसरी आयो ?

नेपालमा आउनुभन्दा पहिले जन्मदिनको केक भारतमा प्रवेश गरेको थियो । भारतमा यो मुख्यतः बेलायती उपनिवेशकालीन प्रभाव, ख्रीष्टियन मिसनरी विद्यालय, होटल तथा बेकरी संस्कृति र अङ्ग्रेजी शिक्षामार्फत फैलियो ।

बेलायती शासनकालमा बेकरी, पेस्ट्री तथा पाश्चात्य परिकारहरू भारतीय सहरहरूमा लोकप्रिय हुन थाले । विशेषगरी कोलकाता, मुम्बई, दिल्ली र चेन्नईजस्ता सहरहरूमा केक संस्कृति तीव्र रूपमा फैलियो । पछि भारतीय चलचित्र उद्योग र टेलिभिजनले जन्मदिन उत्सवलाई जनमानसमा लोकप्रिय बनायो ।

५. भारतबाट नेपाल प्रवेश

नेपालमा जन्मदिनको केक मुख्यतः भारतमार्फत भित्रिएको मानिन्छ । विशेषगरी खुला नेपाल–भारत सांस्कृतिक सम्बन्ध, व्यापार, भारतीय चलचित्र, अङ्ग्रेजी विद्यालय तथा शहरी होटल संस्कृतिले यसको विस्तारमा महत्वपूर्ण भूमिका खेले ।

वि.सं. २००७ (सन् १९५०) पछि नेपाल आधुनिकतर्फ खुल्न थालेपछि बेकरी, होटल, भोजनालय तथा पाश्चात्य शिक्षाको विकाससँगै केक संस्कृति काठमाडौंलगायत सहरहरूमा विस्तारै फैलियो ।

६. काठमाडौंमा बेकरी संस्कृतिको विकास

विशेषगरी काठमाडौंमा पर्यटक संस्कृति, विदेशी प्रभाव, पाँचतारे होटल तथा बेकरी व्यवसायको विकास भएपछि जन्मदिनको केक लोकप्रिय हुन थाल्यो । १९८०–९० को दशकपछि ब्ल्याक फरेस्ट केक, पाइनएप्पल केक र चकलेट केक नेपाली बजारमा लोकप्रिय भए । त्यसपछि विद्यालय र कलेज संस्कृतिमार्फत जन्मदिन उत्सव युवापुस्तामाझ तीव्र रूपमा फैलियो ।

७. सामाजिक सञ्जाल र आधुनिक नेपाल

सन् २००० पछिको सामाजिक सञ्जालको युगले जन्मदिनको केकलाई अझ लोकप्रिय बनायो । आज नेपालमा तस्बिरसहितका केक, विषयवस्तुमा आधारित केक, डिजाइनर केक तथा व्यक्तिको रुचिअनुसार बनाइने केक अत्यन्त लोकप्रिय छन् । फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबले जन्मदिन उत्सवलाई प्रदर्शनमुखी संस्कृतिमा रूपान्तरण गरिदिएका छन् ।

अब केक खुशी, सामाजिक प्रतिष्ठा, सरप्राइज संस्कृति तथा सम्बन्ध अभिव्यक्त गर्ने माध्यमको प्रतीकजस्तै बनेको छ ।

८. नेपाली परम्परा र आधुनिक जन्मदिनको केक

पहिले नेपाली समाजमा जन्मदिन पूजा, टीका, आशीर्वाद तथा मन्दिर दर्शनमार्फत मनाइन्थ्यो । तर अहिले धेरैजसो ठाउँमा मैनबत्ती बाल्ने, केक काट्ने र जन्मदिन भोज गर्ने चलन मुख्य भाग बनेको छ ।

कतिपय परिवारले अहिले दुवै संस्कृतिलाई मिश्रित रूपमा मनाउने गर्छन्—पहिले पूजा, त्यसपछि केक काट्ने ।

९. जन्मदिनको केक : विश्वव्यापी सांस्कृतिक प्रतीक

आज जन्मदिनको केक कुनै एउटा देशको मात्र संस्कृति रहेन । यो प्राचीन ग्रीसबाट सुरु भयो, जर्मनीमा आधुनिक रूप लियो, युरोप र अमेरिकामा व्यावसायिक बन्यो र भारत हुँदै नेपालसम्म आइपुग्यो । यसले मानव सभ्यताको सांस्कृतिक आदानप्रदान, विश्वव्यापीकरण र आधुनिक जीवनशैलीको प्रतिनिधित्व गर्छ ।

नेपालमा जन्मदिनको केकको प्रवेश केवल एउटा मिठाई भित्रिनु मात्र थिएन; यो विश्व संस्कृतिको लामो यात्राको एउटा महत्वपूर्ण अध्याय थियो ।

प्राचीन देवपूजादेखि आधुनिक टिकटक जन्मदिन उत्सवसम्म आइपुग्दा केक मानव भावनाको साझा प्रतीक बनिसकेको छ । आज नेपालमा मैनबत्ती निभाउँदा गरिने कामनाभित्र हजारौँ वर्ष पुरानो मानव सभ्यताको सांस्कृतिक प्रतिध्वनि लुकेको छ ।

तर आजकल बजारमा पाइने धेरै व्यावसायिक केकहरू स्वादिष्ट र आकर्षक देखिए पनि कतिपयमा अत्यधिक चिनी, कृत्रिम रङ, संरक्षणकारी पदार्थ, मैदा, कृत्रिम सुगन्ध, ट्रान्स फ्याट तथा विभिन्न रासायनिक स्थिरकारी पदार्थ प्रयोग गरिन्छ । त्यसैले यस्ता केक धेरै मात्रामा वा बारम्बार खानु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिँदैन ।

जन्मदिनको केकको इतिहासबारे कसले लेखेका छन् ?

जन्मदिनको केकको इतिहासबारे कसले लेखेका छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ । वास्तवमा जन्मदिनको केक र जन्मदिन उत्सवको इतिहासका धेरै पक्ष ऐतिहासिक व्याख्यामा आधारित छन् । यस विषयका सबै तथ्य शतप्रतिशत प्रमाणसहित उपलब्ध छैनन्, किनकि यो हजारौँ वर्ष पुरानो सांस्कृतिक विकाससँग सम्बन्धित विषय हो । तथापि इतिहासकार, खाद्य इतिहासकार तथा सांस्कृतिक अनुसन्धानकर्ताहरूले विभिन्न सभ्यताका अभिलेख, धार्मिक परम्परा र पुराना दस्तावेजका आधारमा यसको अध्ययन गरेका छन् ।

जन्मदिनको केकको इतिहासबारे विभिन्न खाद्य तथा सांस्कृतिक इतिहासकारहरूले लेखेका छन् । तीमध्ये स्टिभेन ग्डुला, विलियम सिटवेल र क्यारोल विल्सनका नाम उल्लेखनीय मानिन्छन् ।

विशेषगरी फुड टाइमलाइन, युरोपेली बेकिङ इतिहास तथा जर्मन किन्डरफेस्ट परम्परासम्बन्धी अध्ययनहरू धेरै उद्धृत गरिन्छन् । धेरै इतिहासकारले प्राचीन ग्रीसको आर्टेमिस पूजा, जर्मनीको किन्डरफेस्ट तथा मध्ययुगीन युरोपेली बेकिङ संस्कृतिलाई आधुनिक जन्मदिनको केकको मूल आधार मानेका छन् ।

संसारमै पहिलो जन्मदिन कसले मनायो ?

संसारमै पहिलो जन्मदिन कसले मनायो भन्ने प्रश्नको ठोस उत्तर इतिहाससँग पनि छैन । तर धेरै इतिहासकारका अनुसार जन्मोत्सवको प्रारम्भिक स्वरूप प्राचीन इजिप्टमा देखिन्छ ।

विशेषगरी फाराओहरू गद्दीमा बसेको दिनलाई दिव्य जन्मको रूपमा मानिन्थ्यो । त्यसैले कतिपय इतिहासकारले पहिलो अभिलेखित जन्मदिन उत्सव इजिप्टका फाराओहरूसँग सम्बन्धित रहेको उल्लेख गरेका छन् । यद्यपि त्यो आजको जस्तो जन्मदिन उत्सव भने थिएन ।

सामान्य मानिसको जन्मदिन कहिलेदेखि मनाउन थालियो ?

प्राचीन समयमा राजा, देवता, शासक तथा उच्च वर्गका व्यक्तिहरूको मात्र जन्मदिन मनाइन्थ्यो । पछि ग्रीस, रोम र त्यसपछि जर्मनीमा सामान्य मानिसहरूको जन्मदिन मनाउने परम्परा विस्तार हुँदै गयो ।

संसारमै पहिलो जन्मदिनको केक कसले काट्यो ?

यस प्रश्नको पनि निश्चित उत्तर इतिहासमा उपलब्ध छैन । कुनै एक व्यक्तिले संसारकै पहिलो जन्मदिनको केक काटेको प्रमाण अहिलेसम्म भेटिएको छैन । किनकि केक संस्कृतिको विकास क्रमिक रूपमा भएको थियो ।

शुरूमा मह मिसिएको रोटी, त्यसपछि गुलियो केक, त्यसपछि मैनबत्ती बाल्ने परम्परा र अन्ततः जन्मदिनको केकको रूप विकसित भएको मानिन्छ । तर आधुनिक शैलीको जन्मदिनको केक काट्ने परम्पराको शुरूआत भने जर्मनीको किन्डरफेस्ट संस्कृतिबाट भएको मानिन्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.