साहित्यपोस्ट डट कम

बेलबारीमा मानन्धर अभागीको एकल गजल वाचन कार्यक्रम सम्पन्न

बेलबारीमा मानन्धर अभागीको एकल गजल वाचन कार्यक्रम सम्पन्न

मोरङ । मोरङको बेलबारीमा गजलकार मानन्धर अभागीको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ। कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा शिक्षा सन्देश इङ्ग्लिस स्कुलको सहयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

बेलबारी–२, लालभित्तीस्थित शिक्षा सन्देश इङ्ग्लिस स्कुलको सभाहलमा आयोजित कार्यक्रममा गजलकार अभागीले आधा दर्जन नेपाली तथा हिन्दी गजल वाचन गर्नुभयो। उहाँले अधिकांश गजल तरन्नुममै गाएर प्रस्तुत गर्नुभएको थियो। प्रेमिल विषयका गजल लेख्न रुचाउने अभागीले सो अवसरमा प्रेमका साथै सामाजिक तथा व्यङ्ग्यचेतयुक्त गजलहरू पनि वाचन गर्नुभयो।

गजल वाचनसँगै अभागीले गजल लेखनसम्बन्धी आफ्ना अनुभव सुनाउँदै मञ्च प्रदान गरी सम्मान गरेकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो। साथै साहित्यमा नयाँ पुस्ताको सहभागिता अपेक्षाकृत रूपमा बढ्न नसकेकोप्रति उहाँले गुनासोसमेत व्यक्त गर्नुभयो। कार्यक्रमका क्रममा गजलकार अभागीलाई आयोजक संस्थाको तर्फबाट सम्मान पनि गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार हर्कमान तामाङले यस्ता कार्यक्रमहरूले अग्रज स्रष्टाको सम्मान हुने बताउँदै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। सुन्दरहरैँचा कला साहित्य विकास समितिका संस्थापक अध्यक्ष डा. छवि वैरागी घिमिरेले गजलको सैद्धान्तिक परिभाषाबारे विवाद भए पनि स्रष्टाको मूल काम लेखन भएकाले निरन्तर सिर्जनामा लागिरहनुपर्ने विचार व्यक्त गर्नुभयो।

त्यसैगरी शिक्षा सन्देश इङ्ग्लिस स्कुलका सहायक प्रधानाध्यापक विशाल राईले अग्रज स्रष्टाको सम्मानमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रममा बेलबारी र सुन्दरहरैँचा क्षेत्रका विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साहित्यकारहरूसँगै शैक्षिक, सामाजिक व्यक्तित्व, शिक्षक तथा विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा डा. छवि वैरागी घिमिरे, रमेश निरौला, तिला लेकाली, चिरञ्जीवी काफ्ले र एकराज भट्टराईले आ–आफ्ना एक–एक गजल वाचन गर्नुभएको थियो।

लामो समयदेखि गजल लेख्दै आउनुभएका काठमाडौं निवासी गजलकार अभागी पूर्व नेपाल आगमनको अवसर पारेर उहाँको सम्मानार्थ एकल गजल वाचन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ले गर्नुभएको थियो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.