जनकपुरधाम । मैथिली साहित्यका स्थापित साहित्यकार राम भरोस कापडि ‘भ्रमर’का दुई कृति बिहीबार जनकपुरधाममा सार्वजनिक गरिएका छन्। बालबालिकाका लागि लेखिएको “जंगलमे मंगल” तथा तीन–चार दशकअघि लिइएका अन्तरवार्ताहरूको संग्रह “गपसप” विमोचित कृतिहरू हुन्। यी पुस्तक ‘भ्रमर’का क्रमशः एकाउन्नौँ र बाउन्नौँ कृति हुन्।
मैथिली विकास कोषद्वारा आयोजित विमोचन समारोहको अध्यक्षता कोषका अध्यक्ष जीवनाथ चौधरीले गर्नुभएको थियो। कार्यक्रममा फरक शैलीमा पुस्तक विमोचन गरिएको थियो। बाल साहित्य “जंगलमे मंगल” को विमोचन बाल कक्षाका विद्यार्थी कीर्ति ठाकुर र प्रिंस कापरले गरेकाे थियाे भने अन्तरवार्ता संग्रह “गपसप” दरभंगाबाट आएका विद्वान डा. योगनन्द झाले सार्वजनिक गर्नुभएको थियो।
विमोचनपछि आयोजित कार्यक्रममा वक्ताहरूले कृतिहरूमाथि आफ्ना धारणा व्यक्त गर्नुभएकाे थियाे । साहित्यकार तथा समीक्षक रमेश रञ्जन झाले “गपसप” संग्रहणीय र ऐतिहासिक महत्वको कृति भएको उल्लेख गर्दै यसमा भारतका पूर्व प्रधानमन्त्री अटलविहारी वाजपेयी, मातृका प्रसाद कोइराला, माधव घिमिरे, गोविन्द झा, हिन्दी कवि ‘अज्ञेय’, नेपाली कवि केदारमान ‘ज्यथित’, नाटककार विजय मल्ललगायत चर्चित व्यक्तित्वसँग गरिएका अन्तरवार्ता समावेश रहेको जानकारी दिनुभयो।
उहाँले मिथिला कलासम्बन्धी स्वर्गीय कृष्णकुमार कश्यपसँग गरिएको अन्तरवार्ता मिथिला लोकचित्रकलाको अध्ययनका लागि महत्वपूर्ण र उपयोगी रहेको बताउनुभयो।
प्रा. परमेश्वर कापडिले “जंगलमे मंगल” मैथिली बाल साहित्यमा महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो। दरभंगाका साहित्यकार तथा समीक्षक चन्देशले ‘भ्रमर’का यी कृतिले मैथिली बाल साहित्य र अन्तरवार्ता विधालाई समृद्ध बनाउने धारणा राख्नुभयो। समीक्षक डा. योगनन्द झाले पनि कृतिहरूले मैथिली साहित्यको भण्डार विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
साहित्यकार रोशन जनकपुरीले दुवै कृति पठनीय र संग्रहणीय रहेको बताउनुभयो भने लेखक राम भरोस कापडि ‘भ्रमर’ले मैथिली साहित्यका विविध विधामा योगदान पुर्याउने उद्देश्यले कृतिहरू प्रकाशन गरिएको बताउनुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जीवनाथ चौधरीले विमोचन समारोह सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो।

