साहित्यपोस्ट डट कम

भारतीय नेपाली कथा : अब म पढ्दिनँ आमा (२१)

भारतीय नेपाली कथा : अब म पढ्दिनँ आमा (२१)

महेशलाई आज अचानक पुर्खाहरूले भनेको सम्झना आयो – “पढीगुनी के काम, हलो जोती खायो माम” ऊ गुन्दै थियो- “हो, यो सत्य रहेछ, काँचो सत्य ।“

महेशकी आमाले ऊ जन्मँदा उसको सुकोमल शरीरलाई स्पर्श गर्दै, गुलाबी गालीलाई लाखन्वार चुम्बन गर्दै कति कति कल्पना गरेकी थिइन् होली । तर सपना र बिपनामा कत्रो भिन्नता ! त्यो कल्पना सपनै थियो । यहाँ कत्रो कत्रो परिकल्पना त झुटो तुलिन्छ भने उसकी आमाको त्यो नादान कल्पना असफल प्रमाणित हुनु के अस्वाभाविक थियो र ? अस्तु –

महेश पढ्यो । प्रवेशिका सिद्ध्यायो । तब पास भएको आनन्दमा खूब हाँस्यो, खुशी भयो । आमाको हर्षको सीमा थिएन । त्यस समय उसको कोमल हृदयमा कति बढे बढे भावनाले घर बनाएको हुँदो हो । तबै त आमाले उसलाई जबर्जस्ती कालेज पढ्न बाध्य गराइन्, त्यो महेशलाई त्यस समय थाह भएन । आई.ए. परीक्षामा उत्तीर्ण हुँदा आमाको चाउरिँदै गएको मुहार खूब चम्केथ्यो ।

परीक्षामा उत्तीर्ण भएको पहिलो आनन्द सेलाउँदै गयो । कोही साथीहरू अझ पढ्न जान लागे, कोही कता गए, कोही कता । पढ्नमा रुचि बढेकोले अझ पढ्न पाए हुन्थ्यो भन्ने महेशको लालसा थियो । आमाको पनि त्यही विचार थियो । अतः महेशलाई उनले आग्रह गरिन् । उसलाई के खोज्छस् कानो आँखो ? आँखा भयो । ऊ कलेज भर्ना भयो । अब दुई वर्षपछि ऊ ग्र्याजुएट हुने रे !

ऊ सोच्न लाग्यो – “दुई वर्ष खूब घुँडा धसुँला, अनि त डिप्लोमा लिएर निस्कुँला । समाज र घरमा मेरो उच्च स्थान होला, असल काम फेला पर्ला, घरको शान फिर्ला अनि निर्धक्क जीवन बित्ला ।” यी सब कल्पनाले बारम्बार महेशको मानसपटमा कुतकुती लाउने गर्थ्यो ।

कलेज अझ दुई वर्ष पढेपछि उसलाई संसार चिने झैं लाग्यो । इतिहास; राजनीति, अर्थशास्त्र र साहित्यका बढे बढे पुस्तकहरू अध्ययन गर्‍यो । संसारका अनेक विषयहरू लिएर उसको सानो मगज घुम्न लाग्यो । यसरी दुई वर्ष बित्यो ।

बी.ए. परीक्षा सिद्धियो केही महीनापछि । उत्तीर्ण खबर आयो । खुशीले ऊ आकाश आकाश नाची हिँड्यो ! घरमा सब खुशी थिए, महेशकी आमाको महेश जन्मँदा देखिको आशा र कल्पना तब पूर्ण भयो ।

महेशकी आमा असक्त भइसकेकी थिइन् । घरको केही कमाइ थिएन । भाइलाई पढाउनै थियो । दिदीको विवाह भएको थिएन । बुबा ओछ्यानमा सिकिस्त लडिरहेथे । तर महेशको आमा निश्चिन्त थिइन् छोरोले बी.ए पास गर्‍यो शायद उनी गाउँमा अरूलाई भन्दी हुन्- “मेरो छोरोले बी.ए पास गर्‍यो, बुझ्यौ ? बी.ए पास गर्नु कत्रो बुद्धि चाहिन्छ । अब ठूलो अफिसरबाहेक सानोतिनो काम त सरकारले नै दिँदैन, इत्यादि ।“

आजसम्म घर कसरी चल्थ्यो, त्यो महेशलाई अलिकता पनि थाहा थिएन । तर अब उसले पास गर्‍यो, उसले काम उठाउनुपर्छ, घरको सब भार उसका टाउकोमा छ । त्यो थोत्रो घरको आशाको एउटै किरण ऊ थियो । अब ऊ काम खोज्न निस्क्यो । बी.ए पासले सजिलैसँग काम पाउनुपर्छ उसको विचार थियो । कति चेष्टा गर्‍यो, तर असल काम उसको भाग्यमा जुरेन ।

यसै नहोला भनी उसले ‘ईम्प्लाईमेन्ट एक्सचेन्जमा’ नाम दर्ता गर्‍यो । आफ्नो भएभरको सटिफिकट देखायो । त्यहाँबाट केही खबर आउला कि भनी कति पर्ख्यो । तर केही पत्तो भएन । त्यो सब देखावट रहेछ – ऊ बुझ्न लाग्यो । आशाको क्षीण प्रकाश कहीं देखिएन अनि ऊ हताश भयो ।

महेशले जसोतसो घरमा आश्वासन दिइरहन्थ्यो, तर बिस्तार बिस्तार चारैतिर शंकाको बादलले ढाक्न लाग्यो । ऊ दुई तीन ‘इन्टरभ्यू’ मा पनि बसे, तर पत्तै भएन ।

ऊ छक्क पर्‍यो । लाखौं आशाको दीप जलाएर बी.ए पास गरेको, उसकी आमाको कस्तो कल्पना र सपना थियो । तर ऊ चाहिँ घरको यो अवस्थामा हात बाँधी बस्ने ? यी सब सम्झी उसको हृदय उकुसमुकुस भई आयो अनि बिचार्न लाग्यो- “होइन होइन केही गर्नैपर्छ । तर संसारले बुझेन, यो का… सरकारले जानेन । म भोको बस्नु, बी.ए पास गरेर जस्तो कि बी.ए पास त बाटोमा पाइन्छ, यो नालीको भात हो- त्यसै टिपिन्छ । यो ढुंगा हो, माटो हो जताततै भेटिन्छ । हे भगवान् यो कस्तो देश, कस्तो संसार ? अब के गर्ने ? तर भोकै त बस्न सकिँदैन । बरु पटक्क नपढेको भए कुल्ली काम गरिन्थ्यो । तर डिग्री लिएर यस्तै हो ? किनारीसम्म पनि नपाइने ?” यी सब सम्झेर उसको हृदय रोएर आयो, मुटुमा गाँठो परे झैं भयो, हृदय जोडले चल्न थाल्यो अनि रिसले उसलाई संसार नै भस्म गरिदिऊँ जस्तो लाग्यो ।

अन्तमा महेश घर, गाउँ औ शहर छाडेर टाढा गाउँको बाटो लागे गुरुगिरी गर्नलाई । मासिक वेतन सय रुपियाँ पाउँथे । आफ्नो खान–पिउन सब बन्दोबस्त मिलाएर पचास रुपियाँ आमालाई पठाइदिन्थे । जुन पचास बाबुले कुल्ली कामै गरेर सहजै कमाउँथे, आमाले भाँडा माझेर अझ बढ्ता कमाउँथिन् । त्यही पचास उनीहरूको बी.ए पास छोरोले घर गाउँदेखि टाढा गएर कमाउँछ । महेश यो सम्झी विरक्त हुन्थ्यो । तर बिचरालाई दाँत किटेर बस्नुपरेको थियो ।

दुई वर्षपछि सब शिक्षकहरूले बी.टी. पास गर्नुपर्छ भन्ने सरकारी खबर आयो । बी.ए. लाई काम दिन नसक्ने यो सरकारलाई अब बी.टी. पनि पढेको मान्छे चाहिन्छ भन्ने समाचारले महेश मनमनै हाँस्यो । त्यस हँसाइमा ठूलो रहस्य थियो, तर साथीहरूले त्यो बुझेनन् ।

महेश आमासँग सल्लाह गर्नलाई घर आयो । “आमा बी.टी. पनि पढ्नुपर्छ’ रे, अनि मात्र १५०) पाइने’ रे।”

आमाले केहीबेर सोचेर सोधिन् -“दुई वर्षे लाग्छ ? खजाना कत्ति ?”

“अब म पड्दिनँ आमा !” त्यतिन्जेल महेशको रगत उम्लिसकेथ्यो । उसलाई मुटुमा कसैले थिचिदिए जस्तो लाग्यो । कसैले गला निचोरिदिए झैँ उसको सास थुनियो । त्यस्ती सुधी आमालाई उसले ठग्न परिरहेथ्यो । त्यो बूढी आमालाई दलाएर ऊ अझ पढ्नुपर्ने थियो । यो उसलाई असह्य लाग्यो । उसको चित्त पटक्क बुझेन । कता कता ग्लानि लाग्यो, आफ्नो जीवनलाई धिक्कार सम्झे । तब मनमनै बिचार्न लागे- “के बी.टी. पास गरेर पनि घर पाइएला ? तब फेरि एम.ए पास गर्नुपर्छ भन्ने खबर आउला । विद्या अब विद्याको नीति रहेन । चाकरीकै निम्ति रह्यो । चाकरीकै निम्ति मात्र पास गर्नुपर्ने ? कहाँ गयो सचाइ, धर्म, आदर्श सब ?” अनि उसको हृदय रोएर आयो । आमा वाल्ल परी उसलाई हेरिरहेकी थिइन् ।

महेशले आज यत्ति पढेर मात्रै पनि यो अत्याचारको चेतना पायो, अन्याय, दमन र शोषणको ज्ञान पायो । ऊ अझ पढ्ला अनि अझ बुझ्ला, यी चोरहरूको मनमानी, अत्याचार र बेइमानी । अझ पढ्ला अनि रन्किएको भुँवरीमा आफ्नै यज्ञ देख्ला ।

तब वाल्ल परिरहेकी आमालाई उनले छोटो जवाफ दिए- “अब म पढ्दिनँ आमा !”

अनि उसका आँखाबाट अप्रत्याशित अश्रु-बिन्दु लडे । बुवा ओछ्यानमै खोक्दै थिए । दिदीको उमेर ढलिसकेथ्यो । भाइ स्कूल खजाना मागिरहेथ्यो । चूह्लामा गुन्द्रुक उम्लँदैथ्यो ।

(‘भारतीय नेपाली कथा’ संग्रहबाट)

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.