थानकोट नौबिसेसम्मको बाटो राम्रो बनेको रहेछ अचेल । हुन त मुग्लिनसम्मै बाटो राम्रो बनाउने योजना छ सरकारको तर कछुवा गति निर्माणका कारण धेरै सास्ती खेपेका छौँ हामीले । अब भने अलिकति राहत पाएझैँ लाग्यो । अगाडि बढ्दै गर्दा पीपलामोडको अलिकति तल देब्रे भागको ठाडो भीरमा खण्डहर जस्तो बनेको घरतिर आँखा सोझिए । यो बाटोमा ओहोरदोहोर गर्दा धेरैपटक देखेकी छु यस घरलाई । यो घरमा मान्छे बस्छन् कि बस्दैनन् होला ? किन होला राजमार्गकै छेउको भीरमा घर बनाएको भन्ने जस्ता अनेक तर्कना मनमा खेल्दाखेल्दै आइपुगियो नागढुङ्गा सुरुङ मार्ग । बाइस अर्बमा सम्पन्न भएको यो मार्ग छिटै सञ्चालन हुने कुरा छ । यहाँबाट कहिले यात्रा गर्न पाइएला भनेर मन रोमाञ्चित भइरह्यो । आँखामा नागढुङ्गा सुरुङ मार्गबाट गाडीमा बसी बलम्बु निस्किएको कल्पना गरेर आफै मुसुक्क हाँसेँ ।
बाटो राम्रो भए पछि नै रहेछ यात्राको गति पनि दु्रत बन्ने । कल्पनाका अनेक तस्वीरहरू मनभित्र खिच्दाखिच्दै नौबिसे आइपुगेछ । “ए बहिनीहरू ल जाँगर निकाल्न पर्यो है” भनेर कथाकार तथा नियात्राकार एवम् गुञ्जनकी उपाध्यक्ष इल्या भट्टराई दिदी अन्ताक्षरी गाउन कस्सिनुभो । उहाँलाई नपछ्याई धर पाएनौँ हामीले ! गाउँदा गाउँदै गाडीको माहोल नै एउटा सङ्गीत प्रेक्षालय जस्तै बन्यो । यति रमाइलो र सुखद पल अन्त कहाँ पाउनु ?
चौध जना स्रष्टाको साहित्यिक टोली छ हाम्रो । गन्तव्य रहेको छ भैरहवा । बेलुकासम्म यसरी नै पुग्ने हो साथीहरू झन् बढी हौसिए । गाउँदागाउँदै झोलाझोलाबाट निस्कन लागे खानेकुराहरू । यात्रामा निस्किए बखत मीठामीठा विविध खानेकुराको आस्वादन गर्न पाउनु गुञ्जनको विशेषता नै हो । संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठको भान्छामा पाकेका नेवारी व्यञ्जन खानै बाँकी छ ।
“गल्छीको खुवा पसलमा पसौँ है ? चिया पनि मीठो छ । खुवा पनि उस्तै ।” शशी थापा पण्डित गल्छी आउनै लाग्दा प्रस्ताव राख्नुहुन्छ । उहाँको प्रस्ताव हामी सबैलाई जायज लाग्छ । गल्छी आएपछि गाडी राजमार्गमा किनारा लाग्छ । पसलमा ग्राहकको भीडभाड छ र पनि हामी पालैपालो बसेर इच्छाअनुसार चिया, खुवा, समोसा खान्छौँ । सामूहिक तस्वीर खिचेर तुरुन्तै फेसबुकमा अपलोड पनि गर्छौं । साहित्यिक टोली एउटा लक्ष्य लिएर अगाडि बढेको छ । सबैलाई सुसूचित हुन दिनु राम्रै हो भन्ने हामी ठान्दछौँ ।
समयमै पुगे भैरहवाका साथीभाइसँग गफ गर्न पाइन्छ नि भनेर वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ दिदी हाम्रो अलमल देखेर ढिलो नगर्न सुझाउनुहुन्छ । उहाँको कुरा सुनेपछि हिरण्यकुमारी पाठक, इन्दिरा दीक्षित, सिर्जना शर्मा, गार्गी शर्मा र ललिता दोषी दिदीलगायत हामी फटाफट गाडीमा बस्छौँ ।
बाटो कतै जाम पनि भएको छैन । त्रिशुली नदी छेउका बुट्यानहरूबाट आएको चिसो हावाले हाम्रो मनमस्तिष्कमा ऊर्जा छाउँछ । गल्छीको खुवा र चियाले पनि हामीमा स्फूर्ति छाएछ कि शुरु हुन्छ फेरि गफका उही सिलसिला । उमेरमा पनि साना भएकोले अन्तिम सिटमा छौँ उमा सुवेदी, म, रीता खत्री र रश्मि रिमाल । हाम्रा अनेक कुरा सुनेर हामीभन्दा अघिल्लो सिटमा बस्नुभएका दिदीहरू बेलाबेला मुन्टो पछाडि ल्याउनुहुन्छ र मुस्कुराइरहनुहुन्छ ।
बिहानको एघार बजे हामी कुरिनटारको थकाली होटलमा आइपुग्छौँ । यहाँको खानासँग हामी अभ्यस्त छौँ । माथिल्लो तलाको बरण्डामा बसेर मनकामना मन्दिर जान उत्तरपट्टि बगिरहेका केबुलकार हेर्छौँ । खाना नआइन्जेल हरियो डाँडा पृष्ठभूमिमा राख्दै फोटोसेसनमा लाग्छौँ ।
खासै भोक नभए पनि भोजन मीठो छ यहाँको । खाएर हामी पुनः अगाडि बढ्छौँ । मुग्लिन पार गरेपछि चितवनतिर हाम्रो भ्यान सोझिन्छ । गत फागुन ९ गते यही बाटोबाट गुञ्जनकै कार्यक्रममा चितवन पुगिएको थियो । यति छिटै फेरि यो यात्रा जुर्ला भन्ने सोचेकी थिइनँ । त्रिशुली र मर्स्याङ्ग्दी नदीको किनारकिनार रमाइला गफ गरेर अघि बढ्नुको अपरिमित आनन्द लिँदै हामी अघि बढिरहन्छौँ । यताको बाटो पनि गज्जबै छ । अनेक घुम्तीहरू काटेपछि आउँछ दासढुङ्गा, जुगेडी र रामनगर । यतातिर फैलिँदै गएको मानवबस्ती हेरेर मेरो मनमा २०५३ सालको याद आयो । बिहे गरेर पोखराबाट भरतपुर घर आएकी म घर माइत गरिरहन्थेँ । यहाँ खासै घरहरू बनेका थिएनन् । पातलो थियो बस्ती । तीस वर्षको अन्तरालमा अन्यत्रझैँ यहाँ पनि विकास हुनु नौलो कुरा रहेन । त्यतिबेला परिपक्व नभइसकेकी म नदीको तीरैतीर यात्रा गर्न पनि डराउँथे । राम्रा बस पनि हुन्थेनन् त्यतिबेला ।
कल्पनामा डुबुल्की मार्दामार्दै नारायणगढ पुल्चोक आइपुगिएछ । यहाँ पनि मेरा धेरै अविस्मरणीय क्षण छन् । नोस्टाल्जिक हुँदै नारायणी नदीमाथिको पुल कट्छौँ । नारायणी नदीका किनारमा विकास भएका अनेक दृश्यहरू हेर्दै हामी नवलपरासीको सडकखण्डमा प्रवेश गर्छौं । सिद्धार्थ राजमार्गमा पर्ने यो सडक विगतका दिनमा वर्षौंसम्म खराब थियो । अहिले भने चिल्लो र फराकिलो बन्दै रहेछ । सडकका भित्री फाँटका समथर गराहरूमा पाकेका गहुँबाली हेर्दै हामी अघि बढिरह्यौँ । यताको क्षेत्रमा पनि नयाँ घर निर्माणको सिलसिला उत्तिकै बढेको रहेछ । परैबाट देख्छौँ शाश्वत धाम । आध्यात्मिक भाव प्रकट हुन्छ मनमा । मनदेखि ढोग्छु धामलाई ।
तराईको नारायणगढ जस्तै बिस्तार हुन लागेछ कावासोती बजार । जनसंख्या वृद्धिको चापलाई प्रमुख शहरहरूले मात्र कहाँ धान्न सक्छन् र ? यता पनि उत्तिकै बढ्दै रहेछ बस्ती विस्तार ।
परबाट देखिन्छ दाउन्ने डाँडाको थुम्को । यही डाँडाको फेदैफेदैको सडक पार गरेर हामी अगाडि बढ्नुपर्छ । दाउन्नेको उकालो भनेर खुब चर्चा हुने गर्छ यो बाटोको । उकालो–ओरालो, घुमाउरो र पहिरो जाने क्षेत्रका रूपमा पनि यसलाई चिनिन्छ । दाउन्ने देवीको दर्शन गर्न पनि यहाँ दर्शनार्थीहरू आउँछन् । जे भए पनि प्राकृतिक, धार्मिक र जोखिमपूर्ण सडकका कारण दाउन्नेको चर्चा भइरहेको सुनिन्छ । दाउन्नेको उकालोमा एक खण्डतिर धमाधम ढलान कार्य भइरहेको थियो भने एक खण्ड धुलाम्मे । अत्यधिक जाम हुने ठाउँका रूपमा दाउन्नेका कथाहरू पढ्न पाइन्छ । अबका दिनमा भने पक्कै पनि सुधार हुनेछ । चैत १३ देखि युवाहरूको नयाँ सरकार गठन भएको छ । आशाका किरणहरू प्रशस्तै देखिएका छन् । जसले बाटो समयमै बनाउँदैन उसलाई तुरुन्तै सजाय दिइने छ र सुशासन कायम गरिने छ भनिएको छ । अबका दिनमा केकस्ता क्रियाकलापहरू अघि बढ्छन् समयले बताउला । जे भए पनि यो सडक नबनेर जनताले धेरै दुःख पाएका थिए । यसअघि कागजमै सडक भत्किने र बन्ने हुँदै आइरहेको रहेछ । अबका दिनमा कम्तीमा पनि भ्रष्टाचार हुँदैन कि भन्ने आशाचाहिँ पलाएको छ ।
दाउन्नेदेखि बुटबल भैरहवा पुग्न धेरै थिएन अब । हामी हर्षित थियौँ सजिलै यहाँसम्म आइपुगेकाले । साइनबोर्डमा देखिए बर्दघाट र सुनवल । यात्राको एउटा गन्तव्य हुन्छ । त्यहाँ पुग्न यात्रुलाई हतार हुने भएकाले राजमार्गका कतिपय स्थानहरूलाई आँखैको क्यामेराले खिच्छौँ र ती स्थानसँग बिदा माग्छौँ । बेलुकाको पाँच बजे हामी बुटबल प्रवेश गछौँ । आज धेरै घाम नलागेकाले शीतल छ वातावरण । धेरै पछि बुटबल देख्दा खुशी हुन्छ मन । सफा लाग्छ यहाँको वातावरण ।
बुटबल पनि छोडेर हामी जाँदै छौँ भैरहवातिर । जुन लुम्बिनी क्षेत्रतर्फ जाने बाटो पनि हो । सिद्धार्थ राजमार्गलाई पछ्याउँदै गाडी अगाडि बढ्छ । यहाँको फराकिलो सुन्दर बाटोले मेरो मन प्रसन्न हुन्छ । आहा ! कति सुन्दर रहेछ यहाँको बाटो । सडकबीचको सुन्दर हरियाली वातावरण देखेर हामी खुशी हुन्छौँ । स्वदेशी तथा विदेशी पर्यटक आगमन हुने ठाउँ हो यो । सफा पनि उतिकै देखिन्छ । एक दशक पछि आएछु म । पहिला कहाँ यति सुन्दर थियो र ? अहिले चकितै परेँ म त । यति सुन्दर बाटोले अन्य पर्यटकलाई पनि आकर्षित गर्छ । बाटोको बीचमा ढकमक्क फुलेका रङ्गीविरङ्गी फूलहरूले मेरो मन पनि ढकमक्कै फुल्छ । देवकोटा चोक नजिकै हामी बस्ने होटलको प्रबन्ध गरिएको रहेछ । साहित्यकारहरू वनमाली निराकार, रुद्र ज्ञवाली र विजय सागर हाम्रो आगमनको प्रतीक्षामा हुनुहुँदो रहेछ । उहाँहरूसँग चियापान र गफगाफपछि आ-आफ्ना कोठामा पुग्छौँ । बेलुकापख वरिपरिको वातावरण नियाल्न उमाजी र म बाहिर निस्कन्छौँ । रुपन्देही बेलहिया नाका नजिकै भारत उत्तरप्रदेश शुरु हुने भएकाले भैरहवा वरिपरि पनि भारतीय नागरिककै वर्चस्व थियो । रात्रीकालिन समयमा निर्धक्क डुलेर टाढाटाढासम्म जान पनि असजिलो लाग्यो । शीतल वातावरणमा एकछिन टहलिएर होटल फर्कियौँ र खाना खायौँ । खानामा स्थानीय मरमसलाको मीठो स्वाद थियो । निकै मीठो लाग्यो । घरभन्दा बाहिर निस्केपछि “ठाउँ पनि हेरिने मुख पनि फेरिने” भन्ने कहावत किन झुठो हुन्थ्यो र ।
चैत २१ गते शनिबार शहीद स्मृति पुस्तकालय र गुञ्जन नारी साहित्य संस्था काठमाडौंको संयुक्त आयोजना अनि सिर्जनशील साहित्यिक समाज सिद्धार्थनगर भैरहवाको सहकार्यमा ‘बुद्धको आँगनमा–गुञ्जन साहित्य उत्सव २०८२’ आयोजना गरिएको थियो । यही नै हाम्रो यात्राको सेतु थियो । हामी बडो मनोयोगले उत्साहित हुँदै ठीक एघार बजे होटलदेखि शहीद स्मृति पुस्तकालयको सभाहलमा भेला भयौँ ।
वरिष्ठ आख्यानकार वनमाली निराकारले कार्यक्रममा उद्घोषणको जिम्मा लिनुभएको रहेछ । सहआयोजक संस्था सिर्जनशील साहित्यिक समाजकी अध्यक्ष सरू ज्ञवालीले कार्यक्रमको अध्यक्षता गर्नुभयो भने गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ प्रमुख अतिथिको भूमिकामा रहनुभयो । शहीद स्मृति पुस्तकालय भैरहवाका सचिव रामप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आख्यानकार भागीरथी श्रेष्ठ र कथाकार रूद्र ज्ञवालीले सम्बद्ध संस्थाहरूको परिचय र कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा स्थानीय स्रष्टा कविता पन्थीले प्रस्तुत गरेको ‘रुपन्देहीका नारीस्रष्टा’ विषयक अवधारणा खँदिलो लाग्यो । गुञ्जनका तर्फबाट इल्या भट्टराईले ‘नेपाली साहित्यमा नारी स्रष्टाहरूको योगदान’ विषयक अवधारणा पत्र पनि उत्तिकै सुन्दर थियो ।
कार्यक्रममा काठमाडौँबाट गएका स्रष्टाहरूले पालैपालो आ-आफ्ना सिर्जना प्रस्तुत गर्यौं । भैरहवाका स्रष्टाहरू कविता देवकोटा रिजाल, पूर्वा के.सी. दुर्गा थापा मगर, कमला भण्डारी ढकाल र डा.लक्ष्मी पोखरेलले आ–आफ्ना कविता सुनाउनुभयो । त्यसका अतिरिक्त बुँद राना, छवि ज्ञवाली, डा.श्यामप्रसाद न्यौपाने, राधा भट्टराई, तिलक लामिछाने, डि. आर. न्यौपाने ‘सूर्य’ सँग भेट भयो । एक ठाउँबाट अर्को ठाउँमा साहित्यिक कार्यक्रममा जाँदा नयाँनयाँसँग जोडिने र सम्पर्क स्थापित गर्ने लक्ष्य पनि हो । त्यहीअनुरुप भैरहवाका स्रष्टासँग परिचय गर्न पाउँदा हामी उत्साहित थियौँ । रुद्र ज्ञवाली र वनमाली निराकारज्यूका रचनाहरू ‘मधुपर्क’ र ‘गरिमा’मा धेरै पहिलेदेखि पढे पनि चिनजान हुन पाएको थिएन । भैरहवा काव्ययात्राले त्यो अवसर जुटाइदिँदा खुशी लाग्यो ।
सोही कार्यक्रममा रूपन्देहीस्थित ती दुई संस्थाद्वारा हामीलाई मायाको चिनोस्वरूप बुद्धको प्रतिमा प्रदान गर्नुभयो । त्यसैगरी गुन्जनद्वारा पनि आफ्ना दुवै सहआयोजक संस्थाहरूलाई आभार पत्र तथा पुस्तकहरू प्रदान गरेपछि कार्यक्रम सम्पन्न भयो ।
दिउँसोको तीन बजेपछि हामी भैरहवाको प्रसिद्ध मिठाइ पसल पवन मिष्ठान्न भण्डारमा पुगेर कोसेलीस्वरूप पेडा किन्यौँ । यहाँको चर्चित मिठाइ पसल रहेछ यो । पसलमा ग्राहकको पनि भीडभाड थियो । घर फर्किंदा स्थानीय कोसेली ल्याउने हाम्रो संस्कार पनि छ । त्यही अनुरुप हामी त्यता पुग्यौँ । अबको बाँकी समय भने आफूले इच्छाएको ठाउँमा जान पाउने भयौँ । दिदीहरू होटलमै आराम गर्न लाग्नुभयो । आध्यात्मिक भूमि लुम्बिनी जाने मन थियो । यहाँबाट बीस किलोमिटर पर रहेको र घुम्ने समय पर्याप्त नभएकाले त्यता जाने आँट आएन । भैरहवाको बजारतिर घुमौँ कि भन्ने सोच्दै थियौँ, शनिबार भएकाले बजारहरू बन्द थिए यता । सुनौली बजार शनिबार पनि खुल्ने कुरा सुनियो । उमा सुवेदी, विन्दु सुवेदी दिदी र म नजिकै रहेको नेपाल–भारत नाका बेलहियातिर घुम्न जाने भयौँ । होटलअगाडि अटो तयार थियो । प्रति व्यक्ति पचास रुपियाँ दर रहेछ । अटोमा बसेर सुन्दर राजमार्गमा सरर हामी अगाडि बढ्यौँ । यो ठाउँमा म तेस्रोपटक आउँदै थिएँ । २०५६ सालमा दाजुको विवाहको लत्ताकपडा किन्न उहाँसँग यता आएकी थिए भने दोस्रोपटक २०७१ सालमा सहकारीको भ्रमणमा लुम्बिनी आउँदा सुनौली कटेर गोरखपुरको रेल हेर्न आएकी थिएँ ।
एकैछिनमा हामी बेलहिया आइपुग्यौँ । अहिले यो नाका चिन्नै नसकिने भएको रहेछ । निकै सफासुग्घर पनि लाग्यो । सडकहरू फराकिला र पिच गरिएका थिए । सीमा व्यवस्थापन पनि व्यवस्थित लाग्यो । एकअर्काको देशमा छिर्ने लाइन र चेकपोस्ट पनि व्यवस्थित थिए । भैरहवा र सुनौली जोड्ने मुख्य नाका भएकोले यहाँको सफाइ र संरचनामा ध्यान दिइएको देख्दा आनन्द आयो । नाकाको प्रवेशद्वारमा आकर्षक ढाँचाको गेट बनेको रहेछ । यो क्षेत्र लुम्बिनी क्षेत्रभित्र प्रवेश गर्ने प्रवेशद्वार पनि हो । पर्यटकलाई स्वागत गर्ने आकर्षक संरचनाले मन आह्लादित भयो । पहिलेभन्दा धेरै व्यवस्थित थियो यहाँ । यति हुँदाहुँदै पनि खुला नाका भएका कारण अवैध धन्दा गर्नेहरूका लागि उत्तिकै जोखिमपूर्ण क्षेत्र पनि हो यो । जसका कारण अनेक समाचारहरू हामी सुनिरहन्छौँ । नेपाल–भारत सिमानाको व्यापारिक नाका भएकाले होला आवागमन व्यस्त थियो । ठूलाठूला मालवाहक ट्रकले बाटो जाम थियो । हामी घुम्न आएको भनेपछि चेकपोस्टबाट अगाडि बढ्न सजिलै प्रवेश पायौँ । नेपालीको प्रमुख व्यापारिक केन्द्र भएकाले नेपाली भाषा नै बोलेको सुनिन्थ्यो । आवश्यक केही लत्ताकपडा खरिद गर्यौं । समय धेरै थिएन ।
घुम्ने मन हुँदाहुँदै पनि समयाभावले हामी होटल फर्कियौँ । भोलि बिहानै काठमाडौँतिर लाग्नु छ । बेलुकापख दिदीहरूका साहित्यिक सङ्घर्षका कथाहरू सुनेर बसियो र बेलैमा खाना खाएर कोठाभित्र पस्यौँ । कोठामा पसेर सुत्ने तरखर गर्दै थियौँ बाहिर हावाहुरी बेतोडले चल्यो । तेस्रो तलाको हाम्रो भवनका झयालहरू पनि हल्लन थाले । झयाप्प बत्ती गयो । एसी बन्द भयो । झ्यालको पर्दा पन्छाएर बाहिर हेरेँ । बेस्सरी रूखहरू हल्लिरहेका थिए । प्रकृतिको रौद्र रूप मच्चिरहेको थियो । तराईको हुरी देख्ने मौका विरलै मिल्छ । मैले निकै रहर गरेर हेरिरहेँ । पल्लो छेउमा आख्यानकार उमा सुवेदी जबर्जस्ती निदाउने प्रयास गरिरहेकी थिइन् तर हुरीले बेलाबेला निकाल्ने आवाजले उनको निद्रा चोरिरहेको थियो । म पनि ओछ्यानमा पल्टेर ओल्टोकोल्टो गर्दै रहेँ । कतिबेला निदाइछु एकैचोटि बिहान पाँच बजेको अलार्मले ब्यूझिएँ ।

