अर्जुन प्रधान
काठमाडौं । विश्व भूटानी साहित्य संगठन (GBLO) र सुरभि कला केन्द्रको समन्वयमा साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । सुरभि कला केन्द्रको प्राङ्गणमा आयोजित कार्यक्रममा साहित्य र संगीतका विविध प्रस्तुति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रा. डा. गोबिन्दराज भट्टराई प्रमुख अतिथि तथा प्रा. डा. गंगाराम अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे । कार्यक्रमको सभापतित्व गायक तथा संगीतकार अनिल फागोले गर्नुभएकाे थियाे भने सञ्चालन साहित्यकार खगेन्द्र खुशीले गर्नुभएकाे थियाे ।
प्रमुख अतिथि भट्टराईले भूटानी साहित्य र संस्कृतिको संरक्षणमा जोड दिँदै नयाँ पुस्तामा कला र साहित्यको चेतना हस्तान्तरण हुनु आवश्यक रहेको बताउनुभयाे । उहाँले देशविहीनताको पीडाका बाबजुद पनि सांस्कृतिक पहिचान जोगाइराख्नु महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयाे ।
विशेष अतिथि अधिकारीले झापाको साहित्यिक इतिहासमा भूटानी साहित्यकारहरूको योगदानबारे खोजमूलक कृति तयारीमा रहेको जानकारी दिनुभयाे ।
कार्यक्रममा GBLO का अध्यक्ष पातलो अन्तरेले संस्थाको गतिविधिबारे जानकारी दिँदै शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । साहित्यिक सत्रमा ज्ञानु बुढाथोकी, शेखर कोइराला, भूपेन्द्र तिम्सिना, रश्मि असफल, हरि पराजुली, दिल भूटानी तथा अबिलाल राईलगायत स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे ।
त्यस्तै, आशिष नेपालीसहितका कलाकारहरूले सांगीतिक प्रस्तुति दिनुभएकाे थियाे । सुरभि कला केन्द्रकी विद्यार्थी दिक्षिता मिश्रले स्वागत गीत प्रस्तुत गर्नुभएकाे थियाे भने कोषाध्यक्ष शेखर कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा विद्यार्थी तथा स्रष्टाहरूको सक्रिय सहभागिताले साहित्य र संगीतप्रतिको रुचि अभिवृद्धि हुनुका साथै सृजनात्मक वातावरण सुदृढ भएको आयोजकले जनाएको छ । कार्यक्रममा अध्यक्ष फागोको सांगीतिक प्रस्तुतिसँगै समापन गरिएको थियो ।

