साहित्यपोस्ट-नपढी सुखै छैन...

भारतमा नेपाली भाषा-सङ्गोष्ठीहरू र त्यसबाट उठेका विवादहरू

भारतमा नेपाली भाषा-सङ्गोष्ठीहरू र त्यसबाट उठेका विवादहरू

१. विषयप्रवेश

भाषा परिवर्तनशील वस्तु हो । यो कहिले पनि एकनास र एकरूपको हुँदैन । समयको अन्तराल, ठाउँ ठाउँको भाषिक वैभिन्य जस्ता भाषिकागत वैभिन्न आदिले भाषा जहिले पनि परिवर्तन भइरहेको हुन्छ । भाषा कहिले पनि स्थिर हुँदैन । भाषाका वर्ण व्यवस्था, उच्चारण विधान, व्याकरणिक व्यवस्था, शाब्दिक व्यवस्था आदि कुरामा जहिले पनि परिवर्तन भइरहेका हुन्छन् । नेपाली भाषा पनि धेरै परिवर्तन भइरहेका छन् । यसका वर्ण, शब्द व्याकरणिक व्यवस्थाहरू स्थिरीकरण भएको छैन । यसबारे छलफल, परिचर्चा हुने क्रम यथावत् छ । यसरी नै भाषाबारे वादविवाद, चर्चा-परिचर्चा भइरहनु नै भाषाको जीवन्तको सङ्केत हो ।

२. भारतमा नेपाली भाषाबारे आयोजित केही सङ्गोष्ठीहरू -

भारतमा पनि नेपाली भाषाका वर्ण, वर्तनीका बारेमा केही सङ्गोष्ठी, कार्यशाला आदि भए । यसमा भाषाका विज्ञहरूलाई बोलाएर भए पनि आफ्नो आफ्नो पक्ष र मतलाई अघि सारिएका हुन्छन् । केही सङ्गोष्ठीको आयोजनाको सूची हेर्दा मूलतः दुई पक्ष स्पष्ट हुन्छ । एकले हाम्रा परम्परागत वर्णहरूलाई यथावत् राख्नुपर्दछ भन्ने  । अर्को पक्षले भन्छ – वर्णमालाका केही वर्ण हटाउनु पर्दछ ।    

२.१. नेपाली लेखन शैलीसम्बन्धित परिचर्चा, गान्तोक, २००५-

भारतीय भाषा संस्थान, मैसूरले विभिन्न भारतीय भाषामा लेखनशैली वा स्टायल म्यानुअल शृङ्खला शुरू गरेको थियो र त्यसैको नेपाली भाषाका निम्ति सिक्किम अकादमीसित संयुक्त तत्वावधानमा गान्तोक, सितम्बरको १-४ तारिक, २००८ मा आयोजित चारदिवसीय नेपाली लेखनशैलीबारे तीनवटा जति सङ्गोष्ठी सम्पन्न भएको थियो । यसमा नयाँ ‘सिकागो म्यानुअल स्टाइल’ अनुरूप नेपाली लेखन शैलीअन्तर्गत शोधलेखन विधिअनुसार तयार पारिएको छ ।

यसै सङ्गोष्ठीको परिणाम स्वरूपमा प्रकाशित नेपाली लेखन शैली (२०११) नामक पुस्तक प्रकाशित भएको छ ।  यस पुस्तकमा  वर्णविन्यास, व्याकरणिक र प्रभावकारी लेखन, शोध लेखनको नियम आदिबारे दिशा निर्देशन गरिएको छ । यस पुस्तक प्रकाशित भएपछि विवाद चर्किएको थियो ।  दार्जीलिङका शिवराज शर्माले त्यस सङ्गोष्ठीमा प्रस्तावित बुँदाहरूको खण्डन गर्दै ‘भाषा वैज्ञानिक परिचय- नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेख’ (२००९) पुस्तक प्रकाशित गरेका छन् । शिवराज शर्माको यस पुस्तकमा नेपाली वर्णामालाबाट तलथोप्ली ‘ड़’ र ‘ढ़’ हटाउने, नपुंसक लिङ्गलाई बेग्लै लिङ्गको कोटिमा नराखेर स्त्रीलिङ्गेतरभित्र राखेकामा, सात कारक निर्धारण गरेकामा, संयुक्त क्रियाको पदयोग आदि विषयमा खण्डन गरेका छन् ।   

२.२. कालेबुङ प्रस्तावना-

नेपाली भाषाको नयाँ वर्ण व्यावस्था र वर्तनीलाई कार्यकर बनाउन  उपमा प्रकाशन, कालिम्पोङ अनि कालिम्पोङ विज्ञान केन्द्रमा २१ अगस्ट, २०१६ मा नेपाली वर्ण विन्यास प्रस्तावना र प्रयोग नामको एउटा कार्यक्रम गरेको थियो । त्यसले नेपाली लेखनमा आजपर्यन्त देखिएका विभिन्न प्रस्तावनाहरूको वैज्ञानिकतामाथि छलफल गरी एउटा मानक रूपको स्थापना र प्रयोगको प्रचेष्टा गर्ने उद्देश्य लिएको थियो । प्रा. घनश्याम नेपालको नेतृत्वमा रहेको उक्त सङ्गोष्ठीले सत्रवटा भाषिक प्रस्तावना गरेको थियो । यसको मुख्य उद्देश्य नै नयाँ वर्तनी अनुरूप तलथोप्ली ड़, ढ़ नेपाली वर्णमालाबाट पूरापूरी हटाउने तथा ‘क्ष, त्र, ज्ञ’ अनि ‘तत्सम’बाहेक अन्य जम्मैमा पञ्चम वर्ण ञ, ण, प्रयोग नगर्ने, पदादि र पदमध्यमा रहेको दीर्घ जति हटाएर ह्रस्व बनाउने निर्णय गरिएको छ । त्यस कार्यक्रममा भनिएको छ कि ञ, ण, श, ष, ऋ, ड़ ढ़, क्ष, त्र, ज्ञ जस्ता वर्णहरू नेपालीमा छैनन् । त्यस गोष्ठीलाई पुष्टि गर्न कालेबुङ प्रस्तावना र यसका आधारहरू (२०१७) मा प्रकाशित भएको छ । यस गोष्ठीले कतिपय सामान्य कुरालाई सरलता ल्याउने प्रयास गरे पनि वर्णमालालाई नै बदली गर्ने प्रयास गरिएको छ । तत्सम शब्दलाई चाहिने वा नचाहिने भए पनि भारतमा अहिलेसम्म पढ्दै आएको नेपाली वर्णमालालाई राख्नु उचित हुन्छ । यहाँ त दुई खालको वर्णमाला बनाउने प्रयास गरिएको छ, जुन उचित होइन ।       

२.३. भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण, २९-३० अप्रेल, २०१७

नेपाली साहित्य सम्मेलन, दार्जीलिङ र साहित्य एकादमी, नयाँ दिल्लीको संयुक्त आयोजनामा २९-३० अप्रेल, २०१७ मा ‘भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण’ विषयक दुईदिने सङ्गोष्ठी आयोजना भएको थियो । यस सङ्गोष्ठीमा  दार्जीलिङ, सिक्किम, आसामका नेपाली साहित्यकाहरूको उपस्थिति थियो । यस सङ्गोष्ठीमा जम्मा आठ वटा कार्यपत्र रहेका थिए भने केही कार्यपत्रको मूल विषय नै तलथोप्ली ‘ड़, ढ़’ रोक्नुपर्ने कुरामा जोड़ दिएको थियो । कार्यक्रमका अध्यक्षले नै कालेबुङ प्रस्तावनाको घोर खण्डन गरेर नेपाली वर्णमालालाई पुरानै यथावत् राख्नुपर्ने, हाम्रा वर्णहरू ‘ड़, ढ़, क्ष, त्र, ज्ञ’लाई यथास्थानमा राखेर यथोचित प्रयोग गर्नुपर्ने, पञ्चम वर्णको प्रयोग पनि यथास्थानमा यथाप्रयोग गर्नुपर्ने कुराको घोषणा गरेका थिए । यस विषयमा डा. गोकुल सिन्हा, असीत राई, मिलन बान्तवा, डा. खेमराज नेपालको संगोष्ठीपत्रहरू भने तर्कसम्मत रही तलथोप्ली ‘ड़, ढ़’ लगायत अन्य वर्णहरूलाई यथावत् राख्ने कुरामा केन्द्रित थिए । यस सङ्गोष्ठीमा प्रस्तुत गरिएका र अन्य सम्बन्धित विषयका लेखहरू संकलन गरेर नेपाली साहित्य सम्मेलन, दार्जीलिङले भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण पुस्तकका रूपमा सन् २०२२ मा प्रकाशित गरेको छ । नेपाली भाषाका वर्ण र वर्तनीबारे यो पुस्तक नै उपयोगी र महत्त्वपूर्ण छ ।

२.४. नेपाली लेखनशैलीको दोस्रो संस्करणका निम्ति बसेको कार्यशाला, २०२१

६ देखि ८ डिसेम्बर, २०२१ मा सिलगडी देवकोटा सङ्घ, सिलगड़ीमा पूर्वोत्तर क्षेत्रीय भाषा केन्द्र, गुवाहाटी र सिलगड़ी देवकोटा सङ्घको संयुक्त आयोजनामा ‘नेसनल वर्कसप अन पा ईगभिजन अव् नेपाली स्टायल म्यानुअल’ नामक एउटा कार्यशाला सम्पन्न भएको थियो ।  डा. खगेन शर्माको संयोजकत्वमा बसेको उक्त कार्यशालाले नेपाली लेखनको शैली, २००९ लाई यथावत् राख्दै यद्यपि नेपाली वर्णहरू जस्तै ‘ड़, ढ़, क्ष, त्र, ज्ञ’ लाई पनि वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भन्ने कुरा निर्णय लिइयो । अघिल्लो नेपाली लेखन शैलीको व्याकरणिक पक्षहरू र केही नयाँ वस्तुहरूको पनि ययसमा चर्चा भएको थियो । यस कार्यशालाले मध्यमार्गको अवलम्बन गरेको थियो ।

यीबाहेक अन्य स्थलमा भाषा- लेखनशैलीबारे केही स्थानीय र आन्तरिक तहमा गोष्ठी सम्पन्न भएका छन् । तिनको यहाँ उल्लेख गरिएन ।

माथिका सङ्गोष्ठी आदिको अध्ययन गर्दा यहाँ मूलतः दुई किसिमको विवाद छ- वर्ण प्रयोगसम्बन्धित र वर्तनी प्रयोगसम्बन्धित । वर्णप्रयोगमा परम्परागत रूपमा तलथोप्ली ड़, ढ़, क्ष, त्र, ज्ञ लाई यथावत् सुरक्षित राख्नुपर्छ, वर्तनीको प्रयोग पनि यथावत् राख्नुपर्छ भन्ने एक पक्षको तर्क रहेको छ भने ड़, ढ़, क्ष, त्र, ज्ञ नेपालीमा चाहिँदैन, यी संवर्ण र संयुक्त वर्ण हुन्, यी वर्णहरूलाई हटाउनु पर्छ, पञ्चम वर्णमा पनि ‘ञ’ र ‘ण’को प्रयोग संस्कृतका तत्समबाहेक आमनेपाली शब्दमा पनि चाहिन्छ भन्ने एउटा पक्ष र अर्को पक्ष भने यी वर्णहरू तत्सम शब्दबाहेक आगन्तुक आदिमा लागू हुँदैनन् भन्ने तर्क दिन्छन् । अघिल्लो पक्ष भने आम मानिसहरूले पढेर आएको परम्परागत वर्तनी र यसको अस्तित्वमाथि जोड दिएका छन् भने पछिल्लो पक्षको तर्क भने भाषाविज्ञानको सिद्धान्तअनुरूप वर्णको प्रयोगतर्फ जोड दिएका छन् । अघिल्लो पक्षको तर्क के छ भने हाम्रा वर्णहरू यथोचित प्रयोग गर्नुपर्छ, भएका वर्णलाई हटाउनु हुँदैन, भारतीय नेपाली भाषा र नेपालको नेपाली भाषाका बीच यतिको पार्थक्य छ भन्ने रहेको छ । उता अर्का पक्ष भने नेपालीमा यी वर्णमाला चाहिँदैनन्, नेपालको नेपालीमा यी वर्णहरू प्रयोग हुँदैनन् भन्ने तर्क दिन्छन् ।  

३. भाषामा क्रान्ति कि विकास ?

कतिपय अध्येताहरूले नेपाली भाषाका बारेमा आफ्नो विद्वता देखाउन केही न केही नयाँ कुरा प्रस्तुत गर्न चाहन्छन् । दुईचार भाषा विज्ञानका पुस्तक पढेपछि आफूले बोल्दै आएको सिकेर आएको भाषालाई नै आफ्नो विचार थोप्न पुग्छन् । भाषा परिवर्तनशील वस्तु हो । यो समयमा स्वतः परिवर्तन हुन्छ । परिवर्तनलाई विकास मान्न सकिन्छ । यद्यपि कसैले भाषालाई म यसरी लेख्छु भनेर आफ्नो विचार थोप्नु र अरूलाई पनि थोप्नु लाउनु उचित होइन । भाषाविज्ञानका सिद्धान्त पढेर आफ्नो भाषालाई पनि त्यही साँचामा हाल्नु उचित होइन । सस्युर, हकेट, चम्स्की, ब्लुमफिल्ड, सपिर, बेञ्जामिन हुउर्फ, पिङ्कर, डेभिड क्रिस्टल, रोमन ज्याकब्सन आदिका भाषावैज्ञानिक सिद्धान्तअनुरूप हामीले प्रयोग गर्दै आएको भाषालाई ढाल्नु हुँदैन । भाषिक व्यवस्थाका वर्ण, व्याकरणिक कोटिहरू, पदयोग-पदवियोग, आगन्तुक शब्द प्रयोग आदि जस्ता क्षेत्रमा विभिन्न मत र वादविवाद चर्किरहेका छन् । यतिसम्म कि मुलुक न्यायलयहरूले समेत आदेश दिएका छन् । भाषिक सुधारका नाममा हाम्रा परम्परागत वर्ण र व्याकरणिक प्रणालीमाथि भाषा विज्ञानको प्रभावमा आएर बिथोल्ने गरेको देखेर दार्जीलिङ, सिक्किमका आमजनता लगायत  नेपाली साहित्य सम्मेलन, दार्जीलिङले विरोध गरेका छन् ।

भारतमा नेपाली वर्ण र व्याकरणिक व्यवस्थाबारे उठेको विवादमा मुख्य गरी दुईवटा संस्थान विपरीत खेमामा छन्- उत्तर बङ्गाल विश्वविद्यालयको नेपाली विभाग र नेपाली साहित्य सम्मेलन, दार्जीलिङ । उत्तर भङ्गाल विश्वविद्यालयमा नेपाली स्नातकोत्तर नेपाली लगायत उच्च अध्ययनमा नयाँ वर्तनीलाई अपनाएको छ । यहाँका शोधार्थी र सामान्य विद्यार्थीहरू नयाँ वर्तनी अनुरूप ढाँचामा तयार पारिन्छ । यसकै ढाँचामा केही कलेजहरूमा पनि जबर्जस्ती नयाँ वर्तनीको प्रयोग गर्न लाइन्छ । अर्कातर्फ नेपाली साहित्य सम्मेलन दार्जीलिङले पनि नयाँ वर्तनीको लिएको सिद्धान्तको विरोधस्वरूप दार्जीलिङ सङ्गोष्ठी आयोजना गरेर, पुस्तक प्रकाशन गरेर विपरीत ध्रुवमा उभिएको छ ।

विश्वविद्यालय तहबाट आयोजना गरिने भाषिक वा व्याकरणिक गोष्ठीमा भाषाविज्ञान पढेकाहरूले गोष्ठीपत्र तयार पारेका हुन्छन् । यसो हुँदा उनीहरूका पत्रमा भाषाविज्ञानका सिद्धान्त र अवधारणालाई अघि सारिएको हुन्छ । अर्कातर्फ साहित्यिक संस्थाले भाषाको व्याकरणिक विषयमा गोष्ठी राखिँदा प्रस्तोताहरूले परम्परागत व्याकरणिक नियम र भाषाशास्त्रीय सिद्धान्तका आधारमा तयार हुन्छ । वास्तवमा भाषा सुधारका नाममा कुनै सङ्गोष्ठी राखिबस्नु पर्दैन किनकि भाषा नित्य परिवर्तनशील हुन्छ । स्वतः परिवर्तनशील हुँदा नदीले जस्तै भाषाले आफ्नो मार्ग बनाउने गर्छ ।               

भाषाविज्ञानको अध्ययन गर्नेले नेपाली व्याकरण तयार पार्दा कुनै पनि भाषा खजमजिन्छ, मौलिकतामा खलल पुग्छ । नेपाली भाषाको कुरामा पनि यो कुरा लागू हुन्छ । डा. हेमाङ्गराज अधिकारी, डा. माधवप्रसाद पोखरेल, डा. घनश्याम नेपाल आदिका व्याकरणमा भाषाविज्ञान पसेको हुन्छ । त्यसो हुँदा भाषाको भाषाशास्त्री अध्ययन नभएर रूप, संरचना, फर्मुलाबद्ध सिद्धान्त, अरू भाषाका व्याकरणसित तुलना, आफ्नो भाषिक व्याकरण पनि अरू समृद्ध भाषाको जस्तै हुनुपर्ने कुरामा जोड दिएको हुन्छ । यस विषयमा तलका केही बुँदा हेरौं–

४. परम्परागत नेपाली व्याकरणमा आधुनिक भाषाविज्ञानको प्रभाव निम्न पक्षमा देखिन्छन्

क) नेपाली वर्णमालाको सन्दर्भमा अचेल व्याकरणका पुस्तकमा दुई किसिमका वर्णको उल्लेख पाइन्छ- खण्डीय वर्ण र खण्डेतर वर्ण । संस्कृतको पारम्परिक वर्णमालामा अयोगवाह भनिने अनुस्वार, चन्द्रविन्दु, विसर्ग आदि वर्णहरू अब खण्डेतर वर्णका कोटिमा आएका छन् ।

ख) नेपाली वर्णमालाको क्षेत्रमा आधुनिक भाषाविज्ञानको ठूलो प्रभाव देखिन्छ । अहिलेका कतिपय वर्णमालालाई ‘लेखिने स्वरवर्ण’ र ‘बोलिने स्वरवर्ण’ तथा लेखिने व्यञ्जनवर्ण र बोलिने व्यञ्जनवर्ण गरी दुई-दुई भागमा छुट्याइएको छ । नेपाली भाषा संस्कृतबाट उत्पत्ति भए तापनि संस्कृतका सम्पूर्ण वर्ण आवश्यकता छैनन् । नेपाली भाषालाई चाहिने मात्र वर्ण ग्रहण गरेको देखिन्छ । संस्कृतका दीर्घ ऋ, लृ र दीर्घ लृ वर्णहरू नेपालीमा छैनन् । बोलिने नेपाली स्वर वर्णमा अ, आ, इ, उ, ए र ओ मात्र मानिन्छन् भने लेख्य नेपालीमा भने अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ गरी एघारवटा मानिन्छन् । डा. गोकुल सिन्हाले आफ्नो पुस्तिकामा स्वरवर्ण र व्यञ्जन वर्णमा  रहेका वर्णहरू हटाउनु हुँदैन, एकेकवटा वर्णहरू केलाएर तिनका स्थान र आवश्यक रहेको हुन्छ भन्ने तथ्य प्रस्तुत गरेका छन् । उनले पनि दुई खाले वर्णमालाको खण्डन गरी पूरापूरी पचासवटा नेपाली वर्णहरू हुन् भन्ने तर्क प्रस्तुत गरेका छन् । 

ग) नेपाली व्यञ्जन वर्णको परिप्रेक्ष्यमा पनि भाषाविज्ञानको अझ ठूलो प्रभाव परेको देखिन्छ । भाषाको उच्चारणमा जुन-जुन वर्ण प्रयोग हुन्छन् तिनलाई मात्र वर्णको मान्यता दिइएको देखिन्छ । बोलिने नेपाली व्यञ्जन वर्णमा उनन्तीसवटा वर्ण मात्र रहेका मानिन्छन् । पञ्चम वर्णमा ञ र ण का उच्चारणमा नवर्ण सुनिने हुँदा यी दुई काम नलाग्ने मानिएका छन् । सञ्च अब सन्च भएको छ भने लण्डन अब लन्डन, गोर्खाल्याण्ड गोर्खाल्यान्ड, घण्टी र बण्टी चाहिँ घन्टी र बन्टी बने । तत्सम शब्दबाहेक तद्भव र आगन्तुक शब्दका लागि ‘ञ’ र ‘ण’ वर्णहरू अनावश्यक भए ।

घ) अहिले यता दार्जीलिङ सिक्किमतिर तलथोप्ली ड़ र ढ़ विषयमा विवाद सृष्टि भएको देखिन्छ । नेपालमा शिशुहरूलाई वर्णमाला सिकाउँदा यी दुई वर्ण छँदै छैनन् । यता भारतका शिशु कक्षामा वर्णमाला सिकाउँदा अहिलेसम्म ड़, ढ़ वर्णहरू सिकाइँदैछ । हाम्रा अघिल्लो पुस्ताका बिहारी गुरुहरूले यी दुई वर्ण सिकाए औ पछिल्ला पिँढीका स्थानीय गुरु-गुरुआमाले ड़ ढ़ पढ़ाउने चलन छ । शिशुहरूलाई लयबद्ध तरिकाले ख, ग, घ, ङ भन्दै ‘अड़, अढ़, क्ष, त्र, ज्ञ, भन्दै सिकाइन्छ । अब ड़, ढ़ तथा क्ष, त्र, ज्ञ बिनाका वर्ण सिकाउनु पर्दा खल्लो, अपूरो, अधूरो लाग्छ । भाषाविज्ञानको वर्णविश्लेषण सिद्धान्तअनुसार व्यतिरेकी वितरण र परिपूरक वितरणका आधारमा यी दुई वर्ण अनावश्यक बनेका हुन् । हिन्दी र मराठी, बंगला वर्णमालामा पनि तलथोप्ली ड़, ढ़ कुनैमा छ कुनैमा छैन तर उनीहरू तलथोप्ली लाएरै लेख्छन् । बङ्गलामा तलथोप्ली ड़, ढ़ पाइन्छ । हिन्दी वर्णमालामा जम्मा ५२ वटा वर्ण हुन्छन् जस्ता अन्तका आठवटालाई संयुक्त व्यंजन (क्ष, त्र, ज्ञ, श्र, ड़, ढ़, अं, अः) ठानेर वर्णमालामा राखिएको छ । 

ङ) नेपाली वर्णामाला तलथोप्ली ड़, ढ़ वर्णहरू राख्दा हानि छैन । यी दुई वर्णहरूको राख्नुको आवश्यकता र औचित्य के छ भने-

उच्चारणमा भिन्नता: 'ड़' र 'ढ़' को ध्वनि 'ड' र 'ढ' भन्दा भिन्न हुन्छ । यी तलथोप्लीका उच्चारण गर्दा उत्क्षिप्त भएर जिब्रो चाँड़ो झट्कारिन्छ, जब कि 'ड' र 'ढ' का उच्चारणमा यस्तो हुँदैन । जस्तो डाँड़ा-काँड़ा, गड्याङगुडुङ आदि शब्दमा दुई ड र ड़को अलगअलग उच्चारण हुन्छन् ।

शब्दको अर्थगत भिन्नता हुने : यी दुई ध्वनिहरूका कारण कहिलेकाहीँ शब्दको अर्थगत भिन्नता आउँछ । उदाहरणका लागि 'सारी र साड़ी’ जस्ता शब्दहरूमा 'ड़' का प्रयोग हुन्छ । अब नेपाली बोल्दा कुनै शब्द अङ्गेजीका पनि स्वतः आउने गर्छन्- जस्तै ‘बड़ी तपाईँको बड़ी कस्तो राम्रो छ, तपाईँ  बडी बिल्डिङ गर्नुहुन्छ ?’  

शब्दको बीच र अन्तमा प्रयोग:  तलथोप्ली 'ड़' र 'ढ़' को प्रयोग शब्दको शुरूमा हुँदैन तर यी शब्दको बीच वा अन्तमा आउने गर्छन् । उदाहरण के लिए, 'सड़क', 'चढ़ाई', 'पढ़ाई', 'गाढ़ा' डाँड़ा, काँड़ा, काँढ़ा, भाँड़ा आदि । 

यसर्थ, ड़'  र 'ढ़' नेपाली भाषामा उच्चारण र अर्थको स्पष्टताका लागि आवश्यक छन् तथा यी दुईको  प्रयोग नेपालीमा ती शब्दहरूमा हुन्छ जसमा यी दुई ध्वनिहरू उच्चारणमा नै स्वतः अस्तित्वमा रहेका छन् ।   

ङ) भाषाविज्ञानमा नै यादृच्छिक व्यवस्थामा चर्चा हुन्छ । भाषिक व्यवस्था वक्ताको इच्छामा निर्भर हुन्छ भन्ने मान्यता छ । पानी, मान्छे, घर भन्नु यी वस्तु र शब्द र वर्णमा केही सम्बन्ध छैन । वक्ताले मानेर ल्याएको मात्र हो । यसकै आधारमा हेर्नु हो भने यता दार्जीलिङ-सिक्किमका नेपाली भाषी समुदायलाई यदि ‘ड़‘ र ‘ढ़’ प्रयोग गर्ने अभ्यास, सुविधा, अनुकूल र इच्छा रहेको छ भने यी दुई वर्ण स्वतः रहन्छन् । यता भारतको नेपाली वर्णमालाको विशेषताका रूपमा लिँदा कसो हुने हो विचारनीय छ ।

च. नेपालको वर्णमालाको भारतको नेपाली वर्णमाला मौलिकता र स्वतन्त्र अस्तित्वका रूपमा यहाँ परम्परादेखि स्थापित भइसकेको छ । हामीले आफ्नो बनाइसकेका वर्णहरूको संरक्षण गर्नु आवश्यकता छ । यी तलथोप्ली ड़ र ढ़ वर्णहरूले पनि भाषिक ध्वनिलाई प्रतिध्वनित्व दिइरहेका छन् । पदादिमा यी दुई वर्ण नआए पनि पदमध्य र पदान्तमा स्पष्ट रूपमा उच्चारित हुन्छन् । हामीले यी दुई वर्ण सुविधासित प्रयोग गरिरहेका छौं । भएकालाई वर्णलाई हटाउनुभन्दा सुरक्षा दिएर राख्नु र प्रयोग गर्नु उचित हो ।  

सिक्किमका धनसिंह गुरुङले गान्तोक उच्च न्यायलयमा नेपाली ड़, ढ़, केही पञ्चम वर्ण आदि परम्परागत वर्ण र वर्तनी बचाउनुका निम्ति गुहार माग्दै मुद्दा गरेका थिए । त्यसबाट विभिन्न सुनुवाईफछि सिक्किम उच्च न्यालयले त्यो निवेदनको पक्षमा निर्णय सुनायो अनि सिक्किम विश्वविद्यालयमा ती वर्णहरूको पुनर्बहाली गर्नुपर्ने, पाठ्यक्रमको आवश्यक सुधार गर्नुपर्ने कुराको निर्णय सुनाएको थियो  ।  

छ. भाषाविज्ञानको प्रभावस्वरूप क्ष, त्र, ज्ञ जस्ता संयुक्त वर्णहरू वर्णमालामा राखिन अनावश्यक ठानिन्छ । यदि यी दुई राखिने भए द्य, क्त, क्क पनि राखिनुपर्ने हो भन्ने भनाइ छ । यद्यपि संस्कृतमा क्ष त्र ज्ञ लाई स्वतन्त्र वर्ण मानिन्छ भने नेपालीमा पनि यी तीनलाई संयुक्त भए पनि वर्णमालाका फूलहरू नै प्रयोग हुन्छ औ वर्णमालाबाट हटाउनु पर्दैन ।    

५. उपसंहार-

भारतले भाषा-साहित्यका लागि नेपालमुखी हुनुहुँदैन । भारतीय नेपाली विद्यार्थीहरूले भारतीय भाषा जस्तै हिन्दी, बांगला, असमिया आदि पढ्छन् । त्यसको प्रभाव हाम्रो भाषामा पर्छ । नेपालको भाषिक स्थिति अर्कै छ । भाषा परिमार्जन आन्दोलनहरू भारतबाटै शुरू भएका हुन् । यसले हामीले भारतीय नेपाली भाषाको स्वरूप भारतभूमि अनुरूप अध्ययन गर्नुपर्छ, जो यथावत् छ । अब यसलाई खल्बल्याउनु उचित हुँदैन ।

भारतमा नेपाली वर्णमालाको पढाइ प्रारम्भ भएको दिनदेखि नै कुनै समस्या भएको थिएन । यद्यपि पछिबाट भाषाविज्ञानमा दीक्षित भएकाहरूले भने भाषाविज्ञानको सिद्धान्तअनुसार भाषिक सुधारका नाममा वर्णामालालाई परिवर्तन गर्ने, दुई खालको वर्णमालाको कुरा गर्ने आदि कुरा गरेर भाषा लेखनलाई आम मानिसका निम्ति झन अपठ्यारो पारिदिएका छन् । दुई पक्ष माझ विवाद सिर्जना भएको छ । एक ठाउँमा बसेर यी दुवै पक्ष को विवाद सुल्झाउन सकिन्छ । वर्णमाला र केही वर्तनी विषयमा दुई खाले सिद्धान्तले गर्दा विद्यार्थी र आममानिस अन्योलमा परेका छन् । प्राथमिक र माध्यमिक तहमा एक प्रकारले तर उच्च अध्ययन तहमा भने अर्को प्रकारको वर्णको अध्ययन हुने गर्छ । एउटै नेपाली भाषाको यसरी दुई खालको वर्णमाला र वर्तनी देखिनुभन्दा एकरूपतातिर जानुपर्दछ । यद्यपि यी दुई खासै ठूलो विवाद नभएर प्रयोगमा वैकल्पिक बनाए विवाद टुङ्गिन सक्छ । नेपालमा जेजस्तो भए पनि कमसेकम भारतमा भने केही मौलिकताका आधारहरूलाई यथावत् राख्नु नै समयको आवश्यकता हो भन्दा अत्युक्ति नहोला ।

- - -

सहयोग लिइएका केही पुस्तकहरू

·     भारतीय  नेपाली भाषामा वर्तनीको मानकीकरण, दार्जिलिङ, नेपाली साहित्य सम्मेलन, २०२२ ।

·       नेपाली लेखन शैली, मैसूर, भारतीय भाषा संस्थान, २०११ ।

·       शिवराज शर्मा, भाषा वैज्ञानिक परिचय- नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेख, दार्जिलिङ, श्रीराज प्रकाशन, २००९ ।

·       कालेबुङ प्रस्तावना र यसका आधारहरू, कालेबुङ, उपमा प्रकाशन, २०१७ ।

·       गोकुल सिन्हा, देवनागरी लिपि तथा नेपाली वर्ण र वर्तनी (पुस्तिका), रङबुल, पाइन्स प्रकाशन, २०२४ ।

 

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

नवीन पौड्याल

लेखकको बारेमा

नवीन पौड्याल

थप रचनाहरू पढ्नुहोस् →

नवीन पौड्याल भारतीय नेपाली साहित्यका एक प्रतिष्ठित समालोचक, लेखक तथा प्राध्यापक हुनुहुन्छ । उहाँ दार्जीलिङ सरकारी महाविद्यालयको नेपाली विभागका पूर्व प्राध्यापक हुनुहुन्छ भने हाल कालेबुङस्थित पेदोङ सरकारी महाविद्यालयका प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.