काठमाडौँ, श्रावण ९
कृषि वैज्ञानिक डा. जीत बरालको संस्मरण ‘गाँस, वास र जिन्दगी’ माथि काठमाडौँमा विमर्श सम्पन्न भएको छ । राजधानीको रामशाह पथस्थित ग्रिन लिफ फुड रेष्टुराँमा वरिष्ठ साहित्यकार भुवहरि सिग्देलको सभापतित्वमा शनिबार अयोजित विमर्शमा वक्ताहरू डा. अशोक थापा, डा. नम्रता पाण्डे तथा प्रतीक ढकालले बरालको कृतिमाथि आफ्ना धारणा राखेका थिए । यो कृति लेखक बरालको ‘बियोन्ड द ब्रेडः टु वल्र्ड्स, वन विट्नेश’ को नेपाली अनुवाद हो । अनुवाद युवा साहित्यकार शरद ऋतुले गरेको हुन् ।
कृतिको समीक्षा गर्दै समालोचक थापाले भने बरालको संस्मरण गरिबी, वियोग र अनेकौँ अप्ठ्यारालाई चिरेर आफ्नो सपना साकार गर्ने एक स्वप्नजीवीको जीवनकथा हो । आमा र दिदीको सहयोग र प्रेरणाबाट सफलताको चुलीसम्म पुगेका बराल धेरैका लागि प्रेरणा भएको उनको मूल्याङ्कन थियो । अर्का वक्ता डा. नम्रता पाण्डेले बरालको सम्पूर्ण जीवनकथा नै साह्रै उत्प्रेरक रहेको बताइन् । नारी पात्रलाई पनि उनको भूमिकाका लागि जस दिएको भन्दै उनले नारी सशक्तीकरणका तर्कप्रति बराल संवेदनशील रहेकोमा खुशी व्यक्त गरिन् । उनले कृतिको उत्तरार्ध अझ खँदिलो र गहन बनाउन सकेको भए अझ प्रभावशाली हुने मत पनि व्यक्त गरिन् ।
अनुवाद अनुभव प्रस्तुत गर्दै शरद ऋतुले कृति अनुवाद गरेर सक्दा आफूले मोक्ष प्राप्त गरेको अनुभूति गरेको सुनाए । उनले भने, ‘मैले कहिल्यै नदेखेको वा नजानेको पात्रको जीवनकथाको अनुवाद सुरु गर्दा म अलमलिएको थिए । काम सक्दा मोक्ष प्राप्त गरेको अनुभव भयो ।’
साहित्यकार प्रतीक ढकालले कृषि वैज्ञानिक बराल कृषि अनुसन्धानमै सीमित रहेको भए उनको ज्ञान र अनुभवको परख गर्न लोकलाई गाह्रो पर्ने थियो भन्दै उनको लेखकका रूपमा आउने निर्णयको प्रशंसा गरे । उनले भने, पेशागत अनुभव र प्राप्ति त्यसै क्षेत्रमा सीमित हुन्छ । लेखनमा आइसकेपछि त्यो अमर र सझा हुन्छ ।
कार्यक्रममा बराल वंश प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष हेमराज बरालले लेखक बराल यसरी कृतिकारको रूपमा आएको देख्दा सिङ्गो बराल वंश गौरवान्वित भएको बताए । उनले लेखक बराललाई सफलताको शुभकामना पनि दिए ।
कृतिकार बरालले लामो समय अमेरिकामा बसेपश्चात यस कृतिको नेपाली रूपान्तरणसहित आफू ‘घर फर्केको’ घोषणा गरे । उनले आफ्नो सफलताको सम्पूर्ण श्रेय आमा र दिदीलाई दिँदै कृति पनि उनीहरूमाथि नै समर्पित भएको जिकिर गरे । उनले आफू लेखन कार्यमा निरन्तर लाग्ने र भविष्यमा अन्य कृतिका माध्यमबाट पनि नेपाली पाठकहरूको सामु आउने प्रतिबद्धता व्यक्त गरे ।
सभापति भुवनहरि सिग्देलले लेखक बरालको लेखनशैली कवितात्मक हुनुका साथै परिपक्व जीवन–अनुभुतिबाट अनुप्राणित भएको टिप्पणी गरे । उनले कलम नरोक्न पनि बराललाई सुझाव दिए ।
पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको हो ।

