साहित्यपोस्ट डट कम

भारतको ओडिशामा १२औँ कलिंग साहित्य महोत्सवमा नेपाली आवाजहरू

भारतको ओडिशामा १२औँ कलिंग साहित्य महोत्सवमा नेपाली आवाजहरू

काठमाडौं । साहित्य केवल शब्दको खेल होइन, यो सभ्यताको स्मृति र भविष्यको संकेत हो। यही चेतनाको साक्षी बन्न भारतको ओडिशा राज्यमा आयोजना हुने १२औँ कलिंग साहित्य महोत्सवमा नेपालका आठ सशक्त साहित्यिक आवाजहरू सहभागी हुने भएकाे छ।

नेपाली साहित्य, विचार र उद्यमशीलताको प्रतिनिधित्व गर्दै डा. विनोद चौधरी महोत्सवमा सम्मानित अतिथि तथा वक्ताका रूपमा उपस्थित हुनुहुनेछ । उहाँसँगै लोकप्रिय लेखक तथा पत्रकार धीरेन्द्र प्रेमर्षि, लेखक रोहिणी राणा, साहित्यकार तथा क्युरेटर एवम् काठमाडौँ केएलएफकी संस्थापक रञ्जना निरौला, उपन्यासकार सुमन वर्षा, पत्रकार विराट अनुपम, कवि रूपा झा र कवि केवोरा भट्टराई वक्ताका रूपमा सहभागी हुनुहुनेछ । विश्वव्यापी साहित्यिक संवादका १० भन्दा बढी सत्रहरूमा उनीहरूको सहभागिता रहनेछ भने दुई सत्र विशेष रूपमा नेपाली भाषालाई समर्पित हुनेछन्।

महोत्सवको उद्घाटन समारोहमा डा. विनोद चौधरीको नयाँ पुस्तक “Made in Nepal: Lessons in Business Building from the Land of Everest” विमोचन गरिनेछ। हार्पर बिजनेस इन्डियाद्वारा प्रकाशित यो कृति उद्यमशीलताको यात्रामा आधारित छ, जसले नेपालमै व्यवसाय निर्माण, लचिलोपन, विश्वव्यापी विस्तार र वाईवाई चाउचाउको सफल कथालाई केन्द्रमा राख्छ। यस पुस्तकमा लेखकले आफ्नो राजनीतिक अनुभव, उत्तराधिकार योजना र श्रम, प्रेम तथा जीवनभरको परिश्रमबाट बनेको व्यावसायिक साम्राज्यको भविष्यबारे पनि पाठकलाई आत्मीय ढङ्गले अवगत गराएकाे छ ।

८ देखि ११ जनवरी २०२६ सम्म भुवनेश्वरको मेफेयर कन्भेन्सन, मेफेयर लगुनमा सञ्चालन हुने यो प्रतिष्ठित महोत्सवले आफ्नो १२औँ वर्ष मनाउँदैछ। १० देश र २५ भन्दा बढी भाषाको प्रतिनिधित्व रहने यस उत्सवमा ५०० भन्दा बढी वक्ताहरू सहभागी हुनेछन्। जलवायु न्याय, महिला आवाज र पहिचान, कविता, अनुवाद, संस्मरण, कृत्रिम बुद्धिमत्ता, विज्ञान, कला, स्वास्थ्य र विश्वव्यापी संकटजस्ता समसामयिक विषयहरूमा गहिरो विमर्श हुनेछ।

यस वर्षको महोत्सवको मूल भाव “साहित्य र संसारः समावेशीकरण, पहिचान र सम्बन्ध” हो। यही भावनाको केन्द्रमा उभिएर कवि, लेखक, कलाकार र चिन्तकहरूको सामूहिक लयमा साहित्यले फेरि एकपटक संसारसँग संवाद गर्नेछ। कलिंग साहित्य महोत्सवमा नेपाली लेखकहरूको उपस्थिति केवल सहभागिता मात्र होइन—यो नेपाली साहित्यको अन्तर्राष्ट्रिय स्पन्दन हो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.