भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक भएको छ। दार्जिलिङस्थित रिदम रेकर्डिङ्सको प्रस्तुतिमा तयार भएको उक्त एल्बम दार्जिलिङकै संगीतकार जीवनप्रकाश प्रधानको एकल संगीतमा निर्माण गरिएको हो।
गजल एल्बम ‘मतला’मा गजलकार राधा कणेलका तीन, रश्मि असफल र घनेन्द्र ओझाका दुई–दुई गजल समावेश छन्। एल्बममा दार्जिलिङका तीन तथा नेपालका दुई गरी पाँच जना गायक–गायिकाले स्वर दिनुभएकाे छ । दार्जिलिङका रजनी ऋदम राई, इस्माइल दास, सृष्टि आचार्य प्रधान तथा नेपालका शिव परियार र निशा देशारको आवाज एल्बममा समेटिएको छ।
शनिबार काठमाडौँमा आयोजित एल्बम सार्वजनिक कार्यक्रममा ‘मतला’माथि समीक्षा गर्दै विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले ‘नेपाली गजल गायनको स्वर्ण दशक (वि.सं. २०८०–२०९०)’ अभियानअन्तर्गत भारतबाट पनि नेपाली गजल एल्बम आउनु गजल गायनको व्यापकता र विस्तारको संकेत भएको बताउनुभयाे । उहाँले ‘मतला’ साङ्गीतिक हिसाबले सुन्दर र सशक्त रहेको उल्लेख गर्दै, “संगीतको भाषा र भूगोल हुँदैन, संवेदना छुने संगीत विश्वव्यापी बन्छ,” भन्नुभयाे । श्रेष्ठले यस एल्बमले नेपाली गजल गायनलाई अन्तर्राष्ट्रियकरण गरेको धारणा राख्नुभयाे ।
अर्का समीक्षक गजलकार, गीतकार तथा संगीतकार करुण थापाले गजलले संगीतको श्वास पाएपछि मात्र जीवन्त बन्ने उल्लेख गर्दै ‘मतला’मा समावेश गजलहरू शब्द, संगीत र गायन तीनै दृष्टिले सशक्त रहेको बताउनुभयाे । नेपाली गजल गायन अभियानले तीव्रता लिइरहेका बेला देशबाहिरबाट पनि एल्बम आउनु खुसीको विषय भएको उहाँको भनाइ थियो।
गजलकार राधा कणेलले एल्बम निर्माणका क्रममा संगीतकार प्रधानको साधना, मिहिनेत र परिष्कृत संगीत दृष्टिकोणले ‘मतला’लाई विशिष्ट बनाएको बताउनुभयाे । गजलकार रश्मि असफलले आफू दुई दशकभन्दा लामो समयदेखि गजल लेखनमा सक्रिय भए पनि संगीततर्फ हालसालै आकर्षित भएको सुनाउनुभयाे । उहाँले गत पुस २७ गते आफ्नै शब्दमा सन्तोष श्रेष्ठको संगीतमा झापामा ‘रश्मि गजल गुञ्जन’ एकल गजल गायन सम्पन्न भएको जानकारी पनि दिनुभयाे ।
गजलकार तथा गजल अभियन्ता घनेन्द्र ओझाले ‘नेपाली गजल गायनको स्वर्ण दशक’ अभियान देशको सीमाभन्दा बाहिर फैलिइसकेको उल्लेख गर्दै सबैलाई अभियानमा जोडिन आग्रह गर्नुभयाे । “अब हामी भारतसम्म आइपुगेका छौँ, भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ आइसकेको छ,” उहाँले भन्नुभयाे ।
संगीतकार जीवनप्रकाश प्रधानले चार दशकभन्दा बढी समयदेखि संगीतमा सक्रिय भए पनि आफूलाई सधैँ विद्यार्थीझैँ ठानेको बताउनुभयाे । गजल संगीततर्फको आफ्नो यात्राको शुभारम्भ ‘मतला’बाट भएको उहाँको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले ‘मतला’ले नेपाली गजल संगीतको क्षेत्रमा विशेष अर्थ र महत्त्व बोकेको बताउनुभयाे । शब्द, संगीत र स्वरको सन्तुलित संयोजनले गजल उत्कृष्ट बन्ने उल्लेख गर्दै उहाँले एल्बमका गजलमा ती गुण रहेको बताउनुभयाे। बरालले नेपाली गजल संगीत नेपाली माटो, भाषा र संस्कृतिअनुसार नै विकसित हुनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
अनाममण्डलीको आयोजनामा सम्पन्न कार्यक्रमको व्यवस्थापनमा लभ एन्ड सपोर्ट फाउन्डेसन, नेपालले सहयोग गरेको थियो। कार्यक्रमको सभापतित्व अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले गर्नुभएकाे थियाे भने सहजीकरण ज्ञानु विद्रोहीले गर्नुभएकाे थियाे ।

