साहित्यपोस्ट डट कम

विराट साहित्य सङ्गमको २३८औँ शृङ्खला सम्पन्न, दुई स्रष्टा पुरस्कृत

विराट साहित्य सङ्गमको २३८औँ शृङ्खला सम्पन्न, दुई स्रष्टा पुरस्कृत

विराटनगर । विराट साहित्य सङ्गम, विराटनगरको २३८औँ साहित्यिक शृङ्खला सम्पन्न भएको छ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार बलराम पोखरेल प्रमुख अतिथि तथा प्रा. डा. मेदिनीप्रसाद शर्मा विशेष अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्षसमेत रहनुभएका बलराम पोखरेलले मोफसलमा निजी प्रयासबाट सञ्चालित संस्थाले प्रतिकूल परिस्थितिबाहेक प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले करिब १६ वर्षअघि शुरू गरिएको ‘सङ्गम अभियान’ साहित्यिक मासिक हालसम्म १९३ अङ्क प्रकाशित भइसकेको जानकारी दिँदै संस्थाको निरन्तरता र सक्रियताप्रति खुशी व्यक्त गर्नुभयो ।

विशेष अतिथि प्रा. डा. मेदिनीप्रसाद शर्माले नियमित रचना वाचन कार्यक्रमले विराटनगर तथा आसपासका क्षेत्रमा नयाँ पुस्ताका स्रष्टा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले कार्यक्रम र प्रकाशनको निरन्तरताको शुभकामना पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रा. डा. मिनराज ढकाल, प्रा. एकराज भट्टराई, सरला चापागाईँ, हरिप्रसाद बराल, कविता केशरी, नानुमैया दाहाल, जमुना पौडेललगायत दुई दर्जनभन्दा बढी स्रष्टाले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

त्यसैगरी प्रा. डा. हरिहर भण्डारी, सीमा आभास, सुमन पोखरेललगायत विराटनगर तथा आसपासका क्षेत्रका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

रचना वाचनमा सहभागी स्रष्टामध्येबाट गोलाप्रथाद्वारा प्रदान गरिने नगेन्द्रमणि–विन्ध्या न्यौपाने पुरस्कार कुमार प्रधानलाई तथा निरजकुमार खतिवडा साहित्य प्रोत्साहन पुरस्कार नानुमैया दाहाललाई प्रदान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष जीवन काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गोपाल निर्भीकले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.