काठमाडौंमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रका अग्रणी व्यक्तित्व भोलाकुमार श्रेष्ठको कृति ‘नेपालमा पुस्तकालय’ लोकार्पण गरिएको छ । वी रिडको प्रकाशनमा प्रकाशित उक्त पुस्तक केसर महलस्थित केसर पुस्तकालयमा आयोजित कार्यक्रममा विभिन्न विद्वत् व्यक्तित्वहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
लेखक श्रेष्ठसहित डा. तुलसीप्रसाद भट्टराई, प्रा. डा. ध्रुव घिमिरे, डा. लीला न्याइच्याई, कलाकार केके कर्माचार्य तथा वी रिडका कार्यकारी अधिकृत सुनिती अमात्यलगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएको थियो । यो श्रेष्ठको दोस्रो कृति हो, यसअघि उहाँको ‘पुस्तकालयसँगको जीवनयात्रा’ प्रकाशित भइसकेको छ ।
आठ अध्यायमा विभाजित यस पुस्तकले नेपालमा पुस्तकालयको इतिहास, विकासक्रम तथा विभिन्न कालखण्डमा योगदान पुर्याउने संस्था र व्यक्तित्वहरूको समग्र विवरण प्रस्तुत गरेको छ । पुस्तकमा प्राचीन शैक्षिक केन्द्रहरू तक्षशिला, नालन्दा र गुरुकुलदेखि आधुनिक पुस्तकालयसम्मको यात्रा समेटिएको छ ।
पाठकले पुस्तकमार्फत त्रिचन्द्र पुस्तकालय सिरहा, धवल पुस्तकालय पाल्पा, श्रीराम पुस्तकालय तौलिहवा लगायतका सामुदायिक पुस्तकालयहरूको जानकारी प्राप्त गर्न सक्नेछन् भने त्रिभुवन केन्द्रीय पुस्तकालयको इतिहास पनि समेटिएको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरूले पुस्तकलाई पुस्तकालय विज्ञानका विद्यार्थीहरूका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा व्याख्या गर्नुभएकाे छ । उनीहरूले नेपाली पुस्तकालय इतिहासलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन अंग्रेजी संस्करण प्रकाशनको आवश्यकता पनि औंल्याउनुभयाे ।
लेखक श्रेष्ठले दीर्घ अध्ययन, अनुसन्धान तथा विभिन्न व्यक्तित्वहरूको सहयोगमा पुस्तक तयार भएको उल्लेख गर्दै नेपालमा पुस्तकालय व्यवस्थापन र विकासप्रति राज्यको ध्यान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
वी रिड र कथालयले पुस्तक प्रकाशनसँगै देशभर विद्यालयहरूमा पुस्तकालय निर्माण, व्यवस्थापन तथा पठन संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएका छन्। उक्त कृति बजारमा उपलब्ध भइसकेको जानकारी पनि दिइएको छ ।
पुस्तकालयको इतिहास र विकास बुझ्न चाहने पाठकका लागि यो कृति महत्वपूर्ण दस्तावेजका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

