साहित्यपोस्ट डट कम

वीरगञ्जमा तीन दिने ‘मधेस साहित्य महोत्सव–२०२६’ सुरु

वीरगञ्जमा तीन दिने ‘मधेस साहित्य महोत्सव–२०२६’ सुरु

वीरगञ्ज। ‘गाउँ मन्थन, सपनाको बेर्ना जोगाउन साहित्य’ भन्ने नाराका साथ तीन दिने मधेस साहित्य महोत्सव–२०२६ बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ। मधेसको समृद्ध साहित्यिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो।

आयोजक संस्था उत्कर्ष नेपालका संस्थापक तथा कार्यकारी अधिकृत जय साहका अनुसार महोत्सवले गाउँ, साहित्य, संस्कृति र समकालीन सामाजिक यथार्थबीचको सम्बन्धलाई गहिराइमा उजागर गर्ने लक्ष्य लिएको छ।

महोत्सवको उद्घाटन लोकबाजा सिंगाहा बजाएर गरिएको थियो। उद्घाटन समारोहमा बोल्दै भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले गाउँ बिना सहर, भाषा र पहिचान सम्भव नहुने बताउनुभयाे । “गाउँ नरहे गाउँ–नगर हुँदैन, भाषा र संस्कृति पनि जोगिँदैन,” उहाँले भन्नुभयाे ।

पहिलो दिन ‘गाउँ– स्मृति, मिथक र यथार्थ’ शीर्षकमा डा. भास्कर गौतमले बीजपत्र प्रस्तुत गर्नुभयाे । उहाँले नेपालमा गाउँको इतिहास, वर्तमान अवस्था र कृषिमा आधारित जनजीवनबारे चर्चा गर्दै गाउँ अझै पनि कृषि, पशुपालन र संस्कृतिसँग गाँसिएको बताउनुभयाे ।

कृषि आधुनिकीकरणका नाममा निर्वाहमुखी अर्थतन्त्र ध्वस्त पारिँदै किसान विस्थापित भइरहेको उहाँको भनाइ थियो।

डा. गौतमले मल, बिउ र सिँचाइको संकट, भूमिहीनता, जातीय तथा लैंगिक विभेद र पर्यावरणीय समस्याले गाउँलाई थप दबाबमा पारेको उल्लेख गर्नुभयाे । उहाँले चुनावका बेला मात्र गाउँ सम्झिने प्रवृत्तिप्रति पनि कटाक्ष गर्नुभयाे । महोत्सवको पहिलो दिन ‘गाउँका युवा– पलायन, पोलिसी र विकल्प’, ‘गाउँ– लोकतन्त्र र सत्ता’ र ‘गाउँ– स्मृति र इतिहास’ शीर्षकमा सत्रहरू सञ्चालन भएकाे थियाे ।

लोकतन्त्र र सत्ताबारे भएको छलफलमा डा. सुरेश ढकाल, डा. सुचेता प्याकुरेल र डा. सबिन निङ्ग्लेखुले आफ्ना धारणा राख्नुभएकाे थियाे । वक्ताहरूले विकासको लाभ वितरण, महिला सहभागिता, सत्ता र जनताको दूरीजस्ता विषयमा जोड दिनुभयाे ।

उत्कर्ष नेपालका अध्यक्ष ऋतु राजले गाउँ गरिब नभई योजनाबद्ध रूपमा गरिब बनाइएको भन्दै असमान विकास, श्रमको अवमूल्यन र जातीय विभेदले गाउँलाई उपेक्षामा पारेको बताउनुभयाे ।

महोत्सवको पहिलो दिनको समापन साँझ ‘नवरंग’ सांस्कृतिक कार्यक्रममा गरिएको थियो, जहाँ विभिन्न विद्यालयका बालबालिकाले भोजपुरी, पञ्जाबी लगायत सांस्कृतिक गीतमा नृत्य प्रस्तुत गर्नुभएकाे थियाे । मधेस साहित्य महोत्सवको पहिलो संस्करणमा माटो विषयलाई केन्द्रमा राखेर विमर्श गरिएको थियो।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.