भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा असम नेपाली साहित्य सभा, असम (भारत)का साहित्यकारहरूसँग साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानको निमन्त्रणामा नेपाल आएका असम नेपाली साहित्य सभाका प्रतिनिधिमण्डलले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानसँग साहित्यिक अनुभव आदानप्रदान गरेको हो । सभाका पूर्वअध्यक्ष दुर्गा खतिवडाको नेतृत्वमा आएको सात सदस्यीय टोली कार्यक्रममा सहभागी भएको थियो ।
प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुवै पक्षका साहित्यकारहरूले परिचय आदानप्रदानसँगै साहित्यिक गतिविधि, अनुभव र सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका परिषद् सदस्य प्रा.डा. कर्णबहादुर बानियाँ र सदस्य–सचिव बालकृष्ण थपलियाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरेका साहित्यिक तथा प्राज्ञिक गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
असम नेपाली साहित्य सभाका तर्फबाट गोविन्द शान्डिल्य, डा. कालिदास शर्मा थपलिया, मदन थापा र दीपक गजुरेललगायत साहित्यकारको सहभागिता रहेको थियो ।

