साहित्यपोस्ट डट कम

विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण

विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण

काठमाडौं । साहित्यकार विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ। सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’को प्रमुख आतिथ्य तथा कृष्ण भुसालको सभापतित्वमा कृति सार्वजनिक गरिएको हो।

कार्यक्रममा समिक्षक प्राडा. यज्ञश्वर निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतका व्यक्तित्वले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे । मिलाप पब्लिकेशनको आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा विमला निरौलालाई ‘मिलाप कभर सम्मान’ समेत प्रदान गरिएको थियो।

कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, साहित्यकार सीता पाण्डे, लक्ष्मी उप्रेती, डा. फणिन्द्रराज निरौला तथा वसन्त वित्यासी थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कथासङ्ग्रहमा समावेश कथाहरू उत्कृष्ट र भावपूर्ण रहेको धारणा राख्नुभएकाे थियाे ।

कृतिको समिक्षा गर्दै डा. यज्ञश्वर निरौलाले संग्रहका अधिकांश कथा प्रेमसँग सम्बन्धित रहेको तथा नेपाल र अमेरिकामा आधारित सामाजिक परिवेशका कथाहरू समेटिएको बताउनुभयो । उहाँका अनुसार कृतिमा समाजका विविध विषय, रीति–विकृति तथा मानवीय संवेदनालाई सरल तर गहन शैलीमा प्रस्तुत गरिएको छ।

साहित्यकार प्रमोद प्रधानले विमला निरौला साहित्य सिर्जनासँगै समाजसेवामा पनि सक्रिय रहेको उल्लेख गर्दै नेपाल बाल साहित्य समाजमा उहाँको योगदानको चर्चा गर्नुभयो । प्रमुख अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’ले निरौला बालसाहित्य, कविता र गीतका क्षेत्रमा स्थापित स्रष्टा रहे पनि अब कथाकारका रूपमा पनि परिचित हुने विश्वास व्यक्त गर्नुभयो ।

कृतिकार विमला निरौलाले आफूले विभिन्न विधामा लेखन गर्दै आएको उल्लेख गर्दै ‘प्रेमाश्रु’ ले पाठकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो। सभापति कृष्ण भुसालले कृतिमा प्रेमलाई केन्द्रमा राखेर लेखिएका कथाहरू समावेश गरिएको र प्रेम दिवसको सन्दर्भमा कृति सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

किशोर गौतमको वर्णविन्यास रहेको २०० पृष्ठको यस कथासङ्ग्रहमा २९ वटा कथा समावेश छन्। मिलाप पब्लिकेशनद्वारा प्रकाशित तथा ई.प्रेस प्रालिबाट मुद्रित कृतिको मूल्य ४५० रुपैयाँ निर्धारण गरिएको छ। महाकाव्यकार खेमनाथ दाहालको भूमिका रहेको कृतिमा पदम विश्वकर्मा र भागीरथी श्रेष्ठको शुभकामना तथा कृतिकारको लेखकीय समावेश गरिएको छ ।

यसअघि निरौलाका ‘तिमीविनाको हाम्रो जीवन’, ‘बाल मन’, ‘बादल र ऋतु’, ‘निर्दोष कोपिला’, ‘काव्यपराग’, ‘यात्रामा देश’ लगायत एक दर्जन कृति प्रकाशित भइसकेका छन्। हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएकी निरौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की निर्वतमान महासचिवसमेत हुनुहुन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.