चितवन । कम्युनिस्ट नेता मोहन वैद्य ‘किरण’द्वारा लिखित दर्शनशास्त्रसम्बन्धी कृति ‘हिमाली दर्शन’ तथा लेखक ईश्वरी ओझाको महाकाव्य ‘अविश्रान्त अवनी’ माथि शनिबार भरतपुरमा विवेचना गरिएको छ । कार्यक्रम अखिल नेपाल जनसाँस्कृतिक महासंघ चितवन शाखाले आयोजना गरेको हो ।
कृति ‘हिमाली दर्शन’माथि बोल्दै समीक्षक गोपीरमण उपाध्यायले नेपाली भू–परिसरमै प्राचीनकालदेखि दर्शनको विकास भएको मान्यतालाई पुस्तकले स्थापित गर्न खोजेको बताउनुभयाे । उहाँले यसले पूर्वीय वा भारतीय उपमहाद्वीपमै मात्र दर्शनको उद्गम भएको धारणा चुनौती दिएको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा महासंघका केन्द्रीय संयोजक हिरामणि दुखीले ‘हिमाली दर्शन’को गहिरो अर्थ बुझ्न संस्कृत साहित्यको अध्ययन आवश्यक रहेको धारणा राख्नुभयाे । विगतमा संस्कृत भाषाको गलत बुझाइका कारण यसको विरोध गरिएको भए पनि त्यसलाई ज्ञानको स्रोतका रूपमा पुनः बुझ्नुपर्ने उहाँको भनाइ थियो ।
यसैगरी, ८६ वर्षीय स्रष्टा ओझाको महाकाव्य ‘अविश्रान्त अवनी’माथि समीक्षक रविकिरण निर्जीवले टिप्पणी गर्दै बसाइँसराइ, संघर्ष र जनयुद्धजस्ता विषयलाई सामान्य किसान पात्रमार्फत गहिराइका साथ प्रस्तुत गरिएको बताउनुभयाे । उहाँले कृतिले समाजको यथार्थलाई सशक्त रूपमा उजागर गरेको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा साहित्यकार तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

