काठमाडौं । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा सम्पन्न ‘पलेँटी’ कार्यक्रममा गीतकार शिवशंकर थापाले आफ्ना गीतका रचना–गर्भ, जीवनका स्मृति र अनुभूतिहरू दर्शकमाझ साट्नुभयो । सांगीतिक प्रस्तुतिसँगै भावुकता, आत्मकथा र ठट्यौली मिसिएको उहाँको प्रस्तुतिले कार्यक्रमलाई विशेष बनाएको थियो ।
दुई दशकभन्दा लामो इतिहास बोकेको ‘पलेँटी’ नेपाली आधुनिक संगीतका गीतकार, संगीतकार र गायकलाई केन्द्रमा राखेर सञ्चालन हुँदै आएको शृङ्खला हो । संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रम तीन खण्डमा विभाजित थियो ।
कार्यक्रमको पहिलो खण्डमा नयाँ र पुराना गीतहरू प्रस्तुत गरिए । गीतहरूबीच शिवशंकर थापाले आफ्ना सिर्जनासँग जोडिएका प्रसङ्गहरू सुनाउनुभयो । युवा अवस्थाका स्मृतिहरू र संगीतकार प्रकाश गुरुङसँगको पुरानो संगतबारेका प्रसङ्गले दर्शकदीर्घामा हाँसोको लहर पनि पैदा गर्यो ।
‘म त अक्षरको मान्छे हुँ’ गीतबारे बोल्दै थापाले भन्नुभयो, “मेरा गीतका विषयवस्तुमा मान्छे र तिनका कथाहरू हुने गर्छन् । म मान्छेलाई अक्षरका रूपमा पढ्न खोज्छु, यो गीत त्यसकै परिणाम हो ।”
कार्यक्रमको एउटा भावुक क्षण ‘कति साह्रो फाटेछु म’ गीतसँग जोडिएको थियो । आफ्नी श्रीमतीको अवसानपछिको एक्लोपनबाट प्रेरित उक्त गीतको प्रसङ्ग सुनाउँदै गर्दा थापा भावुक देखिनुभयो ।
दोस्रो खण्डमा गायक तथा संगीतकार दीप श्रेष्ठको स्वरमा चर्चित बनेका गीतहरू प्रस्तुत गरिए । ‘मेरो आँखामा भरिदिन बादल छाइरह्यो’ गीतको रचना–पृष्ठभूमि सुनाउँदै थापाले सुखानी हत्याकाण्डको स्मरण गर्नुभयो । उहाँका अनुसार उक्त रचना २०२९ साल फागुन २१ गतेको घटनाबाट प्रेरित थियो ।
‘तिमी आकाशको जून भयौ, म त यहाँको धुलो हुँ’ गीतसँग जोडिएको स्मृति सुनाउँदै थापाले आफ्नो नाम पहिलो पटक रेडियोबाट सुनेको क्षण सम्झनुभयो । उहाँले भन्नुभयो, “धरानको कुनै होटलमा चिया खाँदै गर्दा यो गीत सुनेको त्यो क्षण अहिले पनि सम्झनामा छ ।”
लोकप्रिय गीत ‘विधुवाले सिन्दुरको रहर’ को प्रसङ्ग आउँदा कार्यक्रम फेरि भावुक बन्यो । थापाले उक्त गीत एक छिमेकी विधुवाको सत्यकथाबाट प्रेरित भएको बताउनुभयो ।
त्यसपछि ‘भन्थी मेरी उनी मेरो पाइला नटेकिदिनु’ गीतको रचना–पृष्ठभूमि सुनाउँदै उहाँले आफ्नो पुरानो प्रेमकथाको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “मैले तिनकै अभिव्यक्तिलाई टक्क–टक्क उतारेर गीतमा राखेको हुँ । दीपले धुन भरेर गायो । गीत प्रसिद्ध भयो, म पनि प्रसिद्ध भएँ ।”
थापाको प्रस्तुति केवल स्मृतिमा सीमित थिएन । गम्भीर अभिव्यक्तिभित्र ठट्यौली पनि उत्तिकै मिसिएको थियो । कहिले प्रेमकथा, कहिले मित्रताको प्रसङ्ग र कहिले गीत जन्मिएका क्षणहरू सुनाउँदा दर्शक भावुक मात्र भएनन्, बारम्बार हाँसे पनि ।
तेस्रो तथा अन्तिम खण्डमा लोकशैलीका गीतहरू प्रस्तुत गरिए । यस क्रममा थापाले झ्याउरे शैलीबारे आफ्नो धारणा पनि राख्नुभयो ।
कार्यक्रमको समापनमा भने थापा प्रफुल्ल देखिनुभयो । उहाँले मुस्कुराउँदै भन्नुभयो, “हेर्नु त, म अलिक अस्वस्थ मान्छे । यो कार्यक्रमको बिट मार्ने बेलामा त २५ वर्षको उमेरमा झैँ जोश पलाएको अनुभूति पो गर्दै छु ।”
कार्यक्रममा अभिज्ञा घिमिरे र रूपक चौधरीले स्वर प्रस्तुत गरेका थिए भने विभिन्न वाद्यवादकहरूको सहभागिता रहेको थियो ।

