साहित्यपोस्ट डट कम

भोटो फिर्ताको आग्रह

भोटो फिर्ताको आग्रह

गुरुदेव मच्छिन्द्रनाथ !

किसान तड्पिरहेको छ

शताब्दीयौंदेखि,

उसमाथि ठूलो अन्याय भएको छ

अब अरू विलम्ब नगरिवक्स्योस्

भोटो उसैको हो

उसैलाई फिर्ता दिइबक्स्योस्

हो, ऊ निमुखो छ

प्रमाण दिनलाई

हजुरको अघि

ऊ राम्ररी उभिन पनि सक्तैन

डराएर,

फेरि ऊ बेप्रमाण छ

उसले कहाँबाट ल्याउन सकोस्

नागराजाको सन्देश ?

न क्यामेरा, न फोन ग्यालरी

कसरी देखाओस् उसले

उपहार पाएको प्रमाण

तर

भोटो निस्सन्देह उसैको हो ।

हजुरले सोध्नुहोला-

के यो मखमली कपडा

उसको बारीको कपासबाट बनेको हो ?

उसले पालेको बाख्राको ऊनबाट

सिएको हो ?

यो उसको बगैंचामा

किम्बुको रूखमा बग्रेल्ती झुन्डिएका

रेशम कीराको

धागोबाट बनेको हो ?

होइन,

उसलाई थाहा छैन

ऊ झूटो बोल्न जान्दैन

ती हिरा, मोती र रत्नहरू पनि

कसरी जडित भए

उसलाई रत्तीभर अन्दाज छैन

चर्को घाम र झरी खेपेर

ऊ कहिले धान रोप्छ

कहिले मकै र गहुँ लगाउँछ

तर उचित मूल्य पाएको छैन उसले

आफ्नो परिश्रमको,

उसले के के पो गरेन

उखु लगाएन कि ?

टनेल बनाएर गोलभेँडा फलाएन कि ?

भैँसी पालेर दूध बेचेन कि ?

ऊ असाध्यै मिहिनेती छ

तर

जहिलेदेखि खोसियो उसको भोटो

ऊ परिणत भएको छ

यो देशको सबैभन्दा अभागी नागरिकको रूपमा

राजा भएर पनि

निसाफ छिन्न नसकेका

गुणकामदेवप्रति

उसको ठूलो गुनासो छ

उसको भोटो

हजुरले वर्षभरि सन्दुकमा कोचेर

कसलाई के फाइदा छ ?

उसलाई भोटो नदिएकोमा

बरु मज्जाले हाँसेर

मनमनै गिज्याइरहेको देख्छु

भोटो चोर्ने भूतहरू

जो हिंडिरहेका देखिन्छन्

मान्छेको रूपमा निस्फिक्री

विभाग र मन्त्रालयका कोठा चोटा चहार्दै

‘यो देशमा

माटो कोतरेर के हुन्छ ?’ भन्दै

अस्ट्रेलिया, अमेरिका या अन्यत्र

विदेश पुगेका

आफ्ना भाइछोराहरूसँग

किसानले सोधेको पनि हो-

वालमार्ट, युनिक्लो, कोस्टको या अरू आउटलेटमा

नक्कली नै सही

यस्तो भोटो कतै किन्न पाइन्छ कि भनेर,

अहँ पाइएन,

सबैभन्दा पीडाको कुरा

हरेक वर्ष

ज- जसको रोहवरमा खोलियो

यो भोटो,

तिनले कहिल्यै

आफू निर्दोष किसान भएर सोचेनन्

उसको नाम भजाएर

उसैको पसिनामा पौडी खेलेको

तिनलाई हेक्का भएन

त्यसैले,

मेरो विन्ति छ

गुरुदेव मच्छिन्द्रनाथ !

हजुरले छुटाइदिनोस् यो श्राप

भोटो किसानकै हो

कुनै दिन

आजित भएर

त्यो किसानले

टौदहमा हाम फालेर

आत्महत्या गरेको खबर सुन्नु अघि नै

अलिकति सोचिबक्स्योस्

उसको भोटो

उसैलाई फिर्ता दिइबक्स्योस् !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.