साहित्यपोस्ट डट कम

कथा: भोज र भ्रम

कथा: भोज र भ्रम

उनीहरूले भव्य भोजको आयोजना गरे । तर प्रश्न उठ्यो– क–कसलाई मात्र भोजमा आमन्त्रण गर्ने ? कसैले भने, "हामी मांसाहारी हौँ । मांसाहारीहरूलाई मात्र भोजमा आमन्त्रण गरिनुपर्छ ।" अरूले भने, "शाकाहारीलाई पनि आमन्त्रण गरिनुपर्छ । उनीहरू पनि हाम्रै दाजु–भाइ र बन्धु–बान्धब हुन् । हामीले आफ्नै दाजु–भाइ र बन्धु–बान्धबलाई छुटाएर यो भोज गर्दा हामीलाई गाल पर्छ । अरूको दृष्टिमा हामी तल पर्छौँ ।"

"हो ! हो ! मलाई त लाग्छ विदेशी पाहुनाहरूलाई पनि बोलाएर यो भोज गर्दा झन् जम्ला । भोजको कारणबाट विदेशीहरूले पनि हाम्रो सौहार्द्रता र आत्मीयताको परिचय पाउलान्," कसैले थपे, "अन्तर्राष्ट्रिय जगतमा शुद्ध हाम्रो परिचय र संस्कृतिको ज्ञान बढ्नेछ । हाम्रो फैलिएको बदनामीलाई यस भोजको माध्यमद्वारा हामीले सच्याउने मौका पाउनेछौँ । यस भोजलाई यस्तै अवसरको रूपमा हामीले प्रयोग गर्न सक्नुपर्छ आफ्नो रणनीतिकै लागि भए पनि । हामीले धमिलो पानीमा माछा मार्न जान्नेहरूलाई परास्त गर्न सक्ने वातावरणको सिर्जना गर्न सक्नु नै यस बखतको हाम्रो बुद्धीमानी हो ।"

"हुन्न, हुन्न । विदेशीहरूलाई त यो भोजमा बोलाउनै हुन्न । आफ्नो जातीय समुदायको भोजमा किन बोलाउने हँ हामीले उनीहरूलाई ? के भोज भन्दैमा जसले जसलाई पनि बोलाउने हो र ?" कसैले तर्क निकाले, "फेरि अर्कोतिर, के आफ्नै बेइज्जत गर्नु छ र उनीहरूलाई बोलाएर ? एक त हामी उनीहरूको सम्मान पुर्याउनै सक्दैनौँ र ल भैगो, यदि केही गरी सम्मान पुगिहालेछ भने पनि हामी–हामीमै झगडा र मारकाट नहोला भन्ने के ठेगान ? भोज न हो ! के खाइएला, के नखाइला । खाँदाखाँदै उनीहरूको पनि अनेक माग बढ्ला । यसलाई ‘यो न खा’ भन्न पनि भएन र उसलाई ‘त्यो न खा’ भन्न पनि मिलेन । अर्कोतिर, उनीहरूले भने–भनेको कुरा हामीले पुर्याउन सक्ने पनि होइन ।"

"के त्यसो भनेर मात्र विदेशी पाहुनालाई यस भोजमा आमन्त्रण नगरिनु राम्रो होला र ? यस भोजलाई त हामीले प्रीतिभोजको रूपमा मात्र लिएका न हौँ.... !" फेरि अर्कोले अर्कै तर्क निकाल्यो, "हामीले यसलाई प्रीतिभोजको रूप दिन्छौँ र हामी–हामीबीच बिग्रिएको सम्बन्धलाई सुधार गरेर आपसी सद्भाव र शान्ति कायम गर्न खोज्छौँ भने विदेशीलाई आमन्त्रण गरेर के बिग्रने हो र ? हामी अझै पनि फुटिसकेका रहेनछौँ भनेर अन्तर्राष्ट्रिय जगतमा पनि राम्रै सन्देश दिन्छ र होइन र यस भोजको माध्यमले... ? हाम्रो सम्बन्ध सुधार्ने सम्बन्धमा उनीहरूले पनि केही कुराको सल्लाह दिएमा अझ त्यो पनि राम्रो.... !"

"अँ... चाहिँदैन कसैको राम्रो–साम्रो," हातको इशाराले सबैलाई चूप लगाएर हाइकमान्ड बोल्यो, "हामी आफ्नो समस्या आफैँ सुल्झाउन सक्छौँ । हामी आफैँ समर्थवान् छौँ यसमा ।"

कुरो टुङ्गियो– विदेशीलाई नबोलाउने । तर पुनः कुरा कहाँ गएर अड्कियो भने मांसाहारी, शाकाहारी दुवै थरीलाई भोजको परिकार भने एकै प्रकार राख्ने । एउटाले शङ्का निकाल्यो, "त्यसरी एकै परिकार एकै ठाउँमा राख्दा शाकाहारीले खान मान्लान् र ? भोजको निमन्त्रणा पनि गर्ने र फेरि ‘खाए खावोस्, नखाए घिचोस्’ जस्तो गरी उनीहरूले खानै नमान्ने परिकार खाऊन् भनेर उनीहरूको भागमा पस्कन त मिलेन नि !"

"यो यस्तै हुन्छ भोजमा । यो भोज हो भाइ, भोज," अर्कोले कुरा थप्यो, "भोजमा क–कसले के–के खान्छन् व्यक्तिगत इच्छाको भरमा परिकार त राख्न सकिन्न नि ! हाम्रो बोलाउने काम हो, उनीहरूको आउने काम हो । आउँछन्, जान्छन् । खान्छन्, खाँदैनन् वास्ता राखेर हिँड्न सकिने विषय होइन यो ।"

"ठाउँ त राम्रै चाहिएला," एउटाले भन्यो । अर्कोले थप्यो, "यत्रो भोज गर्नु छ झन्डै अन्तर्राष्ट्रियस्तरको । ठाउँको विशेषता पनि बुझ्नुपर्यो नि हामीले ।"

"हो निश्चय हो !" उपस्थित सबैले समर्थन गरे । त्यसैले ठाउँको निर्णय भयो"लर्ड बुद्धज प्लेस’ जहाँबाट वरिपरिका सुन्दर हिमाल तथा पहाडहरूको दृश्य झल्किन्थ्यो । पानीका छहराहरूको छङ... छङ... र नदीहरूको कलकल सुनिन्थ्यो । जङ्गलको शीतलताको अनुभव हुन्थ्यो । हेर्दैमा कति मनमोहक थियो त्यो स्थान ! विदेशी पाहुनाहरू आएका बखतमा शुद्ध संसारको राम्रो ठाउँ भनेर प्रसिध्दि कमाएको ठाउँ थियो त्यो ।

छलफलअनुसारकै ठाउँ र समय मिलाएर निमन्त्रणा कार्ड छापियो, बाँडियो । आयोजनास्थलमा भव्य पाल हालियो । भित्र र बाहिर सिँगारपटार गरियो । ध्वजापताका सजाइए । बत्ती झकिझकाउ बालियो । मानिसअनुसार बस्ने ठाउँ र स्वागतार्थ खटिनेहरूको सूची तयार पारियो । उपयुक्त दिन र समयमा कुन पहाड, कुन जङ्गल, कुन मैदान, कुन शहर जताततैबाट पाहुनाहरूको हूल ओइरिन थाल्यो । सबका अनुहारमा खुशीका रेखाहरू कोरिए । सबको सबमा भेटघाट हुने अवसर थियो त्यो । धेरै कालदेखि छुटेका आफ्ना बाबु–छोरा, आमा–छोरा, लोग्ने–स्वास्नी, दाजु– भाइ र इष्ट–मित्र तथा बन्धु–बान्धवहरूको पुनर्मिलनको संयोग पनि भयो । कसैले गला मिलाए । कसैले गालामा गाला जोडे । कसैले हात मिलाए । कसैले छाती जुधाए । कसैले अँगालो मारे त अझ कसैले कसैलाई बोकेर काधँ–काँधमै हालेर घुमाए पनि । एकले अर्कोलाई शहरभरि अबीर हालेर राताम्मे पारिदिए मानौँ त्यो घडी नै मांसाहारीहरूका लागि एउटा विजयको घडी थियो । सबैतिर स्वागतको ताली बज्यो । हाहाहूहूको रमाइलोको वातावरणको श्रृष्टि भयो ।

"वा ! क्या रमाइलो हुने भयो अब !" मानिसहरूले अन्दाज काटे, "धेरैमा यस्तो खुशीको खबर आयो हाम्रो बीचमा ।"

"अब सधैँभरिका लागि यस्तै खुशीका दिन आए त हुने हो... !" मानिसहरूमा आशा पल्हायो । अझ कसैले त आँखाबाट आँशुका भेल बगाउँदै यो पनि पुकारा गरे कि "हे भगवान् ! अब हाम्रा छोरा–छोरीको कुबुद्धीको अन्त्य होओस् र सदाचार र सद्ज्ञान पलाओस् यिनीहरूमा ! आजसम्मका आफ्ना सबै नराम्रा कार्यहरूलाई छोडेर शान्तिसँग आफू–आफू मिलेर बसून् सधैँ–सँधैँभरि... ।"

अब त्यहाँ शुरु भयो खानपिन र हँसी–मजाकको वातावरण । यसै बखत कसैले भनेको सुनियो, "खोइ शाकाहारी समूह त अहिलेसम्म आएनन् नि कोही पनि ? किन नआएका होलान् ती ?"

"आउँदै होलान् नि सबै एकै चोटि मिलेर," कसैले व्यङ्ग मारे, "हामी त मांसाहारी न पर्यौँ ! सके डराए कि हामी उनीहरूलाई पनि खाइदिन्छौँ कि भनेर...।" एउटा ठूलो हाँसोको लहर चल्यो त्यहाँ । कसैले सुनाए, "उनीहरू पशु त होइनन् नि हामी उनीहरूलाई नै मारेर र काटेर खाइहाल्ने !"

यसैबीच समूहको बीचबाट कुनै एकले औँल्याउँदै करायो, "उः आए ! आए ! एउटा ठूलै हूल आएजस्तो छ– मानव हूल, नागरिक हूल, शान्ति हूल, विकास हूल, धर्म र सम्प्रदाय हूल आदि के–के नाम गरेका हूल हुन् के–के ।"

"ए हेर ! हेर !" फेरि अर्कोले आश्चर्य प्रकट गर्यो, "उनीहरूको साथमा त एक हूल पशुहरू पनि ल्याएका जस्ता छन् नि !"

"हो ! हो ! पशुहरू नै हुन् भाइ !" अरूहरूले पनि यकिन जनाए । आखिर शाकाहारीका ती सबै खाले हूलहरूसँगै पशुहरूको हूल पनि आइपुग्यो । जब ती आइपुगे मांसाहारी र शाकाहारीहरूको हूल आ–आफ्नो हिसाबले भेटघाट र आपसी भलाकुसारीमा समय बिताउन लागे । साथमा आएका पशुहरूचाहिँ पुच्छर हल्लाउँदै कान ठाडा पार्दै ‘ब्याँब्या’ र ‘म्याँम्याँ’ गर्दै यताउति लरखरिए । विभिन्न खाले पशुहरू थिए ती– खसी, बोका, च्याङ्ग्रा, भेडा, बरुवाल, राँगो, भैँसी सब किसिमका... । भोजका आयोजकहरूले सोधे, "होइन के गरेको यो ? के गाईजात्रा देखाएको यहाँ ? । यी पशुहरू किन यहाँ ? अब हाम्रो भोजको रस–रङ्ग नै बिग्रिने भयो यिनीहरूले गर्दा ।"

"होइन, यी पशुहरूमाथि ज्यादै अन्याय भयो । यिनीहरूले ठूलो कष्ट र पीडा भोग्नुपर्यो हाम्रै कारणले । भन्छन्– उनीहरूको पनि जनताजस्तै भएर, नागरिकजस्तै भएर र मानिसजस्तै भएर बाँच्ने अधिकार छ । उनीहरूले पनि आ–आफ्नो मिहेनत र भाग्यअनुसारको गरी खाएर सुखपूर्वक बस्न पाउनुपर्छ । भन्छन्– यिनीहरूले के बिराए र यिनीहरूमाथि यो अन्याय र अत्याचार हुँदै छ ? यसैले अघिपछि यिनीहरूले तपाईंहरूलाई भेटेर आफ्ना मनका बह पोख्न नपाउने भएकाले हाम्रो मदत मागेर आज यस भोजमा उपस्थित भएका हुन् । यिनीहरू न यहाँ खान आएका हुन्, न त त्यति ठूलो कुरा माग्न नै ? यी त आ–आफ्ना साधारण जीवन बिताउन चाहन्छन् । आ–आफ्ना अधिकार चाहन्छन् । खास त भनुँ भने यिनीहरू शान्ति चाहन्छन् आफ्नै देशका अरू जनता, नागरिक वा मानिसहरूसरह भएर बाँच्न चाहन्छन् । यिनीहरू पनि आ–आफ्नै भाषाले बोल्न, बुझ्न र सम्झिन चाहन्छन् । सचेत छन् यिनीहरू हरेका कुरामा र आफ्ना मनका चाहना, इच्छा र आकाङ्क्षाहरूलाई व्यक्त गर्न पनि सक्छन् । पूरा नभए त्यसको विरोध गर्न पनि जान्दछन्... ।"

हूलको बीचबाट कसैले अट्टहास गरी हाँस्यो । सबैले ऊतिर हेरे । एउटाले इशारा गर्यो, "किन हाँस्यौ यसरी ?" भन्यो त्यही हाँस्नेले शाकाहारीतिर देखाएर, "उनीहरूका कुरा सुनेर... ।"

"के कुरा सुनेर हाँस्नु भो तपाईं यस्तरी ?" शाकाहारीमध्ये फेरि कसैले प्रश्न राख्यो । जवाफ दियो उसले, "पशुहरूले पनि विरोध गर्ने कुरा सुनेर... जब कि हाम्रो यस राजमा हाम्रो आदेशबिना मानिसले त केही बोल्न र गर्न नै आँट गर्न सक्दैन भने पशुहरूले विरोध गर्ने रे..., हा....हा....हा....हा...।"

यसरी उसले अट्टहास गरेको देखेर उसका समूहका अरू–अरूले पनि त्यसै गरी अट्टहास भरे मानौँ सिनमाका ‘भिलेन’ समूहको हाँसोजस्तै गरी धेरैबेरसम्म गुञ्जिरह्यो त्यस दुष्ट हाँसोको लहर त्यस भोजको पालभित्र ।

यस प्रकारको उनीहरूको दुष्ट हाँसोलाई खप्न नसकेर शाकाहारीमध्ये एउटाले बोल्यो, "नहाँस्नोस्, बुझ्नुभो यसरी ? आज पशु–पंक्षीको रक्षाको लागि त विश्वमा अभियान नै चलिसकेको छ भने यिनीहरू त यस देशका बासिन्दा हुन्– पशु– बासिन्दा । यिनीहरूको बोलीचाली र बानी–व्यवहार सबै पशुहरूको जस्तै भए पनि अनुहार त हामी मानिसको जस्तै छ नि, हेर्नुहोस् त ! फेरि हामी सबैको एउटै मालिक पशुपतिनाथ पनि त छन् नि यस पशुपतिलोकमा सबैको रक्षा गर्न बसेका । यहाँ जति तपाईं–हामी मान्छे भन्ने जातिलाई बाँच्ने अधिकार छ यिनीहरूलाई पनि त्यत्ति नै अधिकार छ । तपाईं हामीले जे–जति सुख–सुविधा भोग गरिरहेका छौँ, उनीहरूलाई पनि हामीले त्यो सुख–सुविधा प्रदान गर्न सक्नुपर्छ । यिनीहरूको भर हामीलाई, हाम्रो भर यिनीहरूलाई...," उसले इतिहास बतायो, "पहिले–पहिले यिनीहरू पनि तपाईं–हामीजस्तै मानिस थिए । यिनका पूर्खा पनि यसै देशमा जन्मेका जन्मजात नागरिक थिए । हाम्रो जस्तै अधिकारको भोग गर्थे यही पुण्ड्य भूमिमा । रहँदा–बस्दा समयले कोल्टे फेर्यो । समय परिवर्तन हुँदै गयो र प्रकृति पनि बदलियो । वानरबाट हामी मानिसमा परिणित भएजस्तै उल्टो यिनीहरूका पिता–पुर्खा मानिसै भए तापनि यिनीहरूचाहिँ मानिसबाट पशु बने । तपाईं–हामीले नै यिनीहरूलाई पशु बनायौँ । यिनीहरूको मानिस भएर बाँच्ने हक र अधिकार छिनिदियौँ र पशुको रूपमा व्यवहार गर्न थाल्यौँ । अझ तपाईंहरूले त तपाईंहरूसँग भएको हतियारको भरले, शक्तिका उन्मादले र जङ्गली कानूनका बलले यिनीहरूलाई पशुलाई नै जस्तो गरी बलि चढाएर यिनीहरूको नृशंश हत्या गरिदिनुभयो । तपाईंहरूको शक्तिको अगाडि यिनीहरूको केही लागेन । यिनीहरूको पक्षमा बोलिदिने कोही भएनन् । बोल्नेहरूको पनि जिब्रो चुँडिदिनुभयो । सुन्नेहरूको कान खोसिदिनुभयो । अनि बाँकी यिनीहरूको बोली र व्यवहार पनि अलि–अलि गर्दै पशुत्वमा बदलियो । यिनीहरूको मानिस मानिस जस्तो बनेर, नागरिक नागरिक जस्तो भएर र जनता जनता जस्तो ठानेर बाँच्ने अस्तित्व नै खतम गरिदिनुभयो, धूलोमा मिलाइदिनुभयो, माटोमा मिसाइदिनुभयो । त्यसैले सम्झ्यौँ हामीले पनि कि आफ्नै दाजु–भाइको घरको भोज हो यो भने यिनीहरूलाई लैजाँदैमा र यिनीहरूका बारे र यिनीहरूका दुःख, दर्द र पीडाका कुरा सुनाउँदैमा के बिग्रेला र ? त्यसैले ल्यायौँ यहाँ हाम्रो भोजमा र सबै दाजु–भाइ भएको समय पारेर कुरा मिलेछ भने पनि मिलिहालेछ र यदि मिलेनछ भने नै पनि पछि हामीले खाइसकेपछि जे–जति बाँकी रहन्छ, यिनीहरूलाई खान दिउँला, भैहाल्छ नि भनेर मात्र यिनीहरूलाई यहाँ लेराएका हौँ... ।"

"यिनीहरूले यहाँ केही बिगार गरिदिए भने को जिम्मा हुने नि ?" मान्छेकै विश्वास नहुने ठाउँमा पशुहरूको के विश्वास ?" कसैले शङ्का प्रकट गरे । भने, "भै गो ल्याइहाल्नुभयो । थुनिदिउँ अहिले यता कतै कसैका गोठमा र भोज सिध्दिएपछि फालेको बाँकीबक्यौता खुवाएर तपाईंहरूकै साथमा पठाइदिउँला ।"

"ठीक छ ल !" शाकाहारीहरूले मञ्जुरी जनाए, "अहिलेलाई यिनहिरूलाई खोरमा थुनि नै दिउँ । तर यिनीहरूका बारे छिनोफनोचाहिँ आजैको भोजमा हुनुपर्छ ।"

"हुन्छ, हुन्छ भोज त सिद्ध्याउँ पहिले । अनि यिनीहरूको बारे पनि छिनोफानो हुँदै गर्ला," मांसाहारीपट्टिको हाइकमान्डले कुरा टुङ्ग्यायो ।

भोज चल्दै गयो, खानेकुरा सिद्धिँदै गयो । तर पाहुना भने कम हुन छोडेनन् । टाढा–टाढाबाट पनि मांसाहारीहरूको समूहको लर्कन लाग्यो । आयोजकहरूलाई फसाद पर्यो अब के गरेर भोजको इज्जत थाम्ने ? एउटाले प्रस्ताव राख्यो, "अब थालौँ खोरमा थुनेका यिनै पशुलाई बजाउन र कम्तिमा मासुको त भाग पुर्यायौँ !"

"हो ! हो ! अरूले मञ्जुरी जनाए । तर शाकाहारीहरूले भने त्यसको विरोध गरे । भने, "हुँदैन, शरणमा आएकालाई मरण गर्नु हुँदैन । मानव धर्मले यो कुरा गर्न दिँदैन र अन्तर्राष्ट्रिय कानून तथा मानव अधिकारको व्याख्याले पनि यो कुरा छुट छैन ।"

"कहाँ छ तिम्रो मानवधर्म ? कहाँबाट आयो यो मानव अधिकारको कुरा ? कुन कानूनको नाम हो तिम्रो अन्तर्राष्ट्रिय कानून ?" मांसाहारीका तर्फबाट एउटा कड्कियो, "हाम्रो धर्म त यही हो जसरी होस् आफ्नो पेट भर्नु चाहे कसैलाई मारेर होस् कि अरू कुनै उपायले होस् ! तिमीलाई थाहा छैन Survival of the Fittest को सिद्धान्त ? अनि यो सिद्धान्त लागू गर्नु पर्दा साम, दाम, दण्ड, भेद जुन नीतिको अनुशरण गर्नुपर्छ, हामी त्यसैको अनुशरण गर्छौं ।"

"तर यी त हाम्रो भरमा यहाँ आएका हुन् । हामीलाई सारै नराम्रो पर्छ यिनीहरूलाई मारी खाँदा मानौँ यिनीहरूले नै सम्झिने छन् कि हामीले नै यिनीहरूलाई यहाँ लेराएर फसाइदियौँ । हामी यस प्रकारको विश्वासघातको जघन्य अपराधमा फस्न चाहँदैनौँ," शाकाहारीद्वारा झिनो आवाज निकालियो तर त्यसै बखत त्यहाँ विभिन्न प्रकारका विदेशी पेय पदार्थहरू सबैका हात–हातमा आइपुगे । शाकाहारी भन्नेहरू एउटाले अर्काको अनुहार ताक्दै निकैबेर अन्कनाए । मांसाहारीहरूले भने, "यो त शाकाहारीहरूमा पनि चल्छ नि, होइन र ! सबै फलफूलकै रसबाट बनेको हो नि त यो ! विदेशी फलफूल... ! यसमा माछा–मासुको गन्ध नै कतै केही हुँदैन । शुद्ध शाकाहारी सर्वत मानिन्छ यसलाई । लिऊँ, लिऊ, हुन्छ ।"

मांसाहारीका तर्फबाट यो कुरा सुनिसकेपछि शाकाहारीमध्येको मानव हूल प्रमुखले एक पटक घुटुक्क थुक निल्यो र खिस्स हाँसेर सुनायो, "त्यो त हो ! शाकाहारीहरूले पनि यो त लिन्छन् नै ! यो त हामीलाई पनि थाहा छ कि सबै असली फलफूबाटै बनेका हुन्.... ।"

"लौ त बेर केको लागि त अब, ‘चियर्स’ गरौँ ?" शाकाहारीमध्यैकै अर्को लोभी नागरिक प्रमुख बोल्यो ।

हो..., हो..., ल चियर्स... !" शान्ति प्रमुखले पनि साथ दियो । त्यसपछि त के चाहियो ? कुन मांसाहारी, कुन शाकाहारी ? एउटाले अर्कोको हातमा गिलास थमाइदिँदै एकआपसमको गिलास बजाराबजार गर्न थालिहाले र अब त्यहाँ एकै पटक निकै ठूलो र एकसाथको आवाज आयो, ‘चियर्स...।’

उसै त भोजमा अपुगको अवस्था त्यसमाथि विदेशी रक्सीको प्रभाव ! धमाधम ती पशुहरूलाई थुनेको ठाउँबाट घिसार्दै निकालियो र एक–एक गरेर बीभत्स रूपले र बिभिन्न तरीकाले उनीहरूको हत्या गर्न थालियो । कसैको घाँटी रेटियो । कसैको गर्धन छिनालियो । कसैका खुट्टा भाँचिए । पुच्छर निमोठिए, गुदद्वार च्यातिए, छाला काढिए । कसैको आँखा फुटालिए । कसैको कान लुछिए । कसैलाई गोली नै ठोकियो भने कसैलाई भुत्ते बन्चरोले छिया–छिया पार्दा पनि मर्नै नसकेर त्यसै आगोमा फालिए । यस्तो लाग्थ्यो– हामीले गरुडपुराणमा सुनेको यमराजका दूतहरूले पापीलाई दिएको सजायभन्दा कम दुःख भोग्नुपरेन ती मानिसरूपी पशुहरूले । ‘ब्याँब्याँ’ र ‘बुँबुँ, ’ ‘म्याँम्या’ र ‘मुमु’ को घनघोर चित्कार सुनियो उनीहरूको । माँसाहारी भन्दै थिए–"ए ! तैले हाम्रो बारीको अन्न खाइदिएको होइनस् ? लौ खा फेरि खान्छस् कि.... ? ए ! तैँले हाम्रो छोरा–छोरीलाई हानिदिएको होइनस् ? लौ फेरि हान्छस् कि.... ? ए ! तैँले हाम्रो घरअगाडिको बारीमा आएर हगिदिएको होइनस् ? लौ फेरि हग्छस् कि... ? ए ! तैँलै मेरो घरतिर हेरेर कराएको होइनस् ? लौ अब मुख आँ... बाउन सक्छस् कि... ? आदि इत्यादि क–कसले क–कसलाई के–के दोष दिनुपर्ने हो दिँदै थिए उनीहरू ती बिचरा पशुहरूलाई । हुँदा–हुँदा त यतिसम्मको दृश्य त्यहाँ देखिन थाल्यो कि मांसाहारी–मांसाहारीबीच नै लुछाचुँडी हुन थाल्यो यो हाम्रो शिकार र यो तिमीहरूको शिकार भनेर । कान पोलेर खानेले कान समाते । जिब्रो मीठो लाग्नेले जिब्रो चुँडाले । गिदी खानेले गिदी निकाले । फोक्सो खानेले फोक्सो च्यातेर लिए । मुटु चुडाँल्नेले मुटु चुँडाले । सूप मीठो लाग्नेले खुट्टाको नलीखुट्टा च्यापे । कसैले छातीका त कसैले फिलाका साँप्रा हात पारे । मांसाहारीपट्टिका दुईटै समूह मात्तिएका थिए प्रशस्त मादक पदार्थको सेवनले । एकपछि अर्को बोतल रित्तिदै थियो । भर्खरका कलिला र स्कूले केटाकेटीहरूले सेवा पुर्याइरहेका थिए उनीहरूलाई । बेला–बेलामा अश्लील शब्द र व्यवहार पनि देखाउँथे उनीहरू ती केटीहरूमाथि सबैका सामुन्ने र छिप्पिएको बोका कराएको झैँ कराउँथे वा असनको साँढे डुक्रिएझैँ डुक्रिन्थे पनि । आँखै देखेका थिएनन् उनीहरूले । जसलाई जति खाए पनि नपुग्ने र काँचै र जस्तो पनि खान तम्सिएका थिए उनीहरू ती पशुहरूलाई कुनै पनि रूपमा । केवल पाए पुग्यो मासुको चोक्टा । अब त त्यहाँ हुन पो के थाल्यो भने मांसाहारी–मांसाहारीबीचमै पहिलेदेखिको चलेको लुछाचुँडीमा यस बखत आएर एउटा समूहले अर्को समूहलाई सिद्ध्याउन पो सुर कस्यो आ–आफ्नो पहिलेदेखिको भित्री रिस–इबी साध्न । एउटाले डाँडाबाट हानेको जस्तो गर्थ्यो भने अर्कोले मैदानबाट । एउटाले जङ्गलबाट हानेको भान पार्थ्यो भने अर्कोले शहरबाट । ती शाकाहारी हूल जे–जति थिए त्यहाँ शुरुमा त दुवै पक्षलाई सम्झाउने–बुझाउने प्रयत्न गर्दै थिए । भन्थे– छोडिदेऊ दुवै थरीले यी पशुहरूलाई ताकि यिनीहरू पनि अब आ–आफ्नो जीउ जिउन सकून् । जति गए, गइहाले, भैगो । अब भो आफू–आफूमै यो युद्ध नगर यिनीहरूकै लागि ।" तापनि उनीहरू अब धेरै बोल्ने र विरोध गर्ने पक्षमा थिएनन् । विदेशी मादक पदार्थले लठ्ठिसकेका थिए उनीहरू पनि र स्वयं नै पनि त्यहाँ अडिन सक्ने अवस्था थिएन उनीहरूको पनि । अर्कोतिर, हतियारधारीहरूका अगाडि उनीहरू निःशस्त्र पनि थिए । ठाने– यस संसारमा जीत त्यसैको हुन्छ जसको हातमा हतियार हुन्छ । हतियारले न्याय, अन्याय, र आदर्श र बेइमानीको मुख हेर्दैन । अब त ‘विचार’ र ‘आदर्श’ भन्ने शब्द यस संसारमा कमजोर व्यक्तिको लागि मात्र हो.... ।

यी सबै क्रियाकलाप त्यस भोजमा हुँदै थियो कि अकस्मात् पृष्ठभूमिबाट उनीहरूको आ–आफ्नै समूहले मात्र सुन्ने गररे आवाज आयो । त्यस आवजले भन्यो– "भो, अब अहिलेलाई सबैले यो नाटक बन्द गर । केवल काम मात्र तिमीहरूको यो हो कि ‘साँच्चिकै यो नाटक थिएन’ भनेर सबैलाई भ्रम पार्न र देखाउन सक... । अहिलेलाई यसैमा तिमीहरूको सफलता छ... ।"

० ० ० ०

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.