तपाईं कहाँबाट आउनुभयो ?
प्रश्न एउटा तर उत्तर छन् अनेक । कोही भन्छन् नेपालबाट आएको, कोही अमेरिका, बेल्जियम, पोर्चुगल, कोही बेलायतकै अर्को शहरबाट आदि इत्यादि । अनुहार नेपाली, व्यहोरा नेपाली, भाषा र पहिरन पनि आधाउधी नेपाली तर तिनको उत्पत्ति स्थान भने फरक फरक, नेपालभन्दा धेरै टाढा । त्यहाँ उपस्थित धेरैजनाको औपचारिक कागजी पहिचान “नेपाली” होइन तर शैली भने सबै नेपाली नै महसुस हुन्छ । रमाइलो कुरो चाहिँ के हो भने, उनीहरू सबैजना एउटै परिवार वा एउटै नातेदार सर्कलभित्रका हुन् । नातामा ज्वाइँ, छोरी, भाइ, भतिजा, भान्जा भान्जी, मामा माइजू, दिदी भिनाजु आदि इत्यादि । ती सबैजना जम्मा भएका हुन् बेलायतको लण्डनमा हुन लागिरहेको एउटा वैवाहिक कार्यक्रममा भाग लिनका लागि ।
बिहे हुँदैछ नेपाली मूलको कुमारको भारतीय मूलकी कन्याका साथ । नागरिकताका हिसाबले वर र वधु दुवै ब्रिटिश । वैवाहिक कार्यक्रमको स्थल रहेको छ बेलायती शहर लन्डनदेखि करिबन ५० किलोमिटर बाहिरको शान्त वातावरणमा जमिरहेको एउटा लक्जरी होटेल, जसको नाम रहेको छ पेन्डले मेनर होटेल (Pendley Manor Hotel) हरियालीले घेरिएको सुन्दर संरचना ।
बिहानैदेखि नेपाली तथा नेपाली मूलका पाहुनाहरूको बाक्लै फर्याकफुरूक छ पेन्डले मेनरको आँगनमा । अत्यधिक पाहुनाहरूले पहिरिएका छन् नेपाली नै पहिरन । महिलाहरू राता आकर्षक सारीले बेरिएका छन्, पुरूषहरू बरियाती दौरा सुरूवाल कोट र टोपीले सजिएका छन् । त्यस होटेलको भित्र बाहिर गरिरहेका अन्य आगन्तुक तथा पाहुनाहरू फरक पोशाक र प्रस्तुतिलाई निहाल्दै छन् आ-आफ्नै तरिकाले । साँच्चै नै त्यो होटेलको आँगनमा एउटा कमै देखिने दृश्य फैलिएको छ । त्यस्ता पोशाक र पहिरनका मान्छेहरूको जमघट अरू बेला नहोला त भन्न सकिन्न तर विरलै हुँदो हो ।
आजको बेहुलो अर्थात् जितजंग खत्री क्षेत्री पूरै नेपाली पहिरनमा सजिएको छ । नेपाल तथा अमेरिकाबाट आएका फुपूहरूले उसलाई पर्फेक्ट नेपाली बेहुलाका रूपमा सजाएका छन् । शिरमा रातो नेपाली टोपी, बुट्टेदार सेतो दौरा सुरूवाल, निधारमा रातो टिका, कम्मरमा खुकुरी र गलामा हरियो दुबोको मालामा ऊ निकै उत्कृष्ट देखिएको छ । म सोच्दैछु भिगा भाउज्यूको पनि बाक्लै योगदान होला उसलाई पर्फेक्ट नेपाली पहिरनको बेहुलाका रूपमा उतार्नका लागि । आखिर बेहुलाको आमा जो हुनुहुन्छ भिगा भाउज्यु ( भिगा माथेमा ) ।
एकजना मान्छे हातमा ढोलक जस्तो यन्त्र लिएर बेहुलाको गाडीको अगाडि उभियो । ऊ रहेछ बाजा बजाउने मान्छे । उसले त्यो ढोलक ठोक्न शुरु गर्ने बित्तिकै त्यहाँ भएका सबैलाई तातो लागिहाल्यो । मान्छे एकजना भए पनि हुलका हुल बाजा बजाउनेहरू जस्तो महसुस गराउँदैछ आफ्नो जोडदार थप्पाले । मानौँ ऊ वान मेन बैण्ड हो ।
ढोलकलाई कलात्मक तरिकाले ठोक्दै ढोलक बजाउने मान्छे अगाडि लाग्यो । उसको पछाडि छ बेहुलोको गाडी । बेहुलोको गाडीलाई पछ्याउँदै अगाडि बढ्न थाले पत्र वा सगुनका सामान बोक्ने पाहुनाहरू । त्यसपछि समग्र बरियात । ढोलकले त्यो बरियातलाईमात्रै होइन पूरै होटेल र परिवेशलाई नै ततायो एकप्रकारको ऊर्जा भरेर । केहीबेरमै बरियात विवाह मण्डपमा पुग्यो ।
विवाहको मण्डपलाई एउटा हिन्दु बिहे झल्किने गरी सजाइएको छ । हाम्रोतिरको जस्तो बाँसको लिंगो वा निँगालाको हाँगालाई जग्गेको रूपमा गाडेको भने देखिँदैन । त्यो मण्डप एउटा केही होचो स्टेजको रूपमा रहेको छ । मण्डपको एउटा भागमा भगवान गणेश विराजमान हुनुहुन्छ ।
विवाह कार्यक्रम संचालन गर्दैछन् कमल नाम गरेका भारतीय पण्डित । सायद उनी गुजराती पुरोहित हुन् । माइकमा सुनिनेछ उनले संचालन गर्ने विवाद पद्धति । वर र वधु दुवै पक्ष हिन्दु धर्मावलम्बी हुन् । त्यसैले सायद पण्डितले गुजराती तरिकाले वैवाहिक कार्यक्रम चलाउने छन् भन्ने मेरो अनुमान छ । पुरोहितको आवाज अंग्रेजी भाषामा प्रवाह भैरहेको छ ।
पर्दा बिचको प्रवेश विन्दुमा एउटा सानो माटोको भाँडो सजाएर राखिएको देखियो । बेहुलाले त्यो भाँडोलाई आफ्नो खुट्टाले कुल्चिएर फुटाउनुपर्ने रहेछ । बेहुला उभिएका छन् बिचमा, एकापट्टी वर र वधुका पिताहरू छन् भने अर्कातिर उभिएका छन् माताहरू ।
“यदि त्यो भाँडो आफ्नो खुट्टाले कुल्चिएर फुटाउन सक्यौ भने तिमीलाई यो विवाह मण्डपमा स्वागत गरिनेछ । तर सकेनौ भने तिमी खाली हात आफ्नै घर फर्किनुपर्नेछ ।” पुरोहित कमलले बोलेको सन्देश माइकमा सुनियो । त्यही सन्देशसँगै एक लर्को हाँसो फैलियो पाहुना दिर्घामा ।
“हाम्रा लागि ७ वटी आमा मिलेका छन्, जन्मदिने आमा लगायत अन्य ६ आमा । पृथ्वी माता पनि एउटी आमा हुन्, आमा पृथ्वी । त्यो भाँडो फुटाएर आमाहरूप्रति तिमीले यो प्रतिज्ञा गर्दैछौ कि तिमी एउटा वैवाहिक पुरूषका रूपमा गृहस्थ जीवन बिताउनेछौ । त्यसका लागि यसले तिम्रो शक्तिको संकेत र पटेल परिवारप्रतिको सम्मान झल्काउनेछ ।” पुरोहितले थप सन्देश पनि दिए ।
“स्वस्ती वाचनम् । तिमीहरू जुनसुकै भगवानमा विश्वास गर्छौ वा मान्छौ, मनले सम्झ आ-आफ्ना भगवानलाई । मैले मन्त्र पढिसकेपछि मन्त्रको अन्तिम अंश ‘ओम शान्ति शान्ति शान्ति’ मसँग एकै साथ पाठ गर ।” पुरोहितले कार्यक्रमको एउटा भागमा पुग्दा भने । उनले मन्त्र पाठ गर्न शुरु गरे । अरूले त कुन भगवान् सम्झिए मलाई थाहा छैन तर मैले भने आफ्ना भगवानमध्ये केही भगवानहरूको सम्झना गरेँ । ओम शान्ति शान्ति शान्ति ।
कार्यक्रम अघि बढ्दै जाने क्रममा मण्डपमा एउटा फराकिलो नाङ्ग्लो जत्रै आकारको पहेलो रंगको धातुको थाल राखियो । बेहुलालाई आफ्ना दुवै खुट्टा त्यसै थालमा राख्न लगाइयो । पुरोहितले बेहुलीका पितालाई बेहुलाको पाउ स्पर्श गर्नका लागि भने ।
“हाम्रो हिन्दु धर्ममा ठुलाले सानाको खुट्टा छुँदैनन् । केवल साधु, ब्राम्हण अथवा गुरुको मात्रै । बेहुलीका पिता पनि बेहुलाका लागि आफ्नै पिता सरह नै हुन् तर आज बेहुलीका पिता बेहुलाको खुट्टा छुँदैछन् बेहुलालाई पटेल परिवारमा स्विकार्नका लागि । यो नै उनको अन्तिम स्पर्श हो बेहुलाको खुट्टामा । यसपछि कहिल्यै पनि उनले बेहुलाको खुट्टामा छुने छैनन् ।” पुरोहितले स्पष्ट पारे ।
म भने गुजराती संस्कार अनुसारको त्यो हिन्दु बिहेलाई नेपाली संस्कारसँग मिसाउन खोज्दैछु । हाम्रातिर बेहुला बेहुलीको खुट्टा धुने कार्यक्रमको अंश पो थियो कि त्यो भन्ने लाग्दैछ । पहिले पहिले कन्याका पिता तथा माताले मात्रै खुट्टा धुने कार्यक्रम थियो होला, पछि जनसंख्या बढ्दै गएर परिवार र नाताभित्रका अरू पनि यस कार्यमा सरिक हुन थालेका होलान् । यद्यपि गुजराती संस्कारमा केवल बेहुलीका पिताले मात्रै बेहुलाको पाउको स्पर्श गरेका हुन् कि भनेर आफैँले विश्लेषण गरेँ मनमनै ।
बेहुलीलाई उनको आफ्नै भाइले लिएर गए विवाह मण्डपमा । बेहुलीले मण्डपमा प्रवेश गर्नु पहिले नै एउटा सेतो कपडाले बेहुलालाई छेकिएको छ । उनले बेहुलीको आगमनलाई देखेका छैनन् भने बेहुलीले पनि बेहुलाको अनुहार देखेकी छैनन् । पुरोहितले मण्डपमा उक्लिएकी बेहुलीको सम्पूर्ण आगन्तुक तथा पाहुनाहरूलाई परिचय गराए “सुन्दरी बेहुली नेमिसा” भनेर । दर्शकदीर्घाबाट बाक्लो तालीका साथ स्वागत गरियो बेहुलीको ।
बेहुलीकी आमाले बेहुलीको खुट्टा धोइदिइन् एउटा पहेलो रंगको धातुको फराकिलो भाँडोमा । लगत्तै बेहुलाको अगाडिको पर्दा हटाइयो । बेहुला बेहुली दुवैले एक अर्कालाई हेरे । बेहुलीको मुहारमा एक लर्को मुस्कान फैलियो मन्द स्वरूपमा । तर बेहुलाको अनुहारको मुस्कानमा भने केहीबेरमै लज्जाका केही पत्रले ढाकिएको महसुस भयो ।
विवाह पद्धतिको एउटा दृश्यमा बेहुला र बेहुली एक अर्काको सम्मुख भएर उभिए । दुवैका हातमा दुबोको हरियो माला एक अर्कालाई पहिर्याउनका लागि तैयारी अवस्थामा छ । सायद स्वयंम्वरको प्रक्रिया होला भन्ने अनुमान गर्छु म । त्यसै बिच पुरोहित कमल केही भन्छन् हास्य शैलीमा, “जितजंग, तिम्लाई म एउटा प्रश्न गर्छु । तिमीले सही उत्तर दियौ भने ठीक छ तर दिएनौ भने म के गर्छु तिमीलाई थाहा छ । ल भन तिमीहरू दुईजनाको पहिलोपटक कहिले (कुन वर्ष ) भेट भएको थियो ?”
जितजंग सोच्न थाल्छ । उसको मुखमा तैयारी अवस्थामा कुनै जवाफ छैन र हुने कुरा पनि भएन । नेमिशा अर्थात् बेहुली आफ्नो हुँदै गरेको पतिदेवले के उत्तर दिन्छ भनेर उसको मुख ताकेर मुस्कुराइरहेको दृश्य हेर्न लायक र रमाइलो लाग्छ सबैका लागि ।
“जब पुष्पवाटिकामा सीतादेवीका आँखाले भगवान रामचन्द्रका आँखा भेटेका थिए तब सीतादेवीले श्री रामचन्द्र भगवानसँग नै बिहे गर्ने ठानिन् । यही कुरालाई हृदयमा राखेर उनी मन्दिरतिर दौडिइन् ।” पुरोहितले थपे ।
केहीबेरमै बेहुली नेमिशाले बेहुलो जितजंगको गलामा दुबोको माला पहिर्याइन् । जितजंगले पनि माला पहिर्याए नेमिशाको गलामा । नेपाली मूलको बेहुलो, भारतीय गुजराती मूलकी बेहुली औपचारिक रूपमा विवाह बन्धनमा बाँधिँदै गर्दा पृष्ठभूमिमा भने हिन्दी गित मधुर धुनमा बजिरहेको छ । आगन्तुक, पाहुना तथा दर्शकहरूले बाक्लो तालीका साथ त्यो भव्य र महत्त्वपूर्ण क्षणमा उनीहरूलाई साथ दिए । माला पहिरिसकेका बेहुलोलाई नेमिशाले उसको मालामा हेरिरहिन् केहीबेरसम्म । मैले सोचेँ शायद उनीभित्र केही कुरा जन्मिएको छ आफ्नो जीवनसाथीका बारेमा ।
पुरोहित कमलले दुवैका हातमा अर्को एक एक सुन्दर फूलको माला थमाइदिँदै भने, “यो जुन पहिलो माला थियो, यो दुबोको माला हो । यो नेपाली परम्परा अनुसारको माला हो जुन नेपालमा महत्त्वपूर्ण कार्यक्रमका अवसरमा पहिर्याइन्छ । यहाँ अन्य माला पनि छन्, यी भारतीय परम्परा अनुसारका माला हुन्, जुन बेहुला बेहुलीले एक अर्कोलाई पहिर्याउनेछन् । यसरी यहाँ दुई फरक सुन्दर परम्पराहरूको मिलन पनि भैरहेकोछ ।”
परररर ताली बज्यो दर्शकदीर्घाबाट । बेहुला बेहुलीले भारतीय परम्परा अनुसारको फूलको माला पनि एक अर्कालाई पहिर्याए । आगन्तुक पाहुनाहरूले ताली र आवाजका साथ भव्य साथ दिए ।
एउटा अर्को दृश्यमा मण्डपमा आगो बालिसकेको अवस्था छ । अर्थात् अग्नी देवताको उपस्थिति । अग्नीकुण्डका अगाडि उभिएका छन् बेहुला र बेहुली । मण्डपमै उक्लेका छन् बेहुला र बेहुली पक्षका केही आफन्त । पुरोहित भन्दैछन् बेहुलालाई, “वैवाहिक जीवनमा जति सुन्न सक्ने बन्यो त्यत्ति राम्रो । अब म मन्त्र पाठ गर्छु, ध्यान दिएर सुन यी नियमहरू । जसै म मन्त्रोच्चारण सक्छु तिमीहरूले आ-आफ्नो सिट लिनुपर्नेछ । जसले पहिले सिट लिन्छ त्यही विजेता हुनेछ ।” त्यसपछि उनले मन्त्रोच्चारण शुरु गरे । सकिने बित्तिकै बेहुली पहिले बसिन् ।
“दर्शकहरू, कृपया तपाईं नै भन्नुस् त कसले जित्यो ?” पुरोहितले सोधे ।
“जीतजंग, जीतजंग, जीतजंग ।” दर्शकहरूको प्रतिक्रिया फरक ढंगले आयो ।
“अब मंगलशुत्र धारण गर्ने कार्यक्रम शुरु हुन्छ । पश्चिमे संस्कृतिमा औँठी आदान प्रदान गरेर विवाह सम्पन्न गरिन्छ । हाम्रो हिन्दु धर्ममा दुई कुराले विवाहको प्रक्रिया पूरा गर्छ । पहिलो हो सिन्दुर । वरले सिन्दुर वधुको सिँउदोको बिच भागमा हाल्छन् । यसले दुई पवित्र आत्माको मिलनको सङ्केत गर्छ । पतिको देब्रेपट्टिको भागले पत्नी र पत्नीको दाहिनेको भागले पतिको प्रतिनिधित्व गर्छ । त्यसै भएर नै अर्धाङ्गिनी भनिएको हो । अर्धाङ्गिनीको अर्थ आधा आधा शरीर हो । वरले वधुको शिरको बिच भागमा सिन्दुर हालेर विवाह सम्पन्न गर्छन् । त्यसैगरी दोस्रो हो, मंगलसूत्र धारण । मंगलसूत्र दुई चिजले बनेको हुन्छ । पहेँलो सुन र कालो बिज । कालो बिजले भगवान शंकरको प्रतिनिधित्व गर्छ भने सुनले पार्वतीदेवीको । सिन्दुर हालेर र मंगलसूत्र पहिर्याएर शिव पार्वतीले यस जोडीको रक्षा गरून् भनेर प्रार्थना पनि गरिन्छ । नेपाली परम्परामा पहिले वधुको शिरलाई कपडाले ढाकिन्छ र वरले भुइँदेखि सिन्दुर हाल्दै लगेर वधुको सिँउदोसम्म पुर्याउँछन् । तर गुजराती परम्परामा भने वरले सिधै तीन पटक वधुको सिँउदोमा नै लगेर सिन्दुर हाल्ने चलन रहेछ । यहाँ अहिले हामी गुजराती परम्परा अनुसार सिन्दुरको कार्यक्रम सम्पन्न गर्दैछौँ ।”
पुरोहितले बेहुलालाई उनले पाठ सक्ने बित्तिकै तीन पटक बेहुलीको सिँउदोमा सिन्दुर हाल्नका लागि आदेश दिन्छन् ।
कार्यक्रमको एउटा भागमा पुरोहित भन्छन्, “जितजंग, नेमिशा, विवाह आफैँमा पूर्ण हुँदैन । विवाहलाई पूर्ण बनाउनका लागि हरेकले केवल दिनुपर्छ, दिनुपर्छ र बिर्सिदिनुपर्छ । जीवनमा धेरै गल्तीहरू हुन सक्छन् जोकोहीबाट तर हामीसँग माफी दिने वा गल्ती बिर्सिदिने हृदय हुनुपर्छ । विवाहले दुवैलाई बराबर बनाउँछ, कोही ठुलो कोही सानो हुँदैन । दुवै बराबरको हकदार ।”
कार्यक्रमको अन्तमा एउटा खेल हुने भो । बेहुला पक्ष र बेहुली पक्षका केही पाहुनाहरू मण्डपमा उक्लिए । बेहुला बेहुली एउटा एउटा मेचमा बसे । उनीहरूका अगाडि एउटा पहेँलो रंगको धातुको भाँडा राखियो । शायद खड्कुलोको प्रतीक थियो । खेल अनुसार त्यो भाँडाको पानीमा औँठी राखिने भयो जसलाई बेहुला र बेहुलीले जसले सक्यो उसले भेट्टाउनु पर्यो । जसले भेट्टायो उसैले जित्यो । मलाई लाग्यो कि हाम्रोतिर विवाहको दोस्रो दिन सम्पन्न हुने माछा मार्ने कार्यक्रमकै प्रतिलिपि थियो त्यो कार्यक्रम ।
पहिलो पटक र दोस्रो पटक बेहुलीले नै जितेको भएपनि पुरोहितले बेष्ट अफ फाइब बनाएर बेहुलालाई जित्न सहयोग गरेको देखियो । पछिल्लो तीन पटक भने बेहुलोले भेट्टायो औँठी । पुरोहितले बेहुलालाई विजेता घोषणा गरिदिए ।
५ अक्टुवर २०२५ को त्यो दिन विवाह मण्डपको कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएपछि सम्पूर्ण पाहुनाहरूलाई खाना खानका लागि बोलाइयो । बरियात तथा पाहुनाहरू खाना खानका लागि लाइनमा गएर उभिए । म सोच्दैछु कि यो लाइनमा बसेर खानुपर्ने खाना के पो होला ! केही अगाडि पुगेपछि हरेक पाहुनालाई एउटा एउटा थाल दिइयो । त्यो थाल हाम्रोतिरको पूजाको थाली जस्तो खाल्डै खाल्डा भएको रहेछ । खाना बाँड्नका लागि उभिएका छन् युवा युवतीहरू । बुफे होइन रहेछ । खाना खाँदै गर्दा कसैले भन्यो यो पञ्जाबी खाना हो । बेहुलो नेपाली मूलको बेलायती, बेहुली भारतीय मूलकी बेलायती, वैवाहिक परम्परा हिन्दु धर्ममा आधारित नेपाली र गुजराती मिश्रित, र खाना पञ्जाबी, अनौठै संयोग मान्नुपर्छ त्यो वैवाहिक कार्यक्रममा ।
नेपाली परम्पराको बेहुलीको मुख हेर्ने कार्यक्रम भोलिपल्ट यथावत रूपमा चल्यो ।
बस, यसैगरी एउटा नेपाली परम्परासँग जोडिएको बिहे बेलायती भूमिमा सम्पन्न भयो ।
नेपालमा गरिने वैवाहिक कार्यक्रम र बेलायतमा गरिने वैवाहिक कार्यक्रमलाई तुलना गर्न नमिल्ने रहेछ । नेपालमा गरिने वैवाहिक कार्यक्रमहरू वर र वधुको बाबु आमाको जिम्मेवारीमा जोडिन आउँछ र त्यही अनुसारको आर्थिक दायित्व वहन गर्नुपर्ने हुन्छ बाबु आमाले । बेलायतमा हुने विवाह, मैले सुने अनुसार, वरवधुको कमाई, जोगाई, रोजाई अनुसार उनीहरूकै जिम्मेवारीमा सम्पन्न हुने गर्दछ । अर्थात् बेलायतमा हुने वैवाहिक कार्यक्रम वरवधुको चाहना र योजनानुसार हुने रहेछ र उनीहरूले नै सम्पूर्ण आर्थिक दायित्वको भार वहन गर्ने रहेछन् ।
यो बेलायती भूमिमा सम्पन्न भएको बिहेमा केही नौला कुराहरू जान्ने मौका मिल्यो । सबैभन्दा राम्रो लाग्यो भारतीय पुरोहित कमलजीको विवाह पद्धतिको विभिन्न अंशहरूको व्याख्या प्रक्रिया । उनी विभिन्न वैदिक कार्यहरूको अर्थ र महत्त्व बताउँथे । वरवधुलाई सन्देश दिन्थे । उनीहरूको काम, कर्तव्य र जिम्मेवारी अवगत गराउँथे । कतिपय कुराहरू नेपाली परम्परसँग मिलथ्यो तर कुनै कुनै प्रक्रिया हाम्रा लागि नौला पनि थिए । भररर संस्कृतमा पाठ गर्दैमा उनको कर्म सकिँदैनथ्यो । हरेक कुरा र कर्मको उनी सप्रसंग व्याख्या गर्थे ।
वर्षौंदेखि बेलायती भूमिमै बसोबास गरेर त्यहीँको संस्कृतिमा लपक्कै भिजिसकेको भएपनि त्यो जोडीले नेपाली र भारतीय हिन्दु परम्परा अनुसार आफ्ना बाबु आमा र आफन्तीहरूको उपस्थितिमा वैवाहिक कार्यक्रम सम्पन्न गर्नु चानचुने कुरो होइन । मैले मुक्त कण्ठले उनीहरूको प्रशंसा गरेँ ।
जितजंग खत्री क्षेत्री र नेमिशा पाटिलको सफल वैवाहिक जीवनको कामना गर्दै यो लेखलाई यही बिट मार्छु । चालिस दिने बेलायत यात्राको डायरीमा यो विवाहको कार्यक्रम पनि अविस्मरणीय रहेर बस्नेमा म विश्वस्त छु । धेरै छन् बिर्सिनै नहुने कुराहरू यो बेलायती विवाह कार्यक्रमको ।

