साहित्यपोस्ट डट कम

भागीरथी गंगाको रोमाञ्चक गाथा

भागीरथी गंगाको रोमाञ्चक गाथा

परापूर्वकालमा भारतवर्षको इक्ष्वाकुवंशीय राजकुलमा सगर नाम गरेका एक यशस्वी सम्राट् भए । उनी सौन्दर्य, धैर्य, बल एवम् पराक्रमले सम्पन्न अत्यन्त प्रतापी थिए । उनी समस्त सुखैश्वर्यले परिपूर्ण थिए तापनि उनलाई जीवनमा एउटै कुराको कमी थियो– उनका पुत्र थिएनन् ।

उनले हैहय एवम् तालजंघ नामक क्षत्रियकुलको संहार गरी अन्य सकल राजवंशमाथि विजय प्राप्त गरेर आफ्नो एकच्छत्र साम्राज्य खडा गरेका थिए । राजा सगरका दुई पत्नी थिए : वैदर्भी र शैव्या । ती दुवै रूपयौवनसम्पन्ना थिए । एक पटक राजा सगर ती दुवै प्रिय पत्नीका साथ कैलास पर्वतमा गए र त्यहाँ पुत्रेच्छाले घोर तपस्या गर्न लागे ।

उनको एकाग्रभावले सम्पन्न घनीभूत तपस्याका प्रभावले आशुतोष भगवान् पशुपतिनाथ भोलेबाबा प्रसन्न हुनुभयो र प्रत्यक्ष दर्शन दिएर राजदम्पतिमाथि परम् अनुग्रहका साथ वर माग्ने आज्ञा दिनुभयो । करुणावतार देवाधिदेव महादेवमा महती श्रद्धाका साथ प्रणमन गरी राजा सगरले आफ्नो मनको गाँठो फुकाउँदै पुत्र याचना गरे ।

अनि, महादेवबाट यस्तो आज्ञा भयो :

हे राजन्, तिमीले यहाँ जुन विशेष मुहूर्तमा वर मागेका छौ त्यसको परिणामस्वरूप तिम्री एक पत्नीका गर्भबाट साठी हजार शूरवीर पुत्र उत्पन्न हुनेछन्, तर ती सबै एकसाथ विनष्ट पनि हुनेछन्, तर तिम्री अर्की पत्नीका गर्भबाट भने एउटै पराक्रमी पुत्र उत्पन्न हुनेछ जसले तिम्रो वंशपरम्परालाई अगाडि बढाउनेछ । तथास्तु !

यति भनेर यता देवाधिदेव महादेव त्यहीं अन्तर्हित हुनुभयो । उता प्रसन्नचित्त राजा सगर दुवै पत्नीका साथ राजदरबारतर्फ लागे ।

नभन्दै, केही समयपछि दुवै राजपत्नीहरू गर्भवती भए । यथासमय वैदर्भीले एउटा तुम्बी जन्माइन् भने शैव्याले चाहिं एक सुन्दर देवोपम पुत्र पैदा गरिन् । राजा सगरले यसको के काम ! भनेर त्यो तुम्बीचाहिं मिल्काउनै के आँटेका थिए, यकायक आकाशवाणी भयो : राजन् यस्तो दुस्साहस नगर्नुहोस् । यसै तुम्बीबाट एक एक बीज निकालेर घिउले परिपूर्ण घडाहरूमा अलग अलग राख्नुहोस् र यत्नपूर्वक रक्षा गर्नुहोस् ।

तुम्बीमा बीज थिए– साठी हजार । तिनलाई अलग अलग घृतपूर्ण घडामा राखियो र तिनको सुरक्षाका लागि एक–एकवटी धाईआमा नियुक्त गरियो । यथासमय आशुतोषका कृपाले ती सबै घडाबाट एक–एक बालकले जन्म लियो । यसरी राजा सगर यी साठी हजार र त्यो एक समेत जम्मा साठी हजार एक पुत्रले समेत धनी पिता बन्न पुगे ।

ती घडाबाट उत्पन्न साठी हजार केटाहरू भयंकर स्वभावका थिए, क्रूरकर्मा थिए, धरती आकाश सबैतिर स्वच्छन्दतापूर्वक विहार गर्दथे । आफ्नो ठूलौ फौज बाँधेर ती शूरवीर केटाहरू जथाभावी गर्दथे, तिनले देवता, गन्धर्व, दानव र मानव आदि सबै प्राणीलाई हैरान परेशान पार्न थालेका थिए ।

आखिर सकल पीडितगण मिलेर त्राहि माम् गर्दै एकपल्ट लोकपिता ब्रह्माजीका शरणमा गए । उहाँले भन्नुभयो :

तिमीहरू नडराओ, ढुक्क परेर बस, चाँडै नै तिनीहरूले आफ्नो दुष्कर्मको फल भेटनेछन्, ती सबै एकैपटक स्वाहा हुनेछन् । अब जाओ !

केही समयपछि राजा सगरलाई अश्वमेध यज्ञ गर्न मन लागेछ । यज्ञ प्रारम्भ गरियो । यज्ञका लागि छोडिएका घोडाको सुरक्षार्थ तिनै साठी हजार सगरसन्तान केटाहरू खटिए । त्यो घोडा समुद्रकिनारमा पुगेपछि एकाएक बिलायो । राजा सगरले समस्त पृथिवीतलमा धुइँपत्ताल गरेर भए पनि घोडा खोज्न आज्ञा दिए । सबैतिर छाप्छाप्ती खोजियो, तर घोडो भेटिएन । राजाले फेरि आज्ञा दिए : जसरी भए पनि घोडा खोजेर ल्याओ, घोडा फिर्ता नल्याई अब मलाई मुख नदेखाउनू । जाओ । भनेर राजाले कडा आज्ञा दिएपछि ती साठी हजार केटा फेरि घोडा खोज्न गए ।

घोडाको अत्तोपत्तो थिएन । गडेर हेर्दै जाँदा एक ठाउँ जमीनमा धाँजा परेको देखियो । हो न हो, घोडा यतैबाट अलप भएछ भन्ने विचार गरेर उनीहरू भएभरका कुटा, कोदाला, फरुवा, गैंती जे भेटिएका औजार लिएर डङ्का डङ् धरती खन्न लागे ।

महाप्रतापी महर्षि अगस्त्यले तननन पिएर सिनित्तै सुकाइदिएको महासमुद्र वरुणालयको भूगर्भमा रहेका असंख्य जीवजन्तुको सत्यानाश भयो । असूर, नाग, दानव र अन्य जीवजन्तु कसैका हात गिंडिए, कसैका खुट्टा ठुन्किए, कसैका गर्दन गिंडिए, कसैका हड्डी फोडिए, बिजोक भयो । हाहाकार आर्तनाद चल्यो तर खनाइ रोकिएन । लामो समयसम्म खन्दा खन्दा जमीनमा भयावह खाल्डो परिसक्यो, तर घोडो भेटिएन । क्रोधले उद्दीप्त बनेका साठी हजार सगरपुत्रले आखिर केही उपाय नलागेपछि समुद्रका पूर्वोत्तर दिशामा त्यही खाल्डोभित्र पसी धरती फोडेर पाताललोकमा प्रवेश गरे ।

अद्भुत भयो । ओहो ! अश्वमेध यज्ञवाला हराएको घोडो त त्यहाँ पो भेटियो । त्यहींनेर तपोमूर्ति महात्मा कपिल तपोलीन अवस्थामा रहनुभएको थियो । घोडो देखेर रोमाञ्चित र उत्तेजित बनेका साठी हजार केटाहरू परमतेजस्वी कपिलमुनिलाई अनादर गरी, उहाँलाई नाघ्दै र उफ्रिंदै, होहल्ला र कोलाहल मच्चाउँदै घोडातिर कुदे । मुनिवर कपिल स्वयं भगवान् वासुदेवका विग्रहरूप हुनुहुन्थ्यो । तिनीहरूको उच्छृंखल, अमर्यादित व्यवहारले उद्विग्न बनेका कपिलले आफ्ना महोग्र तेजोद्दीप्त नेत्रद्वयले तिनलाई हेर्नुमात्र के भएको थियो– एकाएक नेत्र–समुत्पन्न जाज्वल्यमान तेजोज्वालामा परेर ती साठी हजार केटाहरू तत्क्षण भस्मीभूत बन्न पुगे । अग्निज्वाला शान्त भएपछि यसो हेर्दा त, त्यहाँ साठी हजार सगरपुत्र छैनन्, खरानीको थुप्रोमात्र पो छ !

राजा सगरलाई रुनु न हाँस्नु भयो । घोडा भेटियो भनेर खुशी हुन पनि सकेनन्, उल्टै छोराहरू खरानी भएकामा शोकाकुल पो हुन पुगे । अर्को दुःखको कुरो के थियो भने : बचेको एक मात्र पुत्र, शैव्याको छोरो असमञ्जस पनि सारै उग्र र परमदुष्ट स्वभावको भएकाले उनले त्यागिसकेका थिए । असमञ्जसको छोरो, सगरको नाति थियो– अंशुमान् । आखिर अरु केही उपाय नलागेपछि राजा सगरले त्यसै नातिलाई बोलाएर भने :

बाबु, यज्ञमा विघ्न पर्नाले म अत्यन्त दुःखित भएको छु । घोडा भेटिएको छ, तिमी त्यसलाई लिएर आऊ ।

हजुरर्बाको आज्ञा शिरोपर गरी अंशुमान् उही बाटोबाट पाताललोक पुगे र महर्षि कपिलमुनिलाई परमश्रद्धाले नमन गरी आफ्नो मनोकामना व्यक्त गरे । कपिलमुनिले प्रसन्नताका साथ वर माग्न आज्ञा दिएपछि अंशुमान्ले यज्ञपूरणार्थ घोडा लैजाने अनुमतिका साथ आफ्ना साठी हजार पितृको उद्धार होस् भन्ने वर पनि मागे ।

कपिलमुनिले करुणापूर्वक भन्नुभयो :

वत्स, तिमीमा समस्त उत्तम सद्गुणहरू प्रतिष्ठित छन् । तिम्रा पुण्यले गर्दा यी साठी हजार सगरपुत्रहरू स्वर्गलोक जानेछन्, तिम्रा नातिले भगवान् आशुतोष शंकरलाई सन्तुष्ट तुल्याएर स्वर्गलोकबाट गंगाजीलाई धरतीमा अवतीर्ण गराउनेछन् र तिनले यी साठी हजार सगरपुत्रको उद्धार गर्नेछिन् । तथास्तु ! अब यो यज्ञीय घोडालाई लिएर जाऊ, तिम्रो कल्याण होस् ।

यसरी अंशुमान्का पुण्यप्रतापले घोडा यज्ञमण्डपमा आइपुग्यो । राजा सगरको अश्वमेध यज्ञ पनि सम्पन्न भयो । राजा सगर पूर्णकाम भए । अन्त्यमा आफ्ना नाति अंशुमान्लाई समस्त राज्यभार सुम्पिएर उनी दिवंगत भए ।

धर्मात्मा अंशुमान्ले समुद्रपर्यन्ता वसुन्धरालाई स्नेहपूर्वक परिपालन गरे । उनका पुत्र भए– दिलीप । ती अत्यन्त पुण्यशाली एवं धर्मात्मा थिए । तिनले आफ्ना साठी हजार पितृहरूको उद्धारका लागि गंगाजीलाई धरतीमा उतार्न धेरै प्रयत्न गरे, तर सकेनन् । आखिर वृद्धावस्था भएपछि आफ्नो सुयोग्य पुत्र भगीरथलाई राज्याभिषेक गरी दिलीपले वानप्रस्थ आश्रममा प्रवेश गरे । कालान्तरमा आफ्ना पुण्यकर्मका प्रभावले उनी पनि स्वर्गलोकवासी बने ।

राजा भगीरथ अत्यन्त प्रतापी पुरुष थिए । आफ्ना पूर्वजहरूको उद्धारका लागि घोर तपस्या गर्ने प्रण गरी, समस्त राज्यभार सुयोग्य मन्त्रिमण्डलमा सुम्पिएर उनी गिरिराज हिमालयका काखमा तपस्या गर्न गए । विविध प्राकृतिक छटाले सम्पन्न उक्त गिरिवरका क्रोडमा दिव्य एक हजार वर्ष तपस्या गरिसकेपछि प्रसन्न बनेकी स्वर्गकी महानदी गंगाजीले स्वयं साकार बनेर उनलाई दर्शन दिइन् ।

परम अनुग्रहका साथ भनिन् : भन, तिमी मसँग के चाहन्छौ ?

राजा भगीरथले श्रद्धापूर्वक प्रणाम गर्दै भने :

हे वरदायिनी, महानदी गंगे, हे मात ! भगवान् कपिल मुनिको क्रोधाग्निमा जलेर अकालमृत्यु वरण गर्ने सगरपुत्र, मेरा पूर्वज पितृहरुको उद्धारका लागि यस धरतीमा सवारी होस् । हजुरको पतितपावनी जलधाराले आप्लावित भएपछि मात्र भस्मावशिष्ट साठी हजार सगरकुमारहरूले स्वर्गमा स्थान पाउनेछन् । पितृ उद्धारको आकांक्षी यस भगीरथमाथि कृपा गरिबक्सियोस् ।

लोकपूजिता महानदी गंगाले प्रसन्नतापूर्वक भनिन् :

म तिम्रो इच्छा निःसन्देह पूरा गरुँली, तर यहाँ स्वर्गलोकबाट धरतीमा ओर्लिंदा स्वयं देवाधिदेव महादेवबाहेक मेरो वेग रोक्न सक्ने अरु कोही म देख्दिनँ, उहाँले कृपा गर्नुभयो भने म उहाँका शिरमा अवतरण गरुँली । तसर्थ हे भक्त भगीरथ, अब तिमी महादेवको आराधना गर ।

आफ्नो संकल्प पूरा गर्न कम्मर कसेका राजा भगीरथले पुनः गहन तपस्याद्वारा आशुतोष भगवान् शंकरलाई प्रसन्न तुल्याए र सबै कुरा वेलिविस्तार लाएर कृपापूर्वक गंगाजीलाई शिरमा धारण गरिदिनुहोस् भनी याचना गरे ।

भगवान् शंकरले पनि प्रसन्नताका साथ– म तिम्रा लागि देवनदी गंगालाई अवश्य धारण गरुँला, तथास्तु ! भनी वर दिनुभयो । अनि भगवान् शंकरले शस्त्रास्त्रले सुसज्जित भयंकर पार्षदहगणका साथ पर्वतराज हिमालयका शिखरमा पदार्पण गर्नुभयो र भन्नुभयो :

ल, अब स्वर्गंगालाई भूतलमा अवतरणका निम्ति प्रार्थना गर ।

राजा भगीरथले एकाग्रभावले प्रणामपूर्वक गंगाजीको चिन्तन गरे । भगवान् शिव स्वयं आफूलाई धारण गर्न खडा हुनुभएको देखेर पुण्यसलिला गंगाजी सहसा स्वर्गलोकबाट व्योममार्ग हुँदै, अनन्त अन्तरीक्षमा फैलिएका शिवजटाबाट हुँदै धरतीलोकमा अवतरित भइन् । यो विस्मयकारी दृश्य अवलोकन गर्न समस्त देवदेवी, गन्धर्व, यक्ष, नाग आदि गणहरू अन्तरीक्षलोकमा भेला भए । तल ओर्लिंदै गर्दा बडेमानका उठिरहेका जलभ्रमि र जलकल्लोलका साथ मत्स्यगण र ग्राहादि जलजन्तुहरूको खैलाबैला पनि सुनिन्थ्यो ।

स बभूव विसर्पन्ती त्रिधा राजन् समुद्रगा

फेनपुञ्जाकुलजला हंसानामिव पंक्तयः

क्वचिदाभोगकुटिला प्रस्खलन्ती क्वचित् क्वचित्

सा फेनपटसंवीता मत्तेव प्रमदाव्रजत्

क्वचित् सा तोयनिनदैर्नदन्ती नादमुत्तमम्

एवंप्रकारान् सुबहून् कुर्वती गगनाच्च्युता

पृथिवीतलमासाद्य भगीरथमथाब्रवीत् ।

(महाभारत, वनपर्व १०९ अध्याय, १०–१३ श्लोक)

पृथिवीतलमा ओर्लिंदै गरेकी, फेनपुञ्जले व्याप्त, अगाधजलपूर्णा समुद्रगामिनी गंगा तीन धाराहरूमा बाँडिएर राजहाँसका पंक्तिका समान सुशोभित देखिइन् । तिनी मदोन्मत्ता युवती झैं कतै नागबेली पर्दै, कतै माथिबाट तल चट्टानमा टकराउँदै, श्वेतवस्त्रले आच्छादित भए झैं धवल फेनपुञ्जले ढाकिएर तल ओर्लिरहेकी थिइन् । जलकल्लोलको कलकल नादमय श्रुतिमधुर संगीतले तरंगिता गंगाले भूतलमा ओर्लिएपछि राजा भगीरथलाई भनिन् –

अब भन, म कुन बाटाबाट कता जाऊँ, हे राजन् म तिम्रै लागि यस भूतलमा ओर्लिएकी हुँ ।

अनि राजा भगीरथले बाटो देखाउँदै साठी हजार सगरपुत्रको भष्मावशेषतिर गंगाजीलाई प्रेरित गरे । पतितपावनी गंगाजीको अथाह जलराशिले आप्लावित भएपछि तिनको उद्धार भयो । ती स्वर्गलोकनिवासी भए ।

यता, विश्ववन्दित भगवान् शंकर गंगाजीलाई जटाटवीमा धारण गरिसकेपछि गिरिराज कैलासपर्वततिर प्रस्थान गर्नुभयो । उता, गंगाजीले समुद्रतटमा पुगेर तीव्र वेगका साथ महर्षि अगस्त्यले तन्तनी पिएर सुकाएको वरुणालयलाई भरेर पूर्ववत् परिपूर्ण गराइन्, जो अद्यापि महासागरका रूपमा हाम्रा अगि विद्यमान छ । यसरी राजा भगीरथको अथक प्रयासले धरतीमा ओर्लिएकी हुँदा गंगालाई भागीरथी गंगा भनिन्छ । स्वर्ग, मत्र्य र पाताल यी तीनै लोकमा तीन वटा धारामा बहेकी हुँदा गंगाजीलाई त्रिपथगा पनि भनिन्छ ।

मानवकल्याणका लागि दिव्यलोकबाट यस धराधाममा उत्रिएकी पतितपावनी गंगाजी यो आर्यावर्त पुण्यभूमिलाई पवित्र तुल्याउँदै अद्यपर्यन्त बहिरहेकी छन् ।

हर हर गंगे ! गंगामाताको जय होस् ।

यो पावन प्रसंगलाई अभिरुचिपूर्वक नजर गर्नुहुने महाभारतीय आख्यान १०८ प्रकरणकै अनुरागी समस्त प्रिय पाठक बन्धुप्रति सप्रेम नमन गर्दै महाभारतका रोचक कथाको सिलसिला यहीं सुसम्पन्न गरिन्छ ।

……

२०८३ साल वैशाख १८ गते शुक्रवार, बुद्धजयन्ती,

ॐ अक्षरालयः ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.