साहित्यपोस्ट डट कम

भैरवीको आँगनमा

भैरवीको आँगनमा

कहिलेकाहीँ यात्रा पूर्वयोजनाले होइन, मनभित्र अचानक उठ्ने एउटा अदृश्य आवेगले तय गरिदिन्छ । यसपालि धादिङ यात्रा पनि यस्तै भयो । मौसमले भने शुरुदेखि नै साथ दिने सङ्केत गरेको थिएन । बिहान खुलेको आकाश दिउँसो हुँदा बिस्तारै कालो बादलले ढाक्न थालेको थियो । हावामा अनिश्चितताको गन्ध मिसिएको थियो तर मन भने अनौठो ढङ्गले यात्रातर्फ तानिइरहेको थियो, मानौँ कतै पुग्नैपर्ने कुनै अदृश्य निम्ता आइरहेको छ ।

हामी (भाइ डि.एन. र म) करीब एक बजेतिर टाँडीबाट निस्कियौँ । भरतपुरको साझा पेट्रोल पम्पमा बाइकमा इन्धन भरिँदै गर्दा कपिलले घरबाट निस्किएको खबर गर्‍यो । हामी भने बिस्तारै यात्रातर्फ अघि बढ्यौँ । आकाश झन् गहिरिँदै थियो । हावाहुरीले बाटाका रुखहरू बेस्सरी हल्लाइरहेका थिए । पहाडी बाटो भएकाले माथिबाट ढुङ्गा खस्ने डर पनि उस्तै थियो तर यात्रा शुरु भएपछि यात्रालाई टुङ्गामा नपुर्‍याई फर्कन मन मान्दो रहेनछ । हामी यात्रामा तल्लिन रह्यौँ ।

बीच बाटामा कपिल हामीसँग जोडियो । उसले बाटोभरि ढुङ्गा झरेका र रुखका हाँगाहरू सडकमा लडिरहेका दृश्य देखेको सुनायो । हामीले त्यही बाटो पार गरेको केही मिनेटमै प्रकृतिले आफ्नो रूप फेरिसकेको रहेछ । एकछिन मन नराम्ररी झस्कियो । लाग्यो, धन्न हामी सुरक्षित रह्यौँ । केहीबेरमै पानी पर्न थाल्यो र हामी रोकियौँ । वर्षादी भए पनि जुत्तालाई जोगाउने कुनै उपाय हामीसँग थिएन । कपडाको जुत्ता भिजाउने रहर हामीमा पटक्कै भएन ।

एउटा पसलमा छिरेर तातो चाउचाउ बनाउन लगायौँ र खायौँ । बाहिर पानी झन् बाक्लिँदै थियो । समयले दिउँसोको तीन बजाइसकेको थियो । पानी केही कम भएपछि फेरि यात्रा अघि बढायौँ । बाटाभरि साना–ठूला ढुङ्गाहरू छरपस्ट थिए । नारायणघाटदेखि मुग्लिनसम्मको बाटो त्यसै पनि डरलाग्दो मानिन्छ, त्यसमाथि माथिबाट ढुङ्गा खस्ने त्रासले मनलाई अझ अस्थिर बनाइरहेको थियो । जसोतसो मुग्लिन पुग्यौँ र जुत्तामाथि प्लास्टिक कस्दै फेरि यात्राको तयारी गर्‍यौँ ।

बाटोभरि कतै पनि पानी रोकिएन । कपडाका भित्री तहसम्म भिजिसकेका थिए । वर्षादी ओडेको भए पनि कतै न कतैबाट पानी छिरिरहेकै थियो । हामी मलेखुको फुर्के खोला पुग्यौँ । प्लास्टिकले कसेका जुत्ता भित्रको मोजा खोलेर निचोर्दै डि.एन.ले हास्दै भन्यो – “मुग्लिनमा किनेको पलास्टिक त डुब्लिकेट परेछ ।” हामी पनि हाँस्यौँ । दुःख भनेको यात्राको रङ्ग हो । मैले होटल साहुनीलाई थालीमा रहेको चिसो सेलतर्फ औल्याउँदै भनेँ – “दिदी यो सेल आगामा तताउन मिल्छ ?” उनले मृदु मुस्कानसाथ ‘मिल्छ’ भनिन् । उनका मुस्कानले अर्कै केही बोलिरहेथ्यो । हामीले आगामा सेकाएर एक–एक वटा सेलरोटी र तातो चिया खायौं । सेल र चिया खाएपछि बल्ल धादिङ बजारतर्फ हाम्रो बाइक तेर्सियो ।

हाम्रो योजना सकेसम्म त्यही दिन भैरवी मन्दिर दर्शन गर्ने भए पनि त्यो आजका लागि लगभग टरिसकेको थियो । घडीले पाँच बजाइसकेको थियो, त्यसमाथि मौसमले पनि साथ दिइरहेको थिएन । ‘मौसम खुल्यो भने भोलि बिहानको दृश्य झन् सुन्दर हुनेछ’ – मैले आफ्नै मनलाई सम्झाएँ ।

हामी धादिङबेसी पुग्यौँ । गोविन्द दाजुलाई हामीले फुर्के खोलाबाटै खबर गरिसकेका थियौँ – “हामी तीन भाइ आउँदैछौँ ।” आजको बास त्यहीँ हुने निश्चित थियो । गोविन्द दाजुलाई हामीले त्यसै “दाजु” भनेका होइनौँ । उहाँ मेरा भान्दाइ हुनुहुन्छ । ‘मेरा मात्र’ भनौँ भने डी.एन. र कपिल रिसाउन सक्छन्, त्यसैले ‘हाम्रा’ भन्नु नै उचित होला । किनकि कपिल पनि यही नाताको घेराभित्र गाँसिएको छ । कपिलकी हजुरआमा र हाम्री (डी.एन. र मेरी) हजुरआमा दिदीबहिनी । यही आत्मीय सम्बन्धले हामीलाई गोविन्द दाजुको घरसम्म पुर्‍याएको थियो । बासका लागि मात्र होइन, सम्बन्धको पुनर्ताजकीकरणका लागि ।

होटेल भए पनि हामीले बिनापैसा खाना खायौँ । शायद संसारमै खाना खाएर पैसा तिर्न नपर्ने र सुतेको पैसा नलाग्ने होटल हाम्रा लागि यही मात्र हो । हुन त पैसा तिरेको भए पनि हुन्थ्यो होला, तर फुपूको घरमा गएर के पैसा तिरेर भात खानु र एक रात सुत्नु ? हामीले त्यस्तो चलन बसालेका छैनौँ, बसाल्ने सुरमा पनि छैनौँ । दाजुको धादिङबेसी अवस्थित पुछार बजारमा घर पनि छ र होटल पनि । हामीले पाइला टेकेको ठाउँ होटल हो ।

“भोलि बिहान मौसम खुल्ला त, दाजु ?”, हामीले अड्कल गर्न उक्सायौँ । दाजुले अनुभवी अन्दाजमा आकाशतिर नहेरीकनै भन्नुभयो, “खुल्छ, किन नखुल्नु ? ढुक्क होऊ ।” हामीले पनि आश गर्‍यौँ – पक्कै आकाश खुल्नेछ । फेरि भन्यौँ, “दाजु, तपाईं पनि हामीसँग मन्दिर दर्शनमा जानुपर्छ ।”

बिहान पाँच बजे आँखा खुले पनि करीब छ बजे मात्र भैरवी मन्दिर दर्शनका लागि हाम्रो यात्रा शुरु भयो । धादिङ बजारमा घाम नलागे पनि घामको उज्यालो भने फैलिइसकेको थियो । बजार रातभरिको गहिरो निद्राबाट ब्युँझिसकेको थियो । गाउँबाट दूधले भरिएका क्यानहरू बजारतर्फ झर्दै थिए । तरकारीका डोकाहरू पसलका पेटीहरूमा थकाइ मार्दै ग्राहक कुरिरहेका थिए । चियाका पसलहरू गफ सुन्न आतुर देखिन्थे । हामी भने पुछार बजार छाडेर शीतल बजारको चोक हुँदै दक्षिणतिर हानियौँ ।

यो यात्रामा गोविन्द दाजु थपिनुभयो । बाइक दुईवटा थिए । कपिल र डी.एन. हाम्रा पाका चालक थिए । उनीहरूले असङ्ख्य घुम्तीहरूमा बाइक मोडे, उकालाहरू सहजै चढाए, अप्ठ्यारा बाटाहरूमा खाल्टा जोगाए र ढुङ्गा छले । यस बीचमा हामीले अरुण खोला, आँप खोला मात्र होइन, जयन्ती डाँडा र खानीगाउँ आसपासका सुन्दर बस्तीहरूलाई रमाउँदै नियाल्यौँ । हाँडी खोलामा पक्की पुल बन्दै थियो । “अर्को पटक आउँदा यही पुल तरेर जानेछौँ,” भन्ने विश्वास बोकेर हामी कणेश्वर पुग्यौँ ।

कणेश्वरको चिसो पाखामा चितौनका ताताबाट आएका बाइकहरू पनि रमाइरहेका जस्ता लाग्थे । “बाइक पनि रमाउँछ र ?” भन्नुहोला, तर मैले देख्दा त ती साँच्चै रमाइरहेका थिए । बाटो पिच भएकाले खाल्टोमा परिने डर थिएन, चिप्लोमा चिप्लिने त्रास पनि थिएन । यहाँ न उकालो उक्लिनुपर्थ्यो, न ओरालो झर्नुपर्थ्यो । उत्तरतिरका हिमालहरू सक्दो मुस्कुराइरहेका देखिन्थे । धादिङ बजार र वरपरका परिचित डाँडा–थुम्काहरू बाक्ला सेता कपासले ढपक्क ढाकिएका थिए भने परपरका डाँडाहरू कञ्चन सफा देखिन्थे । यही मनमोहक दृश्यलाई आँखाभरि पार्दै हाम्रा दुईवटै बाइक तारुखर्का र पिपलछापका सुकोमल बस्तीहरू छुँदै, सल्लाका अग्ला, उज्याला र शीतल जङ्गलबीच गुडिरहे ।

सल्लाघारीका सिल्के पातहरू सुसाएका थिएनन्, एकदम शान्त थिए । हामीले त्यहाँ केहीबेर बाइक रोक्यौँ । सल्लाका सुकेका सिल्के पात र खण्ड–खण्ड भएका फलहरूलाई स्पर्श गर्‍यौँ । केही फोटो खिच्यौँ, भिडियो बनायौँ, अनि नेवारपानी हुँदै सुनौला बजारमा पाइला टेक्यौँ । सुनौला बजार धादिङको पुरानो सदरमुकाम हो । उसमा कुनै घमण्ड थिएन । ऊ मलीन थियो, उदास थियो । उसमा फेरि उज्यालो हुने कुनै आशा वा भरोसा बाँकी नरहेझैँ लाग्थ्यो । उसले हाम्रा बाइक रोकाएर आफ्ना दुःखका कथाहरू सुनाउन खोजेजस्तो भान हुन्थ्यो । शायद आफ्ना रोचक र ऐतिहासिक भोगाइहरू पनि सुनाउन आतुर थियो । तर हामी हतारमा थियौँ । हाम्रो स्वार्थ भैरवी मन्दिर दर्शन र त्यहाँबाट देखिने अनुपम दृश्य अवलोकनसँग गाँसिएको थियो ।

भैरवी मन्दिरमा म पहिले पनि आइसकेको थिएँ । भाइ डी.एन. र गोविन्द दाजु पनि शायद आइसकेका थिए । कपिल भाइका लागि भने यो पहिलो यात्रा थियो । पार्किङको छेउमै रहेको गणेश मन्दिरमा दर्शन गरेपछि हामी भैरवी मन्दिर रहेको थुम्कोतर्फ लाग्यौँ । त्यहाँ भक्तजनहरूको चहलपहल थिएन । घण्टीका आवाज सुनिएका थिएनन्, न त धुपका सुमधुर बासना नै फैलिएका थिए तर पनि हिजोअस्ति बजेका घण्टाका ध्वनिहरू हरिया भित्ताहरू र सेता हिमालमा ठोक्किएर भर्खर फर्किरहेका छन् जस्तो लाग्थ्यो – एकदम सुस्त, सभ्य र शालीन रूपमा । यतै हावा र रुखका पातहरूमा मैले “टिन… टिन… टिन्न…” को प्रतिध्वनि अनुभूत गरिरहेको थिएँ । उसैगरी धुपका सुगन्धित वासनाहरू पनि मन्दिरका टुँडाल, पेटी र छपनीहरूमा घुमिरहेझैँ लाग्थ्यो । मेरा नाकमा धुपको मधुर सुवास आइरहेको थियो, कानमा घण्टाको सुमधुर टिन्न… टिन्न… बजिरहेको थियो । म कुनै अद्भूत गहिराइमा पुगेको अनुभूति गर्दै थिएँ । मन चङ्गा थियो । हृदयमा एकतमासको पृथक् खाले अनुभूति भइरहेथ्यो ।

कपिलले मन्दिरको घण्टा ठूलो आवाजमा बजायो । घण्टाको ठूलो आवाज भैरवी मन्दिरका पर्खाल, छाना र भित्ताहरू हुँदै वरपरका रुख–बुट्यान पार गरेर हरिया डाँडातर्फ फैलियो । शायद त्यो ध्वनि अझै कतै गुञ्जिरहेकै छ । हामी प्रकृतिमा यति हरायौँ कि मन्दिर दर्शन गर्नुभन्दा पहिले नै दृश्यहरूमा अल्मलिन थाल्यौँ । त्यतिबेला गोविन्द दाजुले सम्झाउनुभयो, “पहिला टीका लगाऔँ ।” – मन्दिरभित्रको टीकाको थाली लिएर प्रवेशद्वारमा उभिसक्नुभएका गोविन्द दाजुले सबैलाई टीका लगाइदिँदै लामो आशीर्वाद पनि दिनुभयो । हामीले भैरवीमा आस्थाले माथ टेकायौँ ।

धादिङबेसीलाई उस्तै गरी बाक्लो हुस्सुले ढाकिरहेको थियो । वरपरका सफा र हरिया डाँडा–थुम्काहरूले मनमोहन गराइरहेका थिए । पर टल्किरहेका सेता हिमालहरू आँखैअगाडि उभिएका जस्ता लाग्थे । वरिपरिका धेरै डाँडा–थुम्काहरू परिचित थिए । यहाँबाट चारैतर्फका दृश्य अवलोकन गर्न सकिँदो रहेछ । खरी, मैदी, नलाङ, सलाङ, मुरलीभञ्ज्याङ, पाल्पाभञ्ज्याङ, साङ्कोसका भित्ताहरू मात्र होइन, नुवाकोट र दक्षिणतर्फ फैलिएका हरिया पहाडहरू लगायत अनगिन्ती भूदृश्य यहाँबाट देख्न सकिन्थ्यो ।

हामी हौसिएका थियौँ । यो अद्भूत दृश्यलाई कसरी हृदयमा अटाऊँ, कसरी सँगालूँ र अनन्त कालसम्म जोगाऊँ । यस्तो लाग्दै छ – सबै मेरो हो । म मात्रै यो अनमोल दृश्यको मालिक हुँ । मन बेचैन छ के लेखूँ, कुन कुन परिदृश्यलाई समेटूँ । करीब एक घण्टासम्म भैरवी मन्दिर र यहाँबाट देखिने अद्भूत दृश्यमा हरायौँ । मन्दिरको दक्षिणी भाग बनाइएको फोटो खिच्ने ठाउँको हामीले भरपुर सदुपयोग गर्दै फोटाहरू र भिडियोहरू खिच्यौँ । घडीले बिहानको ७:१५ बजाइरहेको थियो ।

हामीले पछि पुजारीसँग भेट्ने मौका पनि पायौँ । बिहानको पूजा ८ बजेबाट मात्र शुरु हुने रहेछ । शुरुवाती पूजा प्रवेशद्वारसँगै रहेको गणेशजीको मन्दिरबाट शुरु हुने रहेछ । पूजा शुरु हुन अझै केही समय बाँकी थियो । हामीले पुजारीलाई मन्दिरका बारेमा सोध्यौँ । उनले मन्दिरका बारेमा आफूले जानेका र भोगेका कुराहरू बताए ।

मन्दिर पूजा आजामा उनका पुर्खाहरूले परम्परा धान्दै आएका छन् । उनी भन्छन् मेरा जिजुबाजेहरू प्रभु रानामगर, कचु रानामगर र उनका बुबा वीरबहादुर रानामगर र उनी स्वयम् कुलबहादुर (भगवान्) रानामगरसम्मले मन्दिरको पूजाआजा गर्दै आइरहेका छन् । अब उनको सेखापछि उनका जेठा छोराले मन्दिरमा पुजारी भएर काम गर्नेछन् । उनले एउटा रोचक कुरा हामीलाई सुनाए – जति भाइ छोरा भए पनि पूजा हुने बेलासम्म अरू भाइहरू केही न केही भएर बितिसकेका हुन्छन् ।

कुलबहादुर भन्दै थिए – पहिलाको कुरा थाहा भएन मेरा हजुरबुबाहरू दुईजना हुनुहुन्थ्यो । एकजना बित्नुभयो । बुबाहरूको पनि त्यस्तै भयो । मेरा दुईवटा भाइहरू थिए उनीहरू पनि बिते । अहिले मेरा दुई छोराहरू छन् तर कान्छोले गाउँकै सार्की जातकी केटी टिपेर हिंड्यो । उसलाई पनि देवीले पाखा लगाइदिएकी हुन् कि जस्तो लाग्छ । उनले अमिलो अनुहार बनाउँदै भने – “हुन त जातभातको कुरा गर्‍यो भन्लान् तर समाजमा सदियौँदेखि जरा गाडेर बसेको पापी खिल अझै पूर्णरूपमा निस्कन सकिरहेको छैन ।”

भैरवी मन्दिर धादिङको सुनौलाबजारमाथि पहाडको चुचुरोमा अवस्थित एउटा यस्तो धार्मिक स्थल हो, जहाँ पुग्नेबित्तिकै प्रकृति, इतिहास र आस्था एकैसाथ अनुभूत हुन्छन् । दुईतिर गहिरा भीरले घेरिएको टाकुरामा रहेको मन्दिरसम्म पुग्न सिँढी हालिएका गोरेटो उक्लिनुपर्छ । माथि पुग्नेबित्तिकै खुला आकाश, हरिया डाँडा, तल कुहिरोले ढाकेको धादिङबेसी र टाढा टल्किरहेका हिमालहरूले मनलाई आल्हादित बनाइरहन्छन् ।

यहाँबाट गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथी लगायतका हिमश्रृङ्खलाहरू स्पष्ट देखिन्छन् । वरिपरिका हरिया थुम्का, सल्लाघारी र शान्त हावाबीच उभिँदा समय यसैगरी टक्क रोकिइरहोस् भन्ने लाग्छ । चाडपर्व र बिदाका दिन यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ, तर सामान्य दिनमा भने यो ठाउँ ध्यानमग्न साधुजस्तै शान्त देखिन्छ ।

स्थानीय किंवदन्तीअनुसार यस मन्दिरसँग भगवान् भैरव र भैरवीको कथा जोडिएको छ । भैरवी सुत्केरी भएका बेला मासु खान इच्छा गरेपछि भैरव शिकार खोज्न जङ्गल गएका र सुँगुरको मासु लिएर फर्किएको भनाइ छ । भैरवका हातमा सुँगुरको टाउको देखेपछि भैरवी डराएर भिरतिरै बसेको र भैरव पनि नजिकै तल्लोपट्टि बसेको जनविश्वास पाइन्छ । यही कथासँग जोडिएर अहिले यहाँ भैरव र भैरवीका छुट्टाछुट्टै मन्दिर रहेका छन् ।

इतिहासका पानामा पनि भैरवी मन्दिरको कथन भेटिन्छ । इतिहासअनुसार राम शाहले स्थापना गरेका आठ शक्तिपीठमध्ये यो पनि एक हो । पृथ्वीनारायण शाहले नुवाकोट विजयअघि यहाँ आएर भाकल गरेको प्रसंग स्थानीय जनविश्वास र पुराना कथनहरूमा अझै जीवित छ ।

२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्‍याए पनि अहिले पुनर्निर्माण करीब करीब सकिएको छ । केही आधुनिक संरचना थपिए पनि मन्दिरको पुरानो आत्मा भने उस्तै जीवित छ । खानेपानी, शौचालय र अन्य आधारभूत सुविधा विस्तार गरिएपछि यहाँ आउने यात्रुहरूको सङ्ख्या पनि बढ्दो छ ।

सुनौलाबजार, जुन धादिङको पुरानो सदरमुकाम पनि हो, यसैको शिरमा उभिएको भैरवी मन्दिर केवल दर्शन गर्ने ठाउँ मात्र होइन, प्रकृतिसँग केहीबेर हराउने र इतिहासका आवाज सुन्न सकिने एउटा अद्भूत स्थल पनि हो । भैरवी मन्दिर दर्शन गरी सकेपछि हामीमा फेरि अर्को भोक पलायो । त्यो भोक थियो – भैरवीको नजिकै रहेको गुप्तेश्वरको । गुप्तेश्वरतिरको बाटो उस्तै मनमोहक थियो । मौसमको मिजास प्रफुल्ल थियो । ऐँसेलुका दानाहरू उस्तैगरी टोप्रामा टाँसिइरहेएका थिए । उत्तर फर्किएको पाखाबाट देखिएको सुनौला बजार – धादिङको पुरानो सदरमुकाम – सुनौलो बगैंचाझैँ ढकमक्क फुलेको देखिन्थ्यो ।

जब डाँडाको थुम्कोबाट पूर्व–दक्षिणतर्फका भूभागहरू आँखामा परे, हामीलाई हिमाली भेगमा पाइला राखेजस्तो अनुभूति भयो । मैले झट्ट पाङसाङ भ्याली सम्झिएँ । पाङसाङ आसपासका डाँडाहरू जस्तै यो डाँडा पनि नाङ्गै थियो । तलतिरका बस्तीहरू भने भैरवी मन्दिरबाट देखिएको धादिङबेसीझैँ कुहिरोभित्र लुकिरहेका थिए । अत्यन्त मनमोहक दृश्य आँखाभरि टिलपिलाइरहेको थियो ।

हामीलाई अब गुप्तेश्वरको गुफाभित्र पस्नुपर्ने थियो । गुफातर्फ जानका लागि पक्की पैदलमार्ग बनाइएको रहेछ । बाटाका दुबैतर्फ सुरक्षाका लागि फलामका बार लगाइएका थिए । तर हामी बार समाउँदै हिँडेनौँ । पहाडमै हुर्केका हामीलाई भिरपाखा जहाँको भए पनि आफ्नैजस्तो लाग्छ । त्यसैले हामीले छोटो गल्लीबाटो समात्यौँ र ओरालो झर्‍यौँ ।

गुफाको प्रवेशद्वारमा पुगेपछि मोबाइलको बत्ती बाल्यौँ र गुफाभित्र प्रवेश गर्‍यौँ । भित्र त पसियो, तर यो कति लामो होला भन्ने कुनै अनुमान थिएन । मनमा जङ्गली जनावर वा विषालु सर्पको डर पनि आइरहेको थियो । गुफा निकै साँघुरो रहेछ । केही तल झर्नेबित्तिकै निस्कनेतर्फको सानो द्वारबाट उज्यालो प्रकाश देखियो । गुफाबाट बाहिर निस्कनुपर्ने ठाउँ अत्यन्त साँघुरो थियो । म आँट गर्न सकिरहेको थिइन तर डी.एन. अगाडि सर्‍यो र सजिलै गुफाबाट बाहिर निस्कियो । मलाई भने गुफाबाट निस्कन निकै हम्मेहम्मे पर्‍यो । सुतेर घस्रिँदै बाहिर निस्किएँ । त्यतिबेला उसले भिडियो बनाइरहेको रहेछ । हामी सबैजना बिस्तारै बाहिर निस्कियौँ । त्यो भिडियो पछि सामाजिक सञ्जालमा अपलोड भयो । पछि हेर्दा आफूहरूलाई नै देखेर हामी सबै खुब हाँस्यौँ ।

त्यसपछि हामी पक्की बाटो हुँदै माथि उक्लियौँ । पारिपारिका बस्तीहरूमा उस्तैगरी घाम टल्किरहेको थियो । तल बेसीतिर भने उस्तै गरी कुहिरो सेताम्मे भएर फैलिएको थियो । मन भने चङ्गाजस्तै भुरुरु उडिरहेको थियो – हल्का, स्वतन्त्र र प्रसन्न । हाम्रो यात्रा बिस्तारै सुनौला बजार, नेवारपानी, सल्लाघारी हुँदै कणेश्वरका सुनौला बस्तीहरू छिचोल्दै बेसीतर्फ झर्‍यो ।

अन्तमा, भैरवी मन्दिरको यो यात्रा केवल एउटा गन्तव्यसम्म पुगेर फर्किने यात्रा मात्र थिएन । यो त वर्षा, हावा, कुहिरो, पहाड र अनगिन्ती घुम्तीहरू पार गर्दै प्रकृति, आस्था र आत्मीय सम्बन्धसँग अझ नजिकिने अवसर थियो । कहिले बादलभित्र हरायौँ, कहिले हिमालको उज्यालो मुस्कानमा अल्मलियौँ, कहिले मन्दिरको घण्टनादमा हरायौँ, त कहिले गुप्तेश्वरको साँघुरो गुफाबाट निस्कँदै आफ्नै डरमाथि हाँस्यौँ । फर्किँदा बाटाहरू उस्तै थिए, डाँडाहरू उस्तै थिए, तर मन भने पहिलेको जस्तो रहेन । भैरवीको शान्त आँगन, सुनौलाबजारको उदास परिदृश्य, कुहिरोले ढाकेको धादिङबेसी र हरिया पहाडमाथि फैलिएको त्यो निर्मल उज्यालो मनभित्र कतै स्थायी भएर बसिसकेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.