साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

भानुजयन्तीमा ‘दोलखा साहित्य यात्रा–७’ विमोचन

भानुजयन्तीमा ‘दोलखा साहित्य यात्रा–७’ विमोचन

जीवन लामा

दोलखा । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा ‘दोलखा साहित्य यात्रा–७’ साहित्यिक कृतिको विमोचन गरिएको छ ।

दोलखा प्रज्ञा–प्रतिष्ठान र भानु–विद्यापति साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा प्रकाशित कृतिको विमोचन भानुजयन्ती विशेष समारोहबीच सम्पन्न भएको हो ।

कृतिका सम्पादक चिरञ्जीवी मास्केका अनुसार प्रत्येक वर्ष असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा ‘दोलखा साहित्य यात्रा’ प्रकाशित हुँदै आएको छ । यस वर्ष प्रकाशित सातौँ संस्करणमा लघुकथा, कविता, गजल, यात्रा संस्मरण, गीत, मुक्तक, इतिहासलगायत विविध विधाका सिर्जना समावेश गरिएका छन् ।

२०७७ सालदेखि भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा दोलखा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा निरन्तर प्रकाशित हुँदै आएको यस कृतिले दोलखाको साहित्यिक गतिविधिलाई अभिलेखीकरण गर्दै स्थानीय तथा राष्ट्रिय स्रष्टालाई आफ्ना सिर्जना सार्वजनिक गर्ने साझा मञ्च प्रदान गर्दै आएको छ ।

साहित्यकारसँगै नवोदित स्रष्टाका रचना एउटै कृतिमा समेटिएकाले यसले नयाँ पुस्तालाई साहित्य सिर्जनातर्फ प्रेरित गर्नुका साथै स्थानीय साहित्यिक इतिहासको दस्तावेजीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको सम्पादक मास्केको भनाइ छ ।

भानु–विद्यापति साहित्य प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठका अनुसार दोलखाबाट नियमित रूपमा प्रकाशित हुने साहित्यिक कृतिमध्ये ‘प्रदेय’ र ‘दोलखा साहित्य यात्रा’ मात्र निरन्तर प्रकाशनमा छन् । साहित्यिक गतिविधि र प्रकाशनलाई निरन्तरता दिन सके मात्र नयाँ पुस्तामा साहित्यप्रतिको रुचि बढ्ने र सिर्जनशील वातावरण निर्माण हुने उहाँले बताउनुभयो ।

उहाँले पछिल्ला वर्षमा जिल्लामा साहित्यिक गतिविधि केही खुम्चिँदै गएको उल्लेख गर्दै साहित्यिक संघ–संस्थाको सक्रियता, नियमित प्रकाशन र सिर्जनात्मक कार्यक्रमको निरन्तरताले मात्र साहित्यिक वातावरण सुदृढ बन्ने धारणा राख्नुभयो । यस्ता प्रकाशनले स्थानीय प्रतिभाको पहिचान स्थापित गर्नुका साथै भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

भीमेश्वर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा कवि मानबहादुर खड्का (खड्का एमबी) को पहलमा भानु–विद्यापति साहित्य प्रतिष्ठान स्थापना भई हरेक वर्ष भानुजयन्तीका अवसरमा ‘दोलखा साहित्य यात्रा’ प्रकाशन गर्ने परम्पराको शुरूवात भएको थियो । सोही परम्परालाई निरन्तरता दिँदै प्रतिष्ठानले साहित्य र कलाका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

यस वर्ष नेपाली गजल साहित्यमा योगदान पुर्‍याएबापत गजलकार जीत कार्कीलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रमका वक्ताहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पुर्‍याउन पुर्‍याएको योगदान स्मरण गर्दै उहाँको जन्मजयन्ती मनाउनु नेपाली भाषा, साहित्य र राष्ट्रिय सांस्कृतिक पहिचानप्रति सम्मान प्रकट गर्नु भएको बताए ।

उहाँहरूले यस्ता साहित्यिक कार्यक्रमले सिर्जनशील वातावरण निर्माण गर्नुका साथै नयाँ पुस्तालाई अध्ययन, लेखन र साहित्य सिर्जनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयाे । साथै साहित्यिक कृतिको नियमित प्रकाशनले स्थानीय इतिहास, संस्कृति, भाषा र जनजीवनको अभिलेखीकरण, नयाँ लेखकलाई सिर्जनाको अवसर तथा अध्ययन–लेखन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयाे ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.