साहित्यपोस्ट-नपढी सुखै छैन...

भवानी अधिकारी र नवीन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’

भवानी अधिकारी र नवीन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार स्वर्गीय दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ यस वर्ष साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ ।

दाहाल यज्ञनिधि सुधा सदनको साउन ९ गते बसेको कार्यसमिति बैठकले भारतको मणिपुरमा रहेर नेपाली भाषा–साहित्यको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका अधिकारी तथा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिएका निर्देशक सुब्बालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुका अनुसार प्रतिकूल परिस्थितिमा पनि नेपाली भाषा, साहित्य, शिक्षा, कला तथा समावेशी संस्कृतिको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गर्न लागिएको हो । पुरस्कारसँगै जनही रु. १ लाख ५० हजार नगद र ताम्रपत्र प्रदान गरिनेछ ।

साहित्यकार भवानी अधिकारीले दुई दशकभन्दा बढी समयदेखि मणिपुरमा नेपाली भाषा–साहित्य, शिक्षण तथा पाठ्यक्रम निर्माणमा योगदान दिँदै आउनुभएको छ । उहाँका कोरौगी मरोक मङाल, मनका आवेग, आँखीझ्यालभित्र मणिपुर, मेरो लोकताक र उन्मुक्त उडानलगायत कृति प्रकाशित छन् । साथै एउटा पिस्तौल एउटा कुन्द पुष्प र मरुभूमिजस्ता कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गर्नुभएको छ । उहाँ सन् २०२० को साहित्य अकादमी अनुवाद पुरस्कारबाट पनि सम्मानित हुनुहुन्छ ।

त्यसैगरी निर्देशक नवीन सुब्बाले मौलिक विषयवस्तु र सीमान्तीकृत समुदायका कथालाई नेपाली चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन योगदान पुर्‍याउनुभएको छ । उहाँले तरेबा, खाङ्ग्री, नुमाफुङ, दलन, गुडबाइ काठमाडौं, सिंहदरबार–२ र गाउँ आएको बाटोलगायत चलचित्र तथा शृङ्खलाको निर्देशन गर्नुभएको छ । हाल उहाँ लाहुरे जुत्ता चलचित्र निर्माणको तयारीमा हुनुहुन्छ ।

पुरस्कार वितरण समारोह साउन २५ गते सोमबार अपराह्न २:३० बजे काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघर (माथिल्लो हल) मा आयोजना गरिने संस्थाले जनाएको छ ।

वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिनुभएका दाहाल यज्ञनिधि नेपाली पत्रकारिता र साहित्यका विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको २०७५ साल साउन २५ गते निधन भएको थियो । उहाँका जदौका निबन्ध, जदौका ३४ निबन्ध, खुला आकाश (गीति एल्बम), दाहाल यज्ञनिधिका कविता र जदौलगायत कृति प्रकाशित छन् । उहाँको जीवन र व्यक्तित्वमाथि केन्द्रित कृतिसमेत प्रकाशित भएका छन् ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.