काठमाडौं । साहित्यकार भेषराज रिजालको सातौँ साहित्यिक कृति तथा चौथो नियात्रासङ्ग्रह ‘भेरीका छालहरू’ हालै प्रकाशित भएको छ। कृति राप्ती क्षेत्रको पुरानो साहित्यिक संस्था राप्ती साहित्य परिषद् दाङले प्रकाशन गरेको हो।
२ सय १२ पृष्ठको यस कृतिमा २३ वटा नियात्रा समावेश छन्। सङ्ग्रहमा समेटिएका आधाजसो नियात्रा कर्णाली प्रदेशका विभिन्न स्थानसँग सम्बन्धित छन् भने बाँकी नियात्राले पूर्वका ताप्लेजुङदेखि पश्चिमका हुम्लासम्मका हिमाल, पहाड र तराई क्षेत्रका भूगोल, प्रकृति, संस्कृति तथा नेपाली सभ्यताका विविध आयामलाई समेटेका छन्।
नेपालका सबै जिल्लाको भ्रमण गरिसकेका रिजाल हाल निजामती सेवामा कार्यरत छन्। यसअघि २०७७ सालमा ‘बिसौनी वल्तिर’ नियात्रासङ्ग्रह प्रकाशित भएको थियो। करिब पाँच वर्षको अन्तरालपछि प्रकाशित ‘भेरीका छालहरू’ मा लेखकले आफू पुगेका स्थानका समाज, संस्कृति, इतिहास र भूगोलसँगै आफ्ना अनुभूतिलाई प्रभावकारी ढंगले प्रस्तुत गर्नुभएकाे छ ।

