साहित्यपोस्ट डट कम

भैरव अर्यालको स्मृतिमा प्रकाशित कृति सार्वजनिक

भैरव अर्यालको स्मृतिमा प्रकाशित कृति सार्वजनिक

काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यका अग्रणी स्रष्टा भैरव अर्यालको स्मृतिमा कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कृति ‘भैरव अर्याल उर्फ हास्यव्यङ्ग्य’ लोकार्पण गरिएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले साहित्यको विकासबाट मात्र सभ्य समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्दै गोकर्णेश्वर नगरपालिकाले साहित्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले अन्य स्थानीय तहहरूले पनि साहित्य प्रवर्द्धनका क्षेत्रमा गोकर्णेश्वरको अभ्यासलाई अनुकरण गर्न थालेको उल्लेख गर्नुभयो ।

लोकार्पित कृतिमाथि समीक्षा प्रस्तुत गर्दै साहित्यकार कालिकाप्रसाद तिमिल्सिनाले पुस्तकले भैरव अर्यालको व्यक्तित्व र योगदानलाई थप जीवन्त बनाएको बताउनुभयो ।

अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ तथा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले नेपाली हास्यव्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदान अविस्मरणीय रहेको धारणा राख्नुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष डा. विदुला घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार देविका तिमिल्सिनाले भैरव अर्यालको स्मृतिमा यस्तो महत्वपूर्ण कृति प्रकाशन गर्नु प्रतिष्ठानको उल्लेखनीय कार्य भएको बताउनुभयो ।

कृतिमा कञ्चन पुडासैनी, रोचक घिमिरे, मधुवन पौडेल, रामकुमार पाँडे, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, बाजुराम पौडेल, निर्मल अर्याललगायतका स्रष्टाका लेख–रचना समावेश गरिएका छन् ।

हास्यव्यङ्ग्य साहित्यका शिखर व्यक्तित्व भैरव अर्यालको जीवन, कृतित्व र साहित्यिक योगदानलाई केन्द्रमा राखेर प्रकाशित उक्त कृतिले उहाँको स्मृतिलाई नयाँ पुस्तामाझ थप परिचित गराउने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.