काठमाडौं । वर्तमान कविता समूहद्वारा आयोजित ‘अग्रजसँग वर्तमान कविता’ कार्यक्रमको चौथो शृङ्खलामा अग्रज कवि तथा साहित्यकार अविनाश श्रेष्ठसँग साक्षात्कार सम्पन्न भएको छ ।
कार्यक्रममा कवि श्रेष्ठले आफ्नो साहित्यिक जीवनका अनुभव, भोगाइ र सिर्जनात्मक यात्राका विविध पक्षबारे सहभागीहरूसँग विचार साझा गर्नुभयो । उहाँले यस्ता साहित्यिक कार्यक्रमले अग्रज पुस्ताको ज्ञान, अनुभव र दृष्टिकोणलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो ।
साथै, सर्जक, पाठक र श्रोताबीच प्रत्यक्ष संवाद स्थापित हुँदा साहित्यप्रतिको समझदारी र आत्मीयता अझ सुदृढ हुने धारणा उहाँले व्यक्त गर्नुभयो । अग्रज स्रष्टाको सम्मान गर्नु भनेको समग्र साहित्य र कविताको सम्मान गर्नु भएको उल्लेख गर्दै उहाँले साहित्यिक परम्परा र उत्तराधिकारको संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कविता, कथा, नाटक तथा सम्पादनका क्षेत्रमा सक्रिय अविनाश श्रेष्ठका ‘परेवा सेता–काला’, ‘संवेदना ओ संवेदना’ र ‘करोडौँ सूर्यहरूको अन्धकार’ (पर्या कविता) कविता सङ्ग्रह प्रकाशित छन् । यसैगरी उहाँका ‘अश्वत्थामा हतोहत’ नाटक तथा ‘तान्या र इन्द्रकमल’ कथासङ्ग्रह पनि प्रकाशित कृतिहरू हुन् ।
श्रेष्ठ समकालीन नेपाली साहित्यका प्रतिष्ठित सम्पादकमध्ये एक मानिनुहुन्छ। उहाँ ‘समकालीन साहित्य’ र ‘गरिमा’ जस्ता चर्चित साहित्यिक पत्रिकाका सम्पादकका रूपमा समेत परिचित हुनुहुन्छ । नेपाली साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप उहाँलाई सन् १९८२ मा रत्नश्री स्वर्ण पदक प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यप्रेमी, युवा स्रष्टा तथा पाठकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले श्रेष्ठसँग साहित्य, सिर्जना, समाज तथा समकालीन साहित्यिक प्रवृत्तिका विषयमा प्रत्यक्ष संवाद गर्नुभएकाे थियाे ।
साक्षात्कारपछि विष्णुविभु घिमिरेले ‘वसन्तभन्दा ठुलो विश्वास’, केशव भट्टराईले ‘घर’, प्रेमिला राईले ‘अन्तिम अनुरोध’, धीरकुमार श्रेष्ठले ‘पुनरावृत्ति’, उमेश राई ‘अकिञ्चन’ले ‘अक्षर इच्छा’, सुरज पराजुलीले ‘अभिनय’, चन्द्रबहादुर लामाले ‘पहिरो गएपछि’, विश्व सिग्देलले ‘बा बन्दै गइरहेछु’ तथा प्रज्वल अधिकारीले ‘बडा भयावह चित्र बनाउँदै छ’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
रमी प्रियापछि शकुन्तला जोशीले पर्या कविता वाचन गर्नुभएको थियो भने बङ्गाली कवि सेन्जुती बरुवाले बङ्गाली, अङ्ग्रेजी र नेपाली भाषामा अनूदित कविता प्रस्तुत गर्नुभएको थियो ।
विश्व सिग्देलको सञ्चालनमा सम्पन्न कार्यक्रमले पुस्तान्तरण, साहित्यिक संवाद र सिर्जनात्मक चेतनाको विकासमा सकारात्मक योगदान पुर्याएको आयोजकले जनाएको छ ।

