साहित्यपोस्ट डट कम

विराटचोकमा ‘भक्तराज स्मृति साँझ’ सम्पन्न

विराटचोकमा ‘भक्तराज स्मृति साँझ’ सम्पन्न

मोरङ । नेपाली सङ्गीतका भजनशिरोमणि भक्तराज आचार्यको सम्झनामा मोरङको विराटचोकमा ‘भक्तराज स्मृति साँझ’ कार्यक्रम सम्पन्न भएको छ ।

सप्तकला केन्द्र, सुन्दरहरैँचा–८, सलकपुरको आयोजनामा सुन्दरहरैँचा–९ स्थित बाल बगैँचा मन्टेसरीको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा केन्द्रका साना–साना विद्यार्थीहरूले आचार्यका कालजयी भजन तथा गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा जुनियर, सिनियर तथा एकल स्वरमा गीत प्रस्तुत गरिएको थियो। एकल प्रस्तुति दिने बालबालिकामा निर्जला दाहाल, अनु पाण्डे, प्रभा खतिवडा, दीक्षा भट्टराई, सोफिया विष्ट, युयश पौडेल, रोजल ताम्राकार, आविष्कार दाहाल र समीक्षा दाहाललगायत रहनुभएकाे थियाे ।

विशेषगरी आचार्यका चर्चित गीत तथा भजनहरू ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘सबै बेहोसी नशा पिएर’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘एक दिन मैले प्रभुसँग सोधेँ’ र ‘तन मन बचनले’ लगायतका गीत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा कोसी साहित्य–कला परिषद्का अध्यक्ष केशु विरहीले भक्तराज आचार्यको जीवन परिचय प्रस्तुत गर्दै उहाँका जीवनका विभिन्न सङ्घर्ष र उपलब्धिहरूबारे चर्चा गर्नुभएकाे थियाे । धनकुटामा जन्मिएर भारतको डुवर्स चिया बगानसम्म पुगेको जीवनयात्रा र त्यसपछि नेपाल फर्किएर गरेको सङ्गीतिक साधनाबारे उहाँले प्रकाश पार्नुभयाे ।

आयोजक संस्थाका सञ्चालक देवराज ढकालले आचार्यको स्मृतिमा फागुन १४ गते कार्यक्रम गर्ने योजना रहे पनि विशेष कारणले पछि सारेर अहिले आयोजना गरिएको जानकारी दिनुभयाे । उहाँले यस्ता कार्यक्रमले बालबालिकामा गीत–सङ्गीतप्रतिको रुचि बढाउने र कला प्रस्फुटनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा रङ्गेली कला साहित्य समाजका अध्यक्ष चिरञ्जीवी काफ्ले, बाल बगैँचा मन्टेसरीका अध्यक्ष रविन विष्टलगायत विभिन्न सामाजिक तथा साहित्यिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै विष्णु भण्डारी आचार्य, जेबी थुलुङ, नवराज पोखरेल ‘नवशिला’, शारदा दाहाल भण्डारी, यादव भट्टराईलगायत स्रष्टा–कलाकार तथा अभिभावकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रङ्गकर्मी तथा स्रष्टा भरत बर्बिरिकले गर्नुभएकाे थियाे ।

वि.सं. १९९९ असोज १६ गते धनकुटाको कुरुलेमा जन्मिनुभएका भक्तराज आचार्यले रेडियो नेपालमा २०३० साल चैत ६ गते ‘मलाई जीवन चाहिन्छ’ बोलको गीत रेकर्ड गराएर सङ्गीत यात्रा सुरु गर्नुभएकाे थियाे । उहाँले ५ सय ५१ गीतमा सङ्गीत दिनुभएकाे छ, जसमा ५ सय २५ गीत स्वयंले गाउनुभएकाे थियाे । लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित आचार्यको २०८० फागुन १४ गते निधन भएको थियो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.