साहित्यपोस्ट डट कम

भारतीय नेपाली कथा : बनानी वनकी सुन्दरी

भारतीय नेपाली कथा : बनानी वनकी सुन्दरी

लघुकथा खोज्नु कहाँ जाने ? कहिलेकाहीं मिलिटेरी सर्कलमा रम पिउँदा लघुकथा खुद जम्दा छ । त्यही लोभले म पनि श्रोतावर्गमा सामिल हुने सौभाग्य प्राप्त गर्दा सुनेको कथा हो । हामी अर्थात् यहाँ श्रोतावर्ग नै भनूँ, क्याप्टेन राजकहाँ रम पिउँदै थियौं ।

क्याप्टेन साहेबले हातमा रमको ग्लास लिई, किञ्चित् गुलाबी भएर भन्दै थिए, ‘हाँ फ्रेन्डस् म केही कथा भन्छु – कथा शुरू हुन्छ यहाँ गोर्खाजीको प्रश्नको उत्तरमा – यहाँले मलाई सोध्नु हुँदैथ्यो कि मैले मीजो पहाडको जङ्गलमा छँदा

कुनै सुन्दरीलाई मन पराएको थिएँ कि नाहीं ?

लैनसेमी भन्ने एक अत्यन्त सुन्दरी केटीलाई मैले मन पराएको थिएँ । खेद छ पछि विप्लबीहरूले उनीहरूको विरुद्ध जासुसी गरी भन्ने कुरा सन्देहले गर्दा मारी पठायो । ऊ थिई निरपराधिनी, याने हाम्रो फौजी बोलीमा बेकसुर ।

उसको पहेंलो वर्ण, लामो चूल, हाँस्दा गालामा डल्लो परेझैं हुने — और नजाने के के गुण थियो । लैनसेमीको अर्थ थियो ठूली ! हाँ गाउँभरिमा सौन्दर्यमा उनी सबभन्दा ठूली थी । केश लामो थियो ।

म कलशीमा इनचार्ज थिएँ । लैनसेमीलाई त्यतिखेर मैले भेटेथें । मन पराएथें । उसको छोटोछोटो वाक्यहरूले मलाई प्रभावित पारेथ्यो, जस्तै राती बिदा हुने बेलामा सधैं भन्थी, “माङथ्रा” अर्थात् सुन्दर सपना देख्नुहोला । “दामता किन” (शुभरात्रि, बिदा) ।

अनि स्वाभाविक रूपले मैले सपनामा कहिलेकाहीँ त्यो हर्दी रंगकी गोरी मीजो युवतीलाई देख्दथें – मेरो अङ्ग-प्रत्यङ्गमा नयाँ शक्ति नयाँ प्राण सञ्चारित हुँदथ्यो ।

अद्भुत आरण्यमा अद्भुत सुनौलो माकुरा जाल टल्किरहेझैं लाग्दथ्यो, तथा म त्यसमा बडो बेग्लै हाँसिनु जानु लागेझैं भान हुन्थ्यो ।

छक्क पर्थे यसको अन्त कहाँ, कसरी होला ?

लैनसेमीले मलाई भन्थी, ‘तपाईंको आमा-बाबु, भाइ-बैनी, मेरो पनि त बाबु-आमा भाइ-बैनी हुन् । मेटाउन लानुहोस् न ! तर मलाई पनि दार्जीलिङ हेर्न मन लागेको छ – मलाई पनि सँगै लैजाऊ ।’

यसो भन्दा पनि उसलाई नलगी एक फेर म एक महीनाको लागि गएथें । फर्कंदा आइजलदेखि ट्रक र बसमा यात्रा गर्दै कलशी जाने त्यो गाउँमा रात बिताएर बिहानै पैदल हाम्रो क्याम्पतर्फ जानु भनी मीजो हिल्सको शीत ढाक्ने च्यादरले टाउको ढाकी, त्यो उकालो बाटो जहाँ पावर हाउसको इलेक्ट्रिक खाँबो थियो र छेवैमा इलेक्ट्रिकको के बाकस जस्तो थियो त्यसैको छेउमा उभिई सिग्रेट फुक्दै थिएँ- यो मीजो पहाडको मनोरम प्राकृतिक सौन्दर्यले गर्दा हाम्रो दार्जीलिङको हरियाली, पर्वत हिउँ कश्चनजङ्घाको स्मृति हरियो पार्दथ्यो । यस्तो वातावरणमा मेरो सुदीर्घं केही, पातको हर्दी रङ्गकी चपला सुन्दरी बनानीलाई सम्झी भन्न लागिरथें (लेनसेमीलाई मैले बनानी भनी आदर गर्दथें ।) :-

पहेंली मेरी बनानी

परदेश पान्थ निवासकी

नीलो पर्वत झैं लाम केशी षोडशी !

म मतवाला, तिम्रो अस्पृश्य रूपको ! आजु फर्की आएको छु

तिम्रै दर्शन माङी

तर एउटा कुरा जानी राखे है

मतबाला म हैन

निशारे म हैन

मतबाला मदमस्त झैं भएर आउँदछन्

निराश प्रेमीवर्ग

आफूले मन पराएको केटी कहाँ

त्यसै भनेर म पनि…..

यस्तै कविताको लहर कति जाग्ने थियो जान्दिन तलतिर बाटो कसैले एक्कासि “कापू” भनी डाके झैं सुनें मिजो भाषामा कापू भनेको “महाशय” अथवा “श्रीमान्” भनेको हो ।

झसङ्ग भएर हेरें । यो नारी कण्ठमा श्रीमान् भनी सम्बोधन गर्ने को रहेछ ता भनी हेर्दा – देखें त्यहीं एकदमै छेवैमा रहिछ लैनसेमी उर्फ मेरी बनानी ! तर यो क्या रातो अनार झैं अनुहार बहुत दिनसम्म च्याप्टिएर कुहेको सुन्तोला कुल्यात्त परेको, कविता जगाउने दीर्घ केशको ठाउँमा चिल्लो कुभिण्डो झैं टाउको ! अचम्म लाग्यो मीजो सुन्दरीको यो हाल देख्दा !

सोधें, “तिमी को हो ? किन यस्तो अवस्थामा बसेकी ?”

नभने पनि होला, किञ्चित् रीस, किञ्चित् गुनासो मनमा जागेकै थियो ।

उसले भनी, “मान्यवर, मलाई चिन्नु भएन र ? म लैनसेमी हूँ-तपाईंकै बनानी !…”

तब मैले सोधें, “अरे तिम्रो यस्तो हालत कसले गरायो ? त्यसलाई म यो पिस्तौलको एकै गोलीले खतम पार्नेछु !”

वर्तमान लैनसेमी अथवा जुठो बनानीले भनी, “एमनेफले (वा विप्लवी- दलले) ! तर मलाई डर लाग्दछ कि ती मेरो सतीत्वको, स्वास्थ्यको, भविष्य- नाशको, डाँकूहरूको नाउँ पोल मैलेनै हालें भनी चाल पाए मलाई, हाम्रो परिवारका जम्मैलाई जीउँदो रहनदिने छैनन् ।”

मैले भनें, “बनानी, हामीलाई तिनीहरूको क्याम्प कहाँ छ बताइदेऊ हामी सिकीउरिटी फोर्स हौं । हामीले तिनीहरूलाई समाती कानूनको हातमा दिनेछौं – यो इलाकामा शान्ति कायम राख्न भनी भारत सर्कारले हामीलाई यहाँ ल्याएका हुन्— हाम्रो चेहेरा हेर्नु ल्याएका छैनन् !”

लैनसेमीले म्लान हँसी हाँसेर भनी, “त्यो त जान्दछु प्रिय तर ती डाँकूहरूले कसको घरमा कतिवेला कस्तो छद्मवेषमा आएर डाँका हाल्छन् तपाईंहरूले पो के गर्न सक्नुहुन्छ – फेरि ग्रामवासी डराउँछन् !

मलाई आँखा बानेर झाइँकुटी पार्दै लग्यो–ल्याइदियो — कुन दिशा हो पत्तो छैन । विहान लगेको, रात झमक्क हुँदा पुगेथ्यौं यस्तै २०।३० मएल !

रूखपातले छाएको दैलो छ, दैलोको बायाँ तर्फ अगेना छ – दाइना तर्फ बन्दुकहरू छन्, पछिल्तिर मचाङमाथि थाकका थाक गोलीका बाकसहरू छन् ।”

यति भनी कलसी सकेपछि कलशी जाऊँ छिटो भनी अनि “बाटो हिंड्नु शरम लाग्छ” भन्दा मैले पट्टाएर कान छोपेको च्यादर लेनसेमीलाई दिएँ र उसले उसको नाङ्गो टाउको ढाकी (भरिया पर्खनु परेन) उसैले मेरो भारीको कुछ

हिस्सा बबकी दिई, कुछ मैले हातमा लिई हाम्रो क्याम्प पुग्यौं ।

दिउँसोको खाना पीना खिलाई उसलाई उसको बाबु-आमा कहाँ पुर्‍याइदिएँ । एकछिन त रुवाबासी भयो — आनन्द अश्रु प्रवाहमा तिनीहरू बोलेको दुई एक शब्द बुझिन्थ्यो- “ओह तँ ता मरिस् पो होला भनी ठानेथ्यौं । कठै नानी तेरी आमा तेरो सुर्तामा मर्न आटेकी थी । जाती भयो तेरो क्याप्टेन साब भेटिस् । अच्छा तिमी दुई कुरा गर । म पछि अरू कुरा सोधुँला ।” भनी उसको आमाबाबु अगेनातर्फ लाग्यो ।

लैनसेमीको बयानबाट उसको त्यस हालत कसरी भएथ्यो सो यस प्रकार थियो: म दार्जीलिङ तर्फ रवाना भएको दुई दिन कि तीन दिन हुँदा एक बिहानै झुलमुलमा, विप्लवीहरूको एक टोली हात हतियार लिई लेनसेमीको घरमा आई पिस्तौल बन्दूक ताकी जबर्जस्ती लैनसेमीलाई समाती लगे घरमा बूढी आमा मात्रै थिइन्, बाबा आइजल जानु भएथ्यो !……

मेरो मुख बाँधी तान्दै निकाल्यो – आमा बूढी बिचरी पछिपछि गाउँको सीमानासम्म गई । तर डाँकुहरूले ‘तँ बूढी जा ! तेरो छोरी एक महीनापछि आउँछ’ भनी घचेटी पठाए । आमा कराउनु खोज्दा पार्टीको नायकले बन्दूक ताकी मार्नु धम्की दिंदा आमाले कराउन बन्द गरिन् । हामी गएपछि खूब रोई होली । डाँडा काटिन्जेलसम्म मैले फर्कीफर्की आमालाई हेरी बसेकी थिएँ । आमा प्रस्तर मूर्ती झैं निश्चल उभिरहेकी नै थिइन् ।

गाउँको सीमाना काटेपछि दुष्टहरूले मलाई तिनीहरूको बोझ (रूकशाइट) को भारी झुण्डाइदियो तथा आँखा लुगाले नदेखिने गरी बाँधिदियो । दुई तर्फ दुई जवानले समाएर झुऐंकुटी गर्दै लग्यो ! प्रायः दुई घण्टा जति गएपछि एउटा पुल पुगिएछ- मलाई बोकेर पार गर्‍यो, निकाल्यो सबैले खाए ।

मलाई पनि पारीपट्टि लगेर रूकसाइट खोली खाने कुरा दिए । यसपछि मलाई लुट्यो ! हात खुट्टा बुट्टामा बाँधी चित पारेर सुतायो । यन्त्रणाले छटपटाएँ । कराउनु सक्दिनथें । एक एक गर्दै सबैले पाशाबिक वृत्ति चरितार्थ गरे ! त्यहाँपछि हिँडाइ शुरू भयो । मेरो अनभ्यस्त खुट्टा फुलेर हिंड्नु सकिनँ । यिनीहरूले कतै हिँडाए, कतै लाश बोकेझैं चाङ्गामा बाँधेर लग्यो !

राती झमक्क पर्न लाग्दा केम्प पुग्यो – मेरो आँखाको बन्धन खोलिदियो ! बाटैबाट मेरो सतीत्व हरिएकोले, वेदनाले गर्दा मलाई कामज्वरो छुट्यो । त्यस्तो हालतमा पनि मलाई पानी भर्नु जा भन्दै थियो तर हिंड्नु नसकेको देख्दा तिनीहरूले नै पानी भरी ल्यायो ! भात पकाई दिएँ बसीबसी । मैले केही खानु सकिनँ । ती डाकूहरूले भने, “हैं यसरी पहिलेनै हाम्रो मद्दत गरिदिएकी भए हामी यति दुःख दिने थिएनौं !”

तिनीहरूको कुरा मुताविक सबै केटीहरूले एकएक महीना विप्लबीहरूको मद्दत गर्द्युँला भनी हस्ताक्षर भएको थियो रे ।

यस्तै प्रकारले लाठे स्वाँठहरूको पाशविक तृष्णा निवारण गर्दै, पानी भर्नु, भात पकाई खिलाउनु इत्यादि गर्दै एक महीना काटेपछि मेरो छुटकारा पाइने दिन आइपुग्यो !”

“के भागेर आयौ ?” मैले सोधें ।

“नहीं,” लेनसेमीले भनी, “तिनीहरूका दलका सर्दारले भन्यो – आजु लुगा फाटा धुनु; भोलि तिमीलाई पुर्याइदिनेछौं ! जब जङ्गली साबनले (चिप्लेको बोक्रा जस्ताले) आङ मिचीमिची नुहाएँ । खरानीको रसले लुगा छुई ठीक पारें ! लुगाफाटा उता सुक्द थियो, एता यिनीहरूका (फौजका हजाम रे) एक जनाले मेरो चूल मुढ्याइदियो । यो चूल मुढ्याउँदा तपाईंलाई सम्झें— कारण तपाईंले यो केश सारै मन पराउनु हुन्थ्यो !

फर्कने यात्रा पनि उही प्रकार आँखा बाँधी पुलमा बोकी समाप्त भो । मात्र पाशविक भोग चाहि भएन, बाँकी हिंडाइँ बेसी पर्‍यो । हिजो राती त्यस ठाउँमा आइपुगेर आँखाको बन्धन खोली यो ठाउँ चिन्दछस्, अब जानु सक्छस् भन्दा, चिन्छु, सक्छु भनें र ती दुष्टहरूले मलाई यहीं छोडी फेरि बनमा पसे ।

राती सारै थाकेकोले सुत्ने बित्तिकै निदाइहालें ।

बिहानै उठी मुडिएको टाउको लुकाउनु केही वस्तु नहुँदा चेप्पे लागी बसेथें । तपाईंलाई देखी बोलाएकी हूँ ! तपाईंले दया गरी च्यादर दिई मेरो लाज राख्नुभयो ।”

लामो सास फेरेर लैनसेमीले मेरो नजर तर्फ हेर्दै भनेकी थी, “प्रिय तपाईंलाई जरूर बहुत रीस उठेको होला । तर के गर्नु देह मेरो अपवित्र भयो । तपाईंले मन पराउनु भएको दीर्घ केश मुडियो । तर मन त मेरो जस्ताको तस्तै छ । तपाईंकै थिएँ, तपाईंकै छु, तपाईंकै रहनेछु ! के तपाईंले मलाई उत्तिकै माया गरिरहनु हुनेछ ?”

प्रश्न कठिन थियो । एक मनले सोचें नहीं भनेता पनि यो यौवन यो सौन्दर्यको ग्राहक कम हुने छैन । हाँ भनूँता कसरी यस्तो जुठो स्त्री हाम्री आमाकी बुहारी बनाउनु ?

तर झट्टै भनेछु — “लैनसेमी ! तिम्रो अपराध छैन । तिमी निरपराधिनी छौ । त्यसपछि अंग्रेजी गीतको एक चरण दोहोर्याएँ – When your hair turns to silver I shall love you as today ? बनानी तिमी बिहानको शीतको थोपा झैं पवित्र छौ । मेरो माया सधैं रहनेछ !”

त्यसपछि म निस्केर आएँ ! मेरो बनानीले सतीत्व चोरिएकोले उहिले झैं नै मीठो सोरले भनी “माङथ्रा !”

नजाने सुन्दर सपना देखे कि के के देखे हुन्, तर हाम्रा क्याप्टेन साहबलाई “सधैं माया रहिरहने” लाई धन्यवाद नदिई सकिएन किनकि उनको प्रेयसी जुठो भए पनि ऊ थिई निरपराधिनी !

कथा सुन्ने हामी सबैले अन्तिम डोज लिई रमको ग्लास उचाली फेरि एक

एक फेर क्याप्टेन साहबलाई “चियर्स” ठोकायौं !

-नागाल्याण्ड

‘भारतीय नेपाली कथा’बाट

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.