साहित्यपोस्ट डट कम

बसन्त पराजुलीको ‘बखान’ दोस्रो संस्करणमा

बसन्त पराजुलीको ‘बखान’ दोस्रो संस्करणमा

काठमाडौं । आख्यानकार तथा पत्रकार बसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ ।

पहिलो संस्करणप्रति पाठकको उल्लेखनीय रुचि तथा बढ्दो मागपछि शिखा प्रकाशनले उपन्यासको दोस्रो संस्करण बजारमा ल्याएको हो ।

मंगलबार आयोजित कार्यक्रममा स्रष्टा समाज चितवनका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईंलगायतले संयुक्त रूपमा दोस्रो संस्करण लोकार्पण गर्नुभएको थियो ।

शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ पाठकले अत्यधिक रुचाएका कृतिमध्ये एक बनेको बताउनुभयो । उहाँका अनुसार उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति तथा २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक र साहित्यिक ढङ्गले प्रस्तुत गरिएकाले पाठकको विशेष रुचि प्राप्त भएको हो ।

नेपालका प्रथम सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसंघर्षलाई केन्द्रमा राखेर लेखिएको उपन्यासमा चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा चित्रण गरिएको छ ।

लेखक पराजुलीले कृतिको दोस्रो संस्करण प्रकाशन हुनु आफ्ना लागि ठूलो उपलब्धि भएको बताउनुभयो । उपन्यासप्रति माया, विश्वास र निरन्तर साथ दिएकोमा उहाँले पाठकप्रति आभार व्यक्त गर्नुभयो ।

पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित छन् । ‘बखान’ उहाँको ऐतिहासिक विषयवस्तुमा आधारित चर्चित उपन्यासका रूपमा स्थापित भएको छ ।

देशमा भएका विभिन्न क्रान्तिको पृष्ठभूमिमा तयार उपन्यासले चितवनको बढ्दो बस्ती विकास तथा जैविक विविधता संरक्षणका विषयलाई पनि समेटेको छ । दोस्रो संस्करणसँगै कृति थप पाठकमाझ पुग्ने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.