साहित्यपोस्ट डट कम

भद्रपुरमा बहुभाषिक सांस्कृतिक महोत्सव सम्पन्न

भद्रपुरमा बहुभाषिक सांस्कृतिक महोत्सव सम्पन्न

भद्रपुर । कोशी प्रदेश स्तरीय तीनदिने बहुभाषिक सांस्कृतिक महोत्सव झापाको सदरमुकाम भद्रपुर मा सम्पन्न भएको छ । वैशाख ११ गतेदेखि सुरु भई १३ गतेसम्म चलेको उक्त महोत्सवमा कोशी प्रदेशका ११ जिल्लाका स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न भाषाका स्रष्टाहरूले कविता वाचन, नृत्य तथा गीत–संगीत प्रस्तुत गर्दै बहुभाषिक कला–संस्कृतिको समृद्ध झल्को दिएकाे थियाे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान को शास्त्रीय तथा परम्परागत संगीत विभाग र बहुभाषिक साहित्य संगीत कला केन्द्रको संयुक्त आयोजनामा सम्पन्न महोत्सवको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गर्नुभएकाे थियाे ।

बहुभाषिक साहित्य संगीत कला केन्द्रका अध्यक्ष तथा प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गायन, संगीत तथा गीत–रचनामा दीर्घ योगदान पुर्‍याउनुभएकाे ८१ वर्षीय अग्रज स्रष्टा दीपककुमार वान्तवालाई सम्मानसमेत प्रदान गरिएको थियो ।

महोत्सवले कोशी प्रदेशका विविध भाषा, साहित्य र सांस्कृतिक पहिचानलाई एकै थलोमा जोड्दै सांस्कृतिक आदान–प्रदान तथा सहकार्यलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.