काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले बर्लिनस्थित नेपाली राजदूतावासमा ‘बर्लिनमा नेपाली साहित्य’ कार्यक्रम आयोजना गर्दै ‘अनेसास अनलाइन लाइब्रेरी’को औपचारिक घोषणा गरेको छ ।
शनिबार सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका साहित्यकार, स्रष्टा, वैज्ञानिक, सामाजिक अभियन्ता, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा नेपाली भाषा–साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सीमा ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको विधानमाथि छलफल गरी अनुमोदन गरिएको थियो । विधान अनुमोदनपछि सात सदस्यले हस्ताक्षर गरेका थिए ।
सोही अवसरमा नेपाली साहित्यका कृति र सिर्जनालाई डिजिटल माध्यमबाट विश्वभरका पाठकमाझ पुर्याउने उद्देश्यले ‘अनेसास अनलाइन लाइब्रेरी’को डिजिटल उद्घाटन तथा औपचारिक घोषणा गरिएको हो ।
कार्यक्रममा जलवायु तथा वायुमण्डलीय वैज्ञानिक एवं आइपिसिसी कार्य समूह–१ का उपाध्यक्ष डा. महेश्वर रूपाखेती, एनआरएन ए जर्मनीका उपाध्यक्ष राजेश सुनार, इनास जर्मनीका महासचिव नीरज नेपाली तथा एफसी नेपाल बर्लिन इभीका अध्यक्ष डा. सरोज चुडालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अनेसास जर्मनी च्याप्टरका पदाधिकारीहरूले संस्थाको विगत, वर्तमान र भावी कार्ययोजनाबारे संयुक्त प्रस्तुति दिएका थिए । प्रस्तुतीकरणमा डिजिटल साहित्यिक गतिविधि विस्तार, जर्मनीका विभिन्न सहरमा साहित्यिक कार्यक्रम सञ्चालन, नयाँ पुस्तालाई नेपाली साहित्यसँग जोड्ने तथा नेपाली–जर्मन द्विभाषिक साहित्यिक कार्यक्रम सञ्चालन गर्ने योजनाबारे जानकारी गराइएको थियो ।
सुवासचन्द्र सापकोटाको संयोजनमा नेपाली भाषा, साहित्य, इतिहास र संस्कृतिसम्बन्धी पुरस्कारसहितको हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा अनेसास जर्मनी च्याप्टरका सदस्य निरज सोडारी विजेता बन्नुभएकाे थियाे ।
रचनावाचन सत्रमा सहभागी स्रष्टाहरूले कविता, गजल, मुक्तक तथा अन्य साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए ।
यसै अवसरमा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागर फुँयाललाई कदरपत्रसहित सम्मान गरिएको थियो । कूटनीतिक क्षेत्रका साथै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको अनेसास जर्मनीले जनाएको छ ।

.jpg)