साहित्यपोस्ट डट कम

वसुन्धराश्री पुरस्कार लोकेन्द्रबहादुरलाई र मानश्री पुरस्कार अरुणलाई

वसुन्धराश्री पुरस्कार लोकेन्द्रबहादुरलाई र मानश्री पुरस्कार अरुणलाई

काठमाडौँ । वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका कुलपति दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले आधुनिक नेपाली कथा, नाटक र निबन्ध क्षेत्रमा चन्दले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उहाँलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीका अनुसार चन्दले नेपाली वाङ्मयलाई समृद्ध, सार्थक र गरिमामय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएकाे छ ।

विसं १९९७ मा बैतडीमा जन्मिनुभएकाे चन्दका विसर्जन, हिउँको तन्ना, बाह्रौँ खेलाडी, अपराजिता र नेताका साथी लगायत कृतिहरू प्रकाशित छन् ।

यसैगरी प्रतिष्ठानले यस वर्षको मानश्री पुरस्कार योग, ध्यान तथा आध्यात्मिक दर्शनको प्रवर्द्धनमार्फत नेपाली वाङ्मय र सभ्यताको विस्तारमा योगदान पुर्‍याएको भन्दै स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ ।

विसं २००१ मा जनकपुरमा जन्मिनुभएकाे स्वामी आनन्द अरुणका अन्तरयात्रा, सन्तगाथा, सन्तदर्शन र अचम्म जो देखेँ मैले लगायत कृतिहरू प्रकाशित छन् । उहाँका कृतिहरू अंग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुवाद भएका छन् ।

दुवै पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.