गुरुदेव मच्छिन्द्रनाथ !
किसान तड्पिरहेको छ
शताब्दीयौंदेखि,
उसमाथि ठूलो अन्याय भएको छ
अब अरू विलम्ब नगरिवक्स्योस्
भोटो उसैको हो
उसैलाई फिर्ता दिइबक्स्योस्
हो, ऊ निमुखो छ
प्रमाण दिनलाई
हजुरको अघि
ऊ राम्ररी उभिन पनि सक्तैन
डराएर,
फेरि ऊ बेप्रमाण छ
उसले कहाँबाट ल्याउन सकोस्
नागराजाको सन्देश ?
न क्यामेरा, न फोन ग्यालरी
कसरी देखाओस् उसले
उपहार पाएको प्रमाण
तर
भोटो निस्सन्देह उसैको हो ।
हजुरले सोध्नुहोला-
के यो मखमली कपडा
उसको बारीको कपासबाट बनेको हो ?
उसले पालेको बाख्राको ऊनबाट
सिएको हो ?
यो उसको बगैंचामा
किम्बुको रूखमा बग्रेल्ती झुन्डिएका
रेशम कीराको
धागोबाट बनेको हो ?
होइन,
उसलाई थाहा छैन
ऊ झूटो बोल्न जान्दैन
ती हिरा, मोती र रत्नहरू पनि
कसरी जडित भए
उसलाई रत्तीभर अन्दाज छैन
चर्को घाम र झरी खेपेर
ऊ कहिले धान रोप्छ
कहिले मकै र गहुँ लगाउँछ
तर उचित मूल्य पाएको छैन उसले
आफ्नो परिश्रमको,
उसले के के पो गरेन
उखु लगाएन कि ?
टनेल बनाएर गोलभेँडा फलाएन कि ?
भैँसी पालेर दूध बेचेन कि ?
ऊ असाध्यै मिहिनेती छ
तर
जहिलेदेखि खोसियो उसको भोटो
ऊ परिणत भएको छ
यो देशको सबैभन्दा अभागी नागरिकको रूपमा
राजा भएर पनि
निसाफ छिन्न नसकेका
गुणकामदेवप्रति
उसको ठूलो गुनासो छ
उसको भोटो
हजुरले वर्षभरि सन्दुकमा कोचेर
कसलाई के फाइदा छ ?
उसलाई भोटो नदिएकोमा
बरु मज्जाले हाँसेर
मनमनै गिज्याइरहेको देख्छु
भोटो चोर्ने भूतहरू
जो हिंडिरहेका देखिन्छन्
मान्छेको रूपमा निस्फिक्री
विभाग र मन्त्रालयका कोठा चोटा चहार्दै
‘यो देशमा
माटो कोतरेर के हुन्छ ?’ भन्दै
अस्ट्रेलिया, अमेरिका या अन्यत्र
विदेश पुगेका
आफ्ना भाइछोराहरूसँग
किसानले सोधेको पनि हो-
वालमार्ट, युनिक्लो, कोस्टको या अरू आउटलेटमा
नक्कली नै सही
यस्तो भोटो कतै किन्न पाइन्छ कि भनेर,
अहँ पाइएन,
सबैभन्दा पीडाको कुरा
हरेक वर्ष
ज- जसको रोहवरमा खोलियो
यो भोटो,
तिनले कहिल्यै
आफू निर्दोष किसान भएर सोचेनन्
उसको नाम भजाएर
उसैको पसिनामा पौडी खेलेको
तिनलाई हेक्का भएन
त्यसैले,
मेरो विन्ति छ
गुरुदेव मच्छिन्द्रनाथ !
हजुरले छुटाइदिनोस् यो श्राप
भोटो किसानकै हो
कुनै दिन
आजित भएर
त्यो किसानले
टौदहमा हाम फालेर
आत्महत्या गरेको खबर सुन्नु अघि नै
अलिकति सोचिबक्स्योस्
उसको भोटो
उसैलाई फिर्ता दिइबक्स्योस् !

