चितवन । पत्रकार तथा लेखक बसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई यस वर्षको ‘कविडाँडा कृति पुरस्कार’ प्रदान गरिने भएको छ । कविडाँडा साहित्य समाजले ऐतिहासिक विषयवस्तुमा आधारित उक्त कृतिका लागि पुरस्कार घोषणा गरेको हो ।
समाजका अध्यक्ष एल वि क्षेत्रीका अनुसार पुरस्कारको राशी १५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । ‘बखान’ उपन्यास चितवनको बस्ती विकासको क्रमसँगै प्रजातन्त्र सेनानी बखानसिंह गुरुङको जीवनीमा केन्द्रित छ ।
यसैबीच, समाजले ‘देव खिना स्मृति पुरस्कार’बाट साहित्यकार पोषराज पौडेललाई सम्मान गर्ने घोषणा गरेको छ । उक्त पुरस्कारको राशी पनि १५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।
दुवै पुरस्कार आगामी जेठ ९ गते आयोजना गरिने विशेष समारोहमा वितरण गरिने समाजका सचिव लेखराम सापकोटाले जानकारी दिनुभएकाे छ ।

