रूपन्देही । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको २२औँ शृङ्खला तथा भानुभक्तको भाषिक योगदानमाथि अन्तरक्रिया सम्पन्न भएको छ ।
शनिबार तिलोत्तमा–१, ड्राइभरटोलस्थित शहीद गङ्गालाल पुस्तकालयमा आयोजित कार्यक्रम प्रतिष्ठानका अध्यक्ष डा. मुरारि पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो । ‘तिलोत्तमा प्रतिष्ठानको पहिचान : स्थानीय भाषा, कला तथा संस्कृतिको उत्थान’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बुद्धिसागर भट्टराई, लक्ष्मण ज्ञवाली, खगेन्द्र बस्याल, उद्धव देवकोटा, मोहन मरासिनी, सन्देश पाण्डेय, सङ्गम अनुरागी, श्रीराम नेपाली, शिव डुम्रे, गुरुदत्त ज्ञवाली, ढालानन्द चालिसे, हरि देवकोटालगायतका स्रष्टाले कविता तथा अन्य विधाका मौलिक रचना वाचन गर्नुभएकाे थियाे।
सो अवसरमा साहित्यकार डा. मुरारि पराजुलीले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै नेपाली भाषाको विकास र भाषिक एकीकरणमा उहाँले पुर्याएको योगदानको विश्लेषण गर्नुभयो । साथै वाचन गरिएका रचनामाथि समीक्षा गर्दै साहित्यिक साधना र यस्ता नियमित साहित्यिक सत्सङ्गले सिर्जनालाई दीर्घजीवी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शहीद गङ्गालाल पुस्तकालयका सदस्य–सचिव लक्ष्मण ज्ञवालीले पुस्तकालयको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभयो । पुस्तकालयका आजीवन सदस्य ईश्वरीप्रसाद न्यौपानेले तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन कवि उद्धव देवकोटाले गर्नुभएको थियो । उहाँले तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार दिउँसो २ बजेदेखि नियमित रूपमा सञ्चालन हुने जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठान तिलोत्तमा नगरभित्र स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय संस्थाका रूपमा परिचित छ ।

