जिन्दगीको दौडधुपमा कतिपय कुराहरू स्मृतिको कुनै ओझेल कुनामा थन्किएर बस्दा रहेछन् । समयको धुलोले पुरिएका ती यादहरू कतिबेला र कुन बहानामा ब्युँझिन्छन्, पत्तै नहुने ! कहिलेकाहीँ एउटा सानो घटना वा कुनै दृश्यले वर्षौँदेखि गुम्सिएर बसेका स्मृतिका पोकाहरू बिस्तारै खोलिदिँदो रहेछ । अचम्म लाग्छ, जुन कुरा हामीले बिर्सिसक्यौँ भन्ने ठानेका हुन्छौँ, ती त भित्र कतै अझै जीवितै पो हुँदा रहेछन् ।
आज ओम रिजालको उपन्यास “पैकेलो” हातमा लिएर पानाहरू पल्टाउँदै गर्दा मेरो अवस्था ठ्याक्कै त्यस्तै भएको छ । उपन्यासका शब्द–शब्दले मेरो मानसपटलमा अनगिन्ती सम्झनाका छालहरू पैदा गरिदिएका छन् । प्रत्येक हरफ पढ्दै जाँदा म अहिले काठमाडौँको यो कोठामा होइन, बरु वर्षौँअघिको त्यो पदयात्रा र कर्णालीका ती दुर्गम भूगोलहरूमा विचरण गरिरहेको महसुस गरिरहेकी छु ।
मेरो जागिरे जीवनको एउटा लामो र महत्त्वपूर्ण हिस्सा कर्णाली र त्यस आसपासका विकट भनिएका तर प्राकृतिक रूपमा स्वर्गजस्तै सुन्दर भूगोलहरूमा बितेको छ । ती दिनहरू केवल काम र जिम्मेवारीका मात्र थिएनन्, ती त मेरा जीवनका सबैभन्दा ठूला पाठशाला थिए । तिला, जवा र कर्णालीको सुसाउँदो आवाज, चिसो सिरेटो, र त्यहाँका मानिसहरूको ओठमा हुने त्यो सादगीपूर्ण मुस्कान—सबै मेरा आँखैअगाडि नाचिरहेका छन् ।
“पैकेलो” पढ्दै गर्दा मलाई ती दिनहरूको सम्झना आयो, जब म सरकारी सेवाको दौरानमा अछामको मंगलसेन, दैलेखको दुल्लु र जुम्लाका ती ऐतिहासिक भग्नावशेषहरूका बीचमा पुग्थेँ । बाइसे–चौबिसे राज्यहरूको इतिहास पढेर मात्र होइन, म त यसको प्रत्यक्ष साक्षी बस्न सक्छु । अछामको तत्कालीन कुच्चीबाट राखम कर्णाली हुँदै ढुङ्गे यात्राबाटै दुल्लु पुग्दाको अनुभव शब्दमा वर्णन गर्न कठिन छ । कति पटक त कर्णालीको किनारै–किनार हिँड्दै, उकाली–ओराली गर्दै स्थानीय बासिन्दासँग बसेर उनीहरूकै दुःख–सुख साटेकी छु । ती भत्किएका दरबारहरू देख्दा लाग्थ्यो— यिनले हामीलाई केही भन्न खोजिरहेका छन् ।
आज यो उपन्यासले ती मौन पत्थरहरूलाई भाषा दिएको छ । “पैकेलो” का पात्रहरूमा मैले ती मानिसहरूलाई देखिरहेकी छु, जसलाई मैले आफ्नै आँखाले भेटेकी थिएँ । कर्णालीको त्यो भूगोल, त्यहाँका खस सभ्यताको सुगन्ध र इतिहासको त्यो भारी—सबै कुरा यो कृतिले मेरो स्मृतिको ऐनामा छर्लङ्ग पारिदिएको छ । यो केवल एउटा पुस्तक मात्र रहेन, यो त मेरो आफ्नो अतीतसँगको पुनर्मिलन गराउने एउटा सेतु बनेको छ ।
इतिहास केवल पुस्तकका पानाहरूमा कैद गरिने मृत अक्षरहरूको सङ्ग्रह मात्र होइन; यो त पुस्तान्तरण हुँदै आएको एउटा जीवित दस्तावेज हो । बाइसे–चौबिसे राज्यहरूका वैभवशाली विरासतलाई दन्त्यकथा वा हजुरआमाको एकादेशको कथा मान्नेहरूका लागि अछामको मंगलसेन दरबार, जुम्ला कनकासुन्दरीको भग्नावशेष र दैलेखको दुल्लु दरबार आज पनि मौन तर शक्तिशाली साक्षीका रूपमा उभिएका छन् । यी ऐतिहासिक स्थलहरूसँग मेरो व्यक्तिगत, सांगीतिक र भावनात्मक सम्बन्ध निकै गहिरो गरी जोडिएको छ । जब म “पैकेलो” को सिर्जनात्मक यात्रामा निस्किएँ, तब यी ढुङ्गा र माटोका संरचनाहरू मेरा लागि केवल निर्जीव स्मारक रहेनन् । कर्णालीको त्यो चिसो पानीको छिट्टा र किनारका भीरपहराहरूले मलाई हाम्रा पुर्खाहरूको सङ्घर्ष र साहसको स्मरण गराइरहे ।
“हाम्रा पुर्खाहरूले यही बाटो भएर इतिहास रचेका थिए, यही माटोमा उनीहरूको पसिना र रगत सिञ्चित छ ।”
मंगलसेन दरबारको त्यो भव्यता र त्यसको वास्तुशिल्प देख्दा मनमा एकातर्फ अगाध श्रद्धा जाग्छ भने अर्कातर्फ समयको क्रूर प्रहार र संरक्षणको अभाव देख्दा मन भारी हुन्छ । ती भत्किएका पर्खालहरूले केवल राज्य ढलेको कथा मात्र भन्दैनन्, तिनले त हाम्रो पहिचान र स्वाभिमानको एउटा कालखण्ड बिस्तारै ओझेल पर्दै गएको सङ्केत पनि गर्छन् । दुल्लुको कीर्तिखम्बा र कनकासुन्दरीका अवशेषहरूले सुदूर र मध्यपश्चिमको त्यो स्वर्णिम युगको याद दिलाउँछन्, जहाँ सभ्यताको जग बसालिएको थियो । “पैकेलो”मार्फत् लेखकले त्यही बिउँझिएको इतिहासलाई स्वर दिन खोज्नुभएको छ— ताकि हाम्रा भावी पुस्ताले जान्न सकून् कि यो माटो सामान्य छैन, यहाँका हरेक ढुङ्गाहरूमा एक–एक ओटा वीरगाथा लुकेका छन् ।
एउटा प्रश्नले मलाई सधैँ झस्काउँछ— हाम्रा ऐतिहासिक धरोहरहरू पटक–पटक किन जलाइन्छन् ? के रमाइलो जोगाउनमा भन्दा जलाउनमा बढी हुन्छ र ? मंगलसेन दरबार द्वन्द्वको चपेटामा परेर खरानी हुनु केवल एउटा भवनको अन्त्य थिएन, त्यो त सुदूरपश्चिमको एउटा सिङ्गो कालखण्डको मौन साक्षीको अन्त्य थियो । तर जलेकै कारण फेरि मैले कोठा–कोठा छप्का मारेको मंगलसेन दरबारको साक्षी हुँ भन्दा नपत्याउने समयले सप्को मारेको छ । दरबारका पटाङ्गिनी र देवलहरू त मेरा साक्षी छन् नि ! ती संरचनाहरूमा केवल इँटा र माटो थिएन, त्यहाँ त हाम्रा डकर्मी र सिकर्मीहरूको सीप, पसिना र खस सभ्यताको परिचय कुँदिएको थियो ।
उपन्यास “पैकेलो” पढ्दै गर्दा लेखकको चिन्ता र मेरो स्मृति एकाकार भए । दुल्लु दरबारले आफ्नो मौलिक रूप गुमाउनु परेको पीडाले मंगलसेन दरबार जलिरहेको दृश्यलाई पुनः जीवित तुल्याइदियो । उपन्यासमा पण्डित काशीदासले बालाराज काशीरामलाई दिएको उपदेश आजको राजनीति र शासन व्यवस्थाका लागि पनि उत्तिकै सान्दर्भिक छ ।
“राजा र प्रजाहरूको सम्बन्ध बन्धुवान्धवको जस्तो हुनुपर्छ । जहाँ राजा क्रुर र प्रजा अराजक हुन्छन्, त्यहाँ राज्यको पतन निश्चित हुन्छ ।”
यो भनाइले राज्यसत्ता र जनताबीचको सुमधुर सम्बन्ध नै राज्यको आयु तय गर्ने मुख्य कडी हो भन्ने तथ्यलाई उजागर गर्छ । मंगलसेन दरबारको वैभवका कथाहरू आज दन्त्यकथा जस्ता लाग्छन् । दरबारमा १०८ थरीका अचार हुन्थे रे ! मंगलसेन दरबारखलकका सन्तानले भनेजस्तै राजमाता वैजयन्तीमाला र महारानी चम्पामालाले व्यवस्थापन गर्ने थरीथरीका पक्वान्न, अचारसहितको शाही भोजहरू केवल खानपान मात्र थिएनन्, ती त त्यस समयको सामाजिक र आर्थिक सन्तुलनका सूचक पनि थिए ।
“पैकेलो”ले यो स्पष्ट पारेको छ कि इतिहास कुनै एउटा वर्ग वा जातिको एकल प्रयासले चल्दैन । दरबारभित्रका प्रेमिल संवाद, राजकुमार–राजकुमारीका यौनलीला मात्र होइन, सिपाही र पैकेलाहरू (योद्धाहरू) को वीरताले समाजको पूर्ण चित्र कोरेको हुन्छ । कार्की, थापा, कठायत जस्ता थरहरू त्यस समयका सैन्य र प्रशासनिक शक्तिका आधारस्तम्भ थिए भन्ने कुरा उपन्यासले ऐतिहासिक तथ्यका रूपमा प्रस्तुत गरेको छ ।
देउलीगढ र मानगढ बीचको युद्ध केवल दुई राजाको अहङ्कारको लडाइँ मात्र थिएन, त्यो त प्राकृतिक स्रोत र साधनमाथिको अधिकारको सङ्घर्ष पनि थियो । राजा हिन्दपतको स्वीकृतिमा र राजगुरु विशु पाध्याले सुनाएको शान्ति सम्झौता सन्देशको प्रसङ्गले कर्णालीको सामर्थ्यलाई दर्साउँछ । देउलीगढको बुकीसुन र बहुमूल्य जडिबुटीहरूमाथि मानगढको आँखा पर्नुले कर्णाली “अभावको भूगोल”मात्र नभएर “स्रोतको भण्डार” थियो भन्ने पुष्टि गर्छ ।
खस साम्राज्यको जग र यसको विस्तारको इतिहासलाई फर्केर हेर्दा “पैकेलो” अर्थात् ती महान् योद्धाहरूको भूमिका अतुलनीय र अद्वितीय देखिन्छ । एउटा साम्राज्य केवल ढुङ्गा र माटोले मात्र बन्दैन, त्यो त योद्धाको नशामा बग्ने तातो रगत र मुटुमा दन्किने राष्ट्रप्रेमको ज्वालाले निर्माण हुन्छ । राज्यको अस्मिता रक्षाका लागि पैकेलोहरूमा हुनुपर्ने त्यो प्रचण्ड आक्रोश र पहाडजस्तै अटल वीरताले नै विशाल साम्राज्यको जन्म दिन्छ । तर, इतिहासको यो गौरवपूर्ण गाथाको अर्को पाटो निकै करुण छ— जहाँ एउटा योद्धाले रणभूमिमा वीरता प्रदर्शन गरिरहँदा, कयौँ सिउँदोका सिन्दूरहरू मेटिन्छन्, कयौँ आमाका काखहरू रित्तिन्छन् र कयौँ बालबालिकाहरू टुहुरा बन्छन् ।
वीरगति प्राप्त गर्ने ती महान् योद्धाहरूको पवित्र रगतले सिञ्चित भएको हुनाले नै यो कथा केवल अक्षरहरूको सङ्ग्रह मात्र होइन, यो त “वीर पैकेलोहरूको रगतले लेखिएको गाथा” हो । यसले युद्धको हुङ्कार मात्र बोल्दैन, बरु युद्धले निम्त्याएको त्यो मौन क्रन्दन र रिक्ततालाई पनि जीवन्त रूपमा प्रस्तुत गर्दछ । मानवीय संवेदनाका हिसाबले हेर्ने हो भने, प्रेम र इख केवल भव्य दरबारका सुख–सुविधा र राजकीय षड्यन्त्रभित्र मात्र सीमित हुँदैनन् । यी भावनाहरू त दुर्गम पहाडका झुुपडीहरूमा पनि उत्तिकै सघन, पवित्र र प्रगाढ हुन्छन् । एउटा सामान्य झुपडीमा बस्ने मान्छेले पनि आफ्नो स्वाभिमानका लागि उत्तिकै ठुलो त्याग गर्न सक्छ ।
बालाराजाको वियोग र उनको अदम्य बहादुरीको कथालाई सुदूर र मध्यपश्चिमको मौलिक हुड्केली लोकगाथाले पुस्तौँदेखि जीवित राख्दै आएको छ । हुड्केको त्यो गम्भीर स्वर र दमाहाको तालमा गुन्जिने “पैकेलो”का कथाहरूले आज पनि सुन्नेको आङ जिरिङ्ग बनाउँछन् । यस उपन्यासको सबैभन्दा बलियो पक्ष यसमा प्रयोग गरिएको खस भाषा हो । स्थानीय लवज, ठेट शब्द र मौलिक उखान–टुक्काको प्रयोगले यो कृतिलाई केवल एउटा साहित्यिक सिर्जनामा मात्र सीमित राखेको छैन, बरु यसलाई खस सभ्यताको एउटा अमूल्य भाषिक दस्तावेजका रूपमा स्थापित गरेको छ ।
“पैकेलो” केवल कर्णालीको भूगोल वा खस राज्यको एउटा कालखण्डको संकुचित कथा मात्र होइन; यो त समग्र नेपालको निर्माणको आधारशिला, हाम्रो साझा भाषा र मौलिक संस्कृतिको एक जीवन्त प्रतिबिम्ब हो । यसले सिकाउँछ कि भूगोल जतिसुकै कठिन भए पनि आफ्नोपन र पहिचान सबैभन्दा प्यारो हुन्छ । यो कृति नपढ्दासम्म नेपालको आन्तरिक इतिहास र खस सभ्यताको बुझाइ अधुरो रहन्छ । यो पुस्तक हरेक नेपालीले आफ्नो परिचय खोज्नका लागि पढ्नैपर्ने एक अनिवार्य दस्ताबेज हो ।
भाषा त एउटा माध्यम मात्र रहेछ, त्यसको पछिपछि त एउटा सिङ्गो सभ्यता र कलाको लर्को आउँदो रहेछ । जब म कर्णालीका ती गहिरा खोँचहरूलाई नियाल्छु, मलाई एउटा अनौठो कौतुहलताले छोप्छ । लाग्छ, ती खोँचहरूमा हाम्रा पुर्खाहरूका वीरगाथाहरू कतै हराइरहेका छन्, कतै गुम्सिरहेका छन्—मानौँ उनीहरू कोही तिनलाई खोतल्न आओस् भनेर पर्खिरहेका छन् ।
साँच्चै, मैले इतिहासका पाटाहरूलाई सुम्सुम्याउन पाए त कति जाती हुन्थ्यो ! त्यहाँको समाज र त्यो आदिम सभ्यताको कति धेरै कथाहरू त अझै लेखिनै बाँकी छन् । कर्णाली त्यसै सुसाउँदै बगेको छैन, ऊ त आफूसँगै हाम्रा अलिखित इतिहासका भारीहरू बोकेर अनवरत बगिरहेको छ । लाग्छ, कर्णालीको कलकल आवाजमा हाम्रै पहिचानको प्राचीन धुन गुञ्जिरहेको छ ।
कर्णालीको मर्मस्पर्शी सुस्केरा र भोगाइहरू यी हरफले अझ सटिक रूपमा व्यक्त गर्छन् ।
प्याउली फूली पहेँलपुर गुँरास फूली रातो,
बाज मेरी गुँरास फूली रातो ।
मनका कुडा खोलुँ भन्दो झन् झन् पड्डो गाँठो,
बाज मेरी झन् झन् पड्डो गाँठो ।

