साहित्यपोस्ट डट कम

वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ सार्वजनिक

वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ सार्वजनिक

काठमाडौं । लेखक वसन्त थापाको संस्मरणात्मक कृति ‘एउटा औसत जिन्दगी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण श्रेष्ठ कक्षमा आयोजित समारोहमा कृतिको लोकार्पण गरिएको हो ।

लेखक वसन्त थापा, साहित्यकार खगेन्द्र सङ्ग्रौला, विश्लेषक हरि शर्मा तथा थापाका नाति–नातिनीहरूले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

फाइनप्रिन्टद्वारा प्रकाशित कृतिमा विभिन्न पत्रपत्रिका तथा पुस्तकमा प्रकाशित थापाका संस्मरणात्मक लेखहरू सङ्गृहीत छन् । कार्यक्रममा साहित्यकार खगेन्द्र सङ्ग्रौलाले लेखक थापासँग उहाँको लेखनयात्रा, सङ्घर्ष तथा तत्कालीन धरानको साहित्यिक परिवेशबारे संवाद गर्नुभएको थियो ।

पुस्तकमा समावेश ‘म किन लेखक होइन’ शीर्षकको लेखको प्रसङ्ग उठाउँदै सङ्ग्रौलाले अनेकौँ निबन्ध र संस्मरण लेखिसकेका तथा कृति प्रकाशित भइसकेका व्यक्तिले आफूलाई लेखक नभन्नु कत्तिको उचित हो भन्ने प्रश्न गर्नुभएको थियो । जवाफमा थापाले आख्यान विधामा कलम नचलाएकाले आफूलाई लेखकको परिभाषाभित्र राख्न सङ्कोच हुने बताउनुभयो ।

कार्यक्रममा विश्लेषक हरि शर्माले पुस्तकले एक पुस्ताको भोगाइ, समयचेत र सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको धारणा राख्नुभयो । उहाँले नयाँ पुस्तालाई अघिल्लो समयको समाज, सोच र जीवनपद्धति बुझ्न कृति उपयोगी हुने बताउनुभयो ।

“समयचेत बुझ्न नपढी नहुने पुस्तक हो, एउटा औसत जिन्दगी,” शर्माले भन्नुभयो, “वसन्त थापा कुशल सम्पादक मात्र होइन, आफ्ना लेखनलाई पनि उत्तिकै चुस्त र प्रभावकारी बनाउन सक्ने स्रष्टा हुनुहुन्छ ।”

फाइनप्रिन्टका प्रकाशक अजित बरालले थापाको भाषाशैली र संस्मरण लेखनले नेपाली समाजको परिवर्तनशील चरित्र बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने बताउनुभयो । भाषा र अभिव्यक्तिको दृष्टिले समेत पुस्तक पठनीय रहेको उहाँको भनाइ थियो ।

संस्मरण विधामा विशिष्ट पहिचान बनाउनुभएका थापाले यस कृतिमार्फत बाल्यकाल, गाउँको परिवेश, युवावस्थाका अनुभव तथा नेपाली समाजको रूपान्तरणलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । आत्मपरक भए पनि कृतिले एउटा पुस्ताको सामाजिक, सांस्कृतिक र ऐतिहासिक अनुभवलाई अभिलेखित गरेको टिप्पणी गरिएको छ ।

वसन्त थापा भाषा सम्पादक, अनुवादक तथा स्तम्भकारका रूपमा परिचित हुनुहुन्छ । उहाँले लामो समय ‘हिमाल खबरपत्रिका’मा ‘ऋतुराज’ उपनामबाट ‘ऋतुविचार’ व्यङ्ग्य स्तम्भ लेख्नुभएको थियो । उहाँ हिमाल द्वैमासिकका पूर्वसम्पादक, काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष तथा हिमाल बुक्सका पूर्वप्रबन्ध निर्देशकसमेत हुनुहुन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.