स्याङ्जा । भेषजराज साहित्य प्रतिष्ठानले प्रजातन्त्र दिवस २०८२ का अवसरमा आफ्नो मासिक नियमित रचनावाचन कार्यक्रमको ९४औँ शृङ्खला सम्पन्न गरेको छ। वालिङ–६ मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्टमा आयोजित कार्यक्रममा साहित्यकार तथा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्टराई मञ्जरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि मञ्जरीले झ्याउरे छन्दको विशेषता र यसको साहित्यिक महत्त्वबारे प्रकाश पार्नुभएकाे थियाे । विशिष्ट अतिथि डा. तुलसी खनाल ‘प्रवास’ले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै लोकछन्दको महत्त्व र प्रयोगबारे जानकारी गराउनुभएकाे थियाे ।
वक्ताका रूपमा प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल तथा वालिङ नगरपालिकाका योजना शाखा प्रमुख ढालबहादुर केसीले कार्यक्रमको महत्त्वबारे चर्चा गर्दै सफलताको कामना व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा शम्भु अर्याल, सावित्रा अर्याल रेग्मी, भवीश्वर पंगेनी, डोलराज सुवेदी, घना अर्याल, सम्बोधन अर्याल, कमल अर्याल, वसन्त खनाल, विष्णु पंगेनी पाण्डे, बोधराज न्यौपाने, दमकुमारी बगाले, यमकान्त खनाललगायतले आफ्ना रचनाका साथै रेणुका भट्टराई मञ्जरीको खण्डकाव्य ‘मेरो हजुर’ का श्लोक वाचन गर्नुभएकाे थियाे ।
प्रतिष्ठानका सहसचिव कमल बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मिलन समीरले गर्नुभएकाे थियाे । स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले राख्नुभएकाे थियाे भने धन्यवाद ज्ञापन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएकाे थियाे।
दिउँसो १ बजेदेखि सुरु भएको कार्यक्रममा नौ वर्षीय बालप्रतिभा सुदृढ पोख्रेल र ८९ वर्षीय समाजसेवी चन्द्रबहादुर नगरकोटीको विशेष उपस्थितिले कार्यक्रम थप आकर्षक बनेको आयोजकले जनाएको छ।

