काठमाडौं । कथाकार भागीरथी श्रेष्ठको दोस्रो लघुकथाकृति ‘पानीको अर्थ’ लोकार्पण गरिएको छ ।
लघुकथा समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दयाराम श्रेष्ठलगायतले कृति सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा बोल्दै दयाराम श्रेष्ठले लघुकथा लेखनमा संरचनागत शुद्धताको महत्वमा जोड दिनुभयो ।
समीक्षक दीनबन्धु शर्माले कृतिमा सांकेतिक प्रभाव र दार्शनिक दृष्टिकोण रहेको उल्लेख गर्नुभयो भने हरिप्रसाद भण्डारीले ५४ लघुकथामा सामाजिक विकृति–विसंगति, राजनीति र देशको अवस्थामाथि तिखो व्यङ्ग्य प्रस्तुत गरिएको बताउनुभयो ।
समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले उक्त कृतिले लेखकको साहित्यिक उचाइ अझ बढाएको धारणा व्यक्त गर्नुभयो। कृतिकार श्रेष्ठले पाठकको मायाका कारण कृति प्रकाशनमा ल्याएको बताउनुभयो ।
अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएको कार्यक्रममा केशव पराजुली, तुलसीहरि कोइराला, पद्मावती सिंह, जलेश्वरी श्रेष्ठलगायतले मन्तव्य राख्नुभएकाे थियाे भने सञ्चालन तारा केसीले गर्नुभएको थियो ।

