इलाम । ‘बुङ्वाखा’ मासिकको २१औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने दुई दिने ‘बान्तावा साहित्य महोत्सव’मा विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरिने भएको छ ।
कार्यक्रम संयोजक तथा पदम राईका अनुसार भोजपुरका दिनेश बान्तावा ‘काजी’लाई ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’ प्रदान गरिनेछ । ६५ हजार २ सय ९१ रुपैयाँ राशीको यस पुरस्कारमार्फत उहाँको बान्तावा चलचित्र तथा संगीत क्षेत्रमा योगदानको कदर गरिने जनाइएको छ ।
यसैगरी पाँचथरका संगीतकर्मी मण्डल साम्पाङलाई ‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार’ प्रदान गरिनेछ । ४० हजार रुपैयाँ राशीको उक्त पुरस्कार उहाँले बान्तावा गीत–संगीतमा पुर्याएको योगदानका आधारमा पाउनुहुने भएकाे हाे ।
इलाम–झापा निवासी विमला राईलाई ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार’ प्रदान गरिनेछ । डिजिटल माध्यममार्फत बान्तावा भाषाको प्रवर्द्धनमा सक्रिय योगदानका लागि उहाँलाई १५ हजार रुपैयाँ राशीसहित सम्मान गरिनेछ ।
त्यसैगरी बुङ्वाखाका संवाददाता चन्द्र सोङ्मेनलाई ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ प्रदान गरिनेछ, जसको राशी १० हजार रुपैयाँ रहेको छ ।
गायक तथा संगीतकर्मी कुवेर राईलाई ‘बुङ्वाखा सम्मान’ अर्पण गरिने भएको छ । ‘मायाले मूलबाटो भुलेछ’ लगायतका कालजयी गीतमार्फत परिचित राई हाल अस्वस्थ अवस्थामा उपचाररत रहनुभएकाे छ ।
उक्त पुरस्कार तथा सम्मानहरू इलामको फिक्कलमा आगामी वैशाख २६ र २७ गते आयोजना हुने ‘बान्तावा साहित्य महोत्सव’को अवसरमा प्रदान गरिने आयोजकले जनाएको छ ।

