काठमाडौँ । तनहुँको भानु नगरपालिका–४ चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ शिलान्यास गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यानको शिलान्यास गर्दै यस क्षेत्रलाई नेपाली भाषा–साहित्यको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने पहलको सुरुवात गर्नुभएकाे हाे ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई केन्द्र बनाएर निर्माण हुन लागेको यो उद्यानलाई सप्तधाम अवधारणासहित बहुआयामिक साहित्यिक तथा सांस्कृतिक स्थलका रूपमा विकास गरिने योजना रहेको छ ।
सरकारले तत्कालीन अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत २०८१/८२ को बजेट वक्तव्यमा नै चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाका प्रतिमा तथा साहित्यिक संरचना निर्माण गर्ने उल्लेख गरेको थियो । सोही आधारमा संघीय सहरी विकास मन्त्रालयबाट यस वर्ष २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
भानु नगरपालिकाका प्रवक्ता ईश्वरबहादुर घिमिरेका अनुसार पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण गरिनेछ । त्यसपछि सातै प्रदेशका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदाका नमूना संरचना, साथै नेपाली साहित्यका प्रमुख स्रष्टाहरूका सालिक स्थापना गर्ने योजना रहेको छ । नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार गुरुयोजनाअनुसार सम्पूर्ण परियोजनाको लागत करिब एक अर्ब रुपैयाँ अनुमान गरिएको छ । हालसम्म करिब ४ सय रोपनी जग्गा प्राप्त भइसकेको छ भने प्रारम्भिक चरणका पूर्वाधार निर्माण सुरु भइसकेको छ ।
परियोजनाअन्तर्गत शिखर कटेरीदेखि रम्घा डाँडासम्मको सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने तथा ५४ फिट अग्लो आदिकवि भानुभक्तको विशाल प्रतिमा निर्माण गर्ने योजना पनि समावेश गरिएको छ ।
हालसम्म भानु साहित्य उद्यानमा करिब १ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । परियोजना पूरा भएपछि चुँदी रम्घा नेपाली साहित्य, भाषा र सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

