साहित्यपोस्ट डट कम

विमल गिरीकाे चार मुक्तक

विमल गिरीकाे चार मुक्तक

सम्झिरहन्छ सधैँभरि यो मनले पनि

तिमीले जस्तै छाड्यो बचपनले पनि ।

छुरा रोप्यौ पिठ्युँमा पोल्छ भत्भती

कहिलेसम्म थेग्छ कुन्नि जीवनले पनि !

मन फुलेको वर्षौँ भयो कहिलेसम्म फल्छ कुन्नि

छाक जुटाउँदै यो दियो कहिलेसम्म बल्छ कुन्नि।

मन उड्छ माथि सधैँ खुसी फुल्ने रहरमा

फल्छ भन्दै यो जिन्दगी कहिलेसम्म चल्छ कुन्नि !

नसा–नसामा देश दुख्दा तिमीसँगै रुन पाऊँ

शिर झुकाएर नेपाल आमा तिम्रै पाउ छुन पाऊँ ।

जङ्गल, पहाड, नदीसँगै उमङ्ग र उल्लास बोकी

मातृभूमि! तन, मन, वचनले सधैँ तिम्रो हुन पाऊँ ।

सधैँ सिङ्गो युग हिँडाउने बाटोलाई माया गरौँ

खोस्रिएको, खेलेको पल्लो पाटोलाई माया गरौँ ।

आफूले टेकेको माटो, हिँडेको बाटो बाँचुञ्जेल

सुगन्धित नाभि गाडिएको माटोलाई माया गरौँ ।

ट्याग: विमल गिरी
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.