साहित्यपोस्ट डट कम

‘भूमिगत महिला’ पुस्तकमाथि बुटवलमा गहन परिचर्चा

‘भूमिगत महिला’ पुस्तकमाथि बुटवलमा गहन परिचर्चा

बुटवल । प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) रूपन्देहीको आयोजनामा बुटवलस्थित न्यू होराइजन मा.वि.मा ‘भूमिगत महिला’ पुस्तकमाथि गहन परिचर्चा सम्पन्न भएको छ । मोतीदेवी स्मृति केन्द्र द्वारा प्रकाशित तथा डा. बिन्दा पाण्डे को संयोजकत्वमा तयार पारिएको उक्त कृतिलाई वक्ताहरूले नेपाली राजनीतिक इतिहासको ओझेलमा परेको पाटो उजागर गर्ने “ऐना”का रूपमा व्याख्या गर्नुभएकाे छ ।

कार्यक्रममा प्रमुख वक्ता समेत रहनुभएकाे डा. बिन्दा पाण्डे ले नेपाली क्रान्तिमा महिलाहरूको भूमिका इतिहासले सधैँ किनारामा पारेको उल्लेख गर्नुभयाे । उहाँले वर्तमान स्वतन्त्रता भूमिगत महिलाहरूको त्याग, सङ्घर्ष र बलिदानको परिणाम भएको बताउँदै, २८ जना महिला योद्धाहरूको जीवनकथाले महिलाहरू “दोस्रो दर्जाका नागरिक होइनन्, इतिहास निर्माण गर्ने अग्रपंक्तिका क्रान्तिकारी हुन्” भन्ने तथ्य प्रमाणित गरेको धारणा राख्नुभयाे ।

परिचर्चामा दल बहादुर गुरुङ, ज्ञानु के.सी., सुमन पन्थी र नवराज पाण्डे लगायतले भूमिगत आन्दोलनमा महिलाहरूले भोगेका कठोर यथार्थ र योगदानमाथि प्रकाश पार्नुभयाे । वक्ताहरूका अनुसार महिलाहरूले राज्यसत्ताको दमनसँगै व्यक्तिगत जीवन र मातृत्वसँग पनि गहिरो सङ्घर्ष गर्नुपरेको थियो, जसले आन्दोलनलाई अझ जटिल र विशिष्ट बनाएको थियो ।

कार्यक्रममा डा. मुरारि पराजुली ले साहित्यिक कृतिहरूले समाज रूपान्तरणमा खेल्ने भूमिकामाथि प्रकाश पार्दै यस्ता ऐतिहासिक दस्तावेजहरूले भावी पुस्तालाई वैचारिक स्पष्टता दिने बताउनुभयाे । त्यस्तै गोमादेवी आचार्य र उमा अधिकारी ले पनि स्थानीय तहसम्म यस्ता इतिहासको चर्चा आवश्यक रहेकोमा जोड दिनुभयाे ।

समापनका क्रममा प्रलेस रूपन्देहीका अध्यक्ष कृष्ण घिमिरे ‘गाउँले’ ले ‘भूमिगत महिला’ केवल इतिहासको स्मरण मात्र नभई वर्तमान राजनीतिक विकृतिविरुद्ध वैचारिक हस्तक्षेप भएको बताउनुभयाे । उहाँले विगतका सङ्घर्षशील योद्धाहरूको योगदानलाई दस्तावेजीकरण गरी नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयाे ।

कार्यक्रममा विभिन्न साहित्यकार, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले इतिहासका त्याग र सङ्घर्षलाई स्मरण गर्दै सामाजिक न्याय र समावेशी भविष्य निर्माणमा नयाँ पुस्ताको जिम्मेवारी अझ बढेको निष्कर्ष निकाल्नुभयाे ।

ट्याग: प्रलेस
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.