हाम्रो बाल्यकालका साँझहरू एउटा रहस्यमय ‘भुराचोर’को छाँयामुनि निसास्सिएका हुन्थे । गाउँका बोजुहरू, जसका अनुहारका चाउरीहरूमा हजारौँ वर्षको लोक-कथा जीवित थियो, उनीहरूले एउटा अदृश्य सीमा कोरिदिएका थिए- “नानी, धेरै टाढा नजानु, त्यो पारि अँध्यारो खोल्सामा भुराचोर बस्छ । उसले तिमीलाई बोरामा हालेर ओडारमा लान्छ र तिम्रो काँचो मासु खान्छ ।”
त्यो बेलाको भुराचोरको एउटा ‘क्लासिक’ हुलिया थियो । मैलो कमिज, टालेको पाइन्ट, दाह्रीजुङ्गाले ढाकिएको एउटा डराउनुपर्ने अनुहार, साथमा एउटा ठूलो, अनौठो बोरा । त्यो भुराचोर हाम्रो घरको ढोकाबाट भन्दा बाहिरको ‘अज्ञात संसार’को डर थियो । आज, समयको यो क्रूर मोडमा आइपुग्दा थाहा हुँदैछ- त्यो भुराचोर मरेको छैन । उसले आफ्नो बोरालाई ‘ब्रिफकेस’मा बदलेको छ, आफ्नो मैलो लुगालाई ‘अरमानी सुट’मा फेरेको छ र ऊ अब अँध्यारो खोल्सामा होइन, चम्किला निजी टापु र पाँचतारे होटलका ‘प्रेसिडेन्सियल सुइट’हरूमा बस्छ ।
हिजोको भुराचोरले शरीर चोर्थ्यो, आजको भुराचोरले एउटा सिङ्गो पुस्ताको ‘आत्मा’ र ‘भविष्य’ नै चोर्न एउटा विशाल अन्तर्राष्ट्रिय संरचना खडा गरेको छ ।
पुँजीवादको टापु र षडयन्त्रको अँध्यारो प्रेम
आजको संसारमा पुँजीवाद एउटा आर्थिक प्रणाली मात्र होइन, यो एउटा यस्तो ‘नरभक्षी दर्शन’ हो जसले हरेक सुन्दर कुरालाई ‘बजारको वस्तु’मा परिणत नगरुञ्जेल शान्त बस्दैन । पुँजीवादको सबैभन्दा ठूलो सफलता नै यही हो कि यसले हाम्रा संवेदनाहरूलाई पनि लिलामीमा राखिदिएको छ ।
जब हामी जेफ्री एप्स्टिन जस्ता पात्रहरूको चर्चा गर्छौँ, हामी एउटा अपराधीको मात्र कुरा गरिरहेका हुँदैनौँ । हामी त्यो ‘सिस्टम’को कुरा गरिरहेका हुन्छौँ जसले यस्ता राक्षसहरूलाई जन्म दिन्छ, पाल्छ र सुरक्षा दिन्छ । एप्स्टिनको ‘लिटल सेन्ट जेम्स’ टापु काल्पनिक कथा नभएर आधुनिक पुँजीवादको एउटा यस्तो ‘भ्याकुम’ थियो जहाँ संसारका सबैभन्दा शक्तिशाली मानिसहरू- राष्ट्रपति, राजकुमार, अर्बपति र वैज्ञानिकहरू- आफ्ना मानवीय मुखौटाहरू फुकालेर नाङ्गै नाँच्थे ।
यो षडयन्त्र होइन, यो त ‘एलिट पुँजीवाद’को एउटा अघोषित कार्यविधि हो । यहाँ बालबालिकाको निर्दोषतालाई ‘करेन्सी’को रूपमा प्रयोग गरिन्छ । जब कसैसँग पैसा यति धेरै हुन्छ कि त्यसले संसारका सबै भौतिक सुखहरू किनेर भ्याउँछ, तब ती मानिसहरू एउटा यस्तो ‘शक्ति’को खोजीमा निस्कन्छन् जुन अनैतिक मात्र होइन, अमानवीय पनि छ । यस्ता ‘एलिट क्लब’मा प्रवेश पाउनका लागि कुनै सानो बच्चाको भविष्यको बलि चढाउनुपर्छ ।
आधुनिक बलिप्रथा: रगत, शक्ति र अमरताको भोक
हामी इतिहासका पानामा ‘नरबलि’का कथाहरू पढेर घृणाले थुक्छौँ । कुनै पुलको जग बलियो बनाउन वा कुनै दरबारको जगमा रगत चढाउने त्यो बर्बरतालाई हामीले ‘अतीत’ भन्यौँ । के यो साच्चै रोकिएको हो त ?
षडयन्त्रका सिद्धान्तहरूमा एउटा शब्द निकै चर्चामा छ- ‘एड्रेनोक्रोम’ । भनिन्छ, बालबालिकालाई चरम यातना दिएर पीडा र डरको अवस्थामा राख्दा उनीहरूको रगतबाट एउटा चामत्कारिक रसायन उत्पन्न हुन्छ, जसको नियमित सेवनले संसारका शक्तिशाली मानिसहरू ‘जवान’ रहन्छन् । यो वैज्ञानिक रूपमा कति प्रमाणित छ, त्यो आफ्नो ठाउँमा होला, तर यसले एउटा भयानक ‘बिम्ब’ खडा गर्छ ।
आजको ‘ग्लोबल एलिट’लाई अमर हुनुछ । उनीहरूलाई आफ्नो शक्ति सधैँ कायम राख्नुछ । यसरी, सोही अमरताको खोजीमा उनीहरूले निर्दोष बालबालिकाको रगत र मासुमा आफ्नो विलासिताको जग खोजिरहेका छन् । आधुनिक पुँजीवादी समाजले विकासको नाममा दिइरहेको सबैभन्दा क्रूर बलि हो यो । हिजो ढुङ्गाको देवतालाई खुशी पार्न बलि दिइन्थ्यो, आज ‘शक्तिको देवता’लाई खुशी पार्न बालबालिकाको यौन शोषण गर्दै शारीरिक बलि चढाइन्छ । यो एउटा अकल्पनीय क्रूर ‘नरभक्षण’ हो जहाँ मान्छेले मान्छेलाई खाइरहेको छ, अत्यन्तै सभ्य तरिकाले, चक्कु र काँटा प्रयोग गरेर ।
डिजिटल सुरुङ: अदृश्य शिकारीको स्पर्श
तपाईँको बच्चा घरको सोफामा बसेर मोबाइल फोन खेलिरहँदा सुरक्षित छ भन्ने नसोच्नुहोस् । ‘पब्जी’, ‘रोब्लोक्स्’ वा ‘फ्री फायर’ जस्ता गेमहरू आज भर्चुअल शिकारीहरूका लागि सबैभन्दा सजिलो मैदान बनेका छन् । ‘ग्रुमिङ’को माध्यमबाट उनीहरूले बच्चाको विश्वास जित्छन् । मिठाई दिएर बच्चा फकाउने पुरानो शैली अब ‘गेम कोइन’ वा ‘डिजिटल स्किन’मा बदलिएको छ । एकपटक बच्चालाई डिजिटल कुलतमा फसाउँदै जालमा पारेपछि उनीहरूलाई ब्ल्याकमेल गर्ने र अन्ततः भौतिक तस्करीको सञ्जालसम्म पुर्याउने यो एउटा अदृश्य सुरुङ हो । वाइफाइको सिग्नलसँगै आजको भुराचोर तपाईँको बेडरुमसम्म आइपुगेको छ ।
सौन्दर्य प्रतियोगिता: मासुको आधुनिक सोकेस
ग्ल्यामरको दुनियाँ वास्तवमा आधुनिक ‘दास बजार’ हो । सौन्दर्य र प्रतिभाको आवरणमा कलिला किशोरीहरूलाई ‘क्याटवाक’ गराइन्छ । पर्दा पछाडि भने उनीहरूको शरीरको मोलतोल भइरहेको हुन्छ । जेफ्री एप्स्टिन आफैँ कतिपय सुन्दरी प्रतियोगिता र मोडलिङ एजेन्सीका ‘ब्याकडोर’ मालिक थिए । यी प्रतियोगिताहरू शक्तिशाली व्यक्तिहरूका लागि ‘काँचो मासु’ छान्ने प्रदर्शनी मात्र हुन्, जहाँ एउटा ताजको बदलामा बाल निर्दोषताको हत्या गरिन्छ । जब प्रतिभालाई शरीरको नापोले मापिन्छ, तब बुझ्नुहोस्- त्यहाँ कला होइन, तस्करीको ‘कपाल’ पलाउँदैछ ।
आस्थाको आवरण: चर्च र गेरुवा वस्त्रभित्रका राक्षस
जहाँ मानिसले मोक्ष र सुरक्षा खोज्छ, त्यहीँ ‘आध्यात्मिक भुराचोरहरू’ बसेका छन् । तान्त्रिक शक्ति वा धार्मिक अनुष्ठानको भ्रम छरेर बालबालिकाको यौन शोषण गर्ने र त्यसलाई धार्मिक नाम दिने अपराधीहरू आज गेरुवा वा सेतो वस्त्रमा सजिएर हाम्रै श्रद्धाको केन्द्रमा छन् । भ्याटिकनदेखि स्थानीय गुम्बाहरूसम्म, आस्थाले उनीहरूलाई एउटा यस्तो कवच प्रदान गर्छ, जसलाई तोड्न राज्यको कानून र समाजको हिम्मत दुवै हच्किन्छन् । ईश्वरको डर देखाएर बच्चाको मुख थुन्ने यो सबैभन्दा घृणित ‘नरभक्षण’ हो ।
सेवाको व्यापार: एनजीओ र अनाथ आश्रमको कालो धन्धा
धनी देशका डलर पचाउन गरीबीलाई ‘मार्केटिङ’ गर्ने एनजीओहरू आज बालबालिका तस्करीका सुरक्षित ‘स्टक एक्सचेन्ज’ हुन् । धेरैजसो बालबालिका तस्करीका घटनाहरू समाजसेवाको नाममा खोलिएका अनाथ आश्रमहरूबाट हुने गर्छन् । संरक्षक कोही नभएका बालबालिकालाई ‘उद्धार’को मुकुण्डो लगाएर अन्तर्राष्ट्रिय बजारमा ‘एडप्सन’को नाममा लिलाम गरिन्छ । सेवाको नाममा विदेशी डलर भित्र्याउने र निर्दोष बच्चाको जीवनलाई ‘प्रोडक्ट’ बनाएर बेच्ने यी संस्थाहरू संगठित अपराधका कर्पोरेट अफिस हुन् ।
चेतनाको विद्रोह: अबको समाधान
यो ‘सिस्टम’ यति बलियो छ कि यसलाई सामान्य विरोधले भत्काउन सकिँदैन । हामीलाई एउटा ‘वैचारिक र सामाजिक विद्रोह’को खाँचो छ ।
हामीले बच्चाहरूमाथि जासुसी गर्ने होइन, उनीहरूसँग यस्तो सम्बन्ध बनाउनुपर्छ कि उनीहरूले आफ्नो सानोभन्दा सानो असहजता पनि हामीलाई निर्धक्क भन्न सकून् । “डिजिटल सेफ्टी” अब शिक्षाको अनिवार्य अंग बन्नुपर्छ ।
जबसम्म हामी हाम्रा नेता, अर्बपति र धर्मगुरुहरूलाई ‘देवता’ मान्छौँ, तबसम्म उनीहरूले पाउने ‘कानूनी उन्मुक्ति’ ले यस्ता भुराचोरहरूलाई जन्म दिइरहनेछ ।
बजारले जे पनि बेच्न सक्छ भन्ने धारणालाई चुनौती दिनुपर्छ । बालबालिकाको बाल्यकाल ‘उपभोग्य वस्तु’ होइन भन्ने कुरालाई सामाजिक तथा कानूनी रूपमा स्थापित गरिनुपर्छ ।
‘इज्जत’को नाममा अपराध लुकाउने संस्कारलाई अब चिहानमा गाडिदिनुपर्छ । अपराधीको मुकुण्डो च्यात्न समाजले अब ढिलो गर्नु हुँदैन ।
निष्कर्ष: बिउँझिएको विवेक
भुराचोर मरेको छैन, उसले आफ्नो बोरालाई ‘व्यवस्था’मा बदलिसकेको छ । हिजो ऊ एउटा अँध्यारो गल्लीको कथामा सीमित थियो । आज ऊ उज्यालो मञ्चमा बसेर हाम्रो भविष्य चपाइरहेको निर्मम शासकको अनुहारमा टाँसिएको छ । पुँजीवादले खडा गरेको यो रगत लत्पतिएको टापुमा हामी तबसम्म सुरक्षित छैनौँ, जबसम्म हामी ‘अरुको सन्तान’को पीडालाई ‘आफ्नो घरको आगनी’सम्म आइपुगेको खतरा मान्दैनौँ ।
हामीले आज बालबालिकाको आँखामा देखिने डरलाई चिन्न सकेनौँ भने भोलि इतिहासले हामीलाई तिनै भुराचोरहरूको लाटो मतियारका रूपमा चित्रण गर्नेछ । यो लडाइँ अमूक अपराधीको विरुद्धमा होइन, यो त त्यो चिन्तनका विरुद्धमा हो जसले मान्छेको जीवनलाई व्यापार ठान्छ र रगतलाई ‘करेन्सी’ देख्छ ।
जब रात पर्छ, बाहिरको अँध्यारोसँग होइन, आफ्नो हातमा रहेको त्यो चम्किलो पर्दाभित्र लुकेका आँखाहरूसँग डराउन सिक्नुहोस् । किनभने, आधुनिक भुराचोर अब कुनै पराई टापुमा मात्र छैन, ऊ तपाईँको हाते फोन र घरको सोफासम्मै आइपुगिसकेको छ । त्यसैले, अबको फैसला इतिहासले होइन, तपाईँको विवेकले गर्नेछ- कि त यो ‘नरभक्षी सभ्यता’को हिस्सा बन्ने, कि त यसको जग हल्लाइदिने एउटा साहसी आवाज बन्ने ? छनौट तपाईँको हो ।

