स्याङ्जा । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–६, फापरथुमस्थित आनन्दआश्रममा साहित्यिक समारोह सम्पन्न भएको छ ।
आनन्दआश्रम ज्ञान केन्द्रद्वारा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष दीप्तिनारायण शर्माको सभापतित्व तथा साहित्यकार जगन्नाथ सापकोटाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको शुरूमा संस्थाका सदस्य इन्द्रमणि ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि सापकोटाले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । उहाँले आनन्दआश्रम ज्ञान केन्द्र तथा यसको संस्थापक–संरक्षकले साहित्यको उत्थानका लागि पुर्याएको योगदानको पनि प्रशंसा गर्नुभयो ।
संस्थाका सदस्य तथा ‘कविता कसरी लेख्ने ?’ विषयमा प्रशिक्षण सञ्चालन गर्दै आउनुभएका हिमलाल पुरीले झ्याउरे लय र अनुष्टुप छन्दबारे पुनः चर्चा गर्दै भानुभक्तलाई समर्पित कविता वाचन गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी विपसा विकले कविता वाचन गर्नुभएको थियो भने संस्थाका उपसचिव खेमनारायण लामिछानेले भानुभक्तको स्मृतिमा रचना प्रस्तुत गर्नुभयो । कवि ठाकुर ढकालले आनन्दआश्रममा भइरहेका साहित्यिक गतिविधिको प्रशंसा गर्दै आफ्ना कविता सुनाउनुभयो ।
संस्थाका संरक्षक त्रिलोचन ढकालले आदिकवि भानुभक्तको नेपाली साहित्यमा रहेको योगदानबारे प्रकाश पार्दै संस्थाका वर्तमान गतिविधि र भावी योजनाबारे जानकारी गराउनुभयो ।
कार्यक्रमको समापन गर्दै सभापति दीप्तिनारायण शर्माले भानुभक्तप्रति समर्पित कविता वाचन गर्नुभयो । साथै, आगामी साहित्यिक कार्यक्रम २०८३ साउन २३ गते आयोजना गरिने जानकारी दिँदै समारोह समापन भएको घोषणा गर्नुभयो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव दोलराज ढकालले गर्नुभएको थियो ।

