बुङ्वाखा मासिकद्वारा आयोजित ‘बान्तावा भाषामा आमा–बुबालाई चिठीलेखन प्रतियोगिता’मा भोजपुर आमचोक गाउँपालिका–३ का इमानसिंह राई प्रथम हुनुभएकाे छ ।
प्रतियोगितामा २१ जना प्रतिस्पर्धीलाई उछिन्दै राई विजेता बन्नुभएकाे हाे । पेशाले शिक्षक रहनुभएकाे उहाँले हाल रामप्रसाद राई गाउँपालिका–स्थित श्री कटुन्जे माविमा अध्यापन गर्दै आउनुभएकाे छ ।
विजेता राईलाई कदरपत्रसहित १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । पुरस्कारका लागि ‘बुङ्वाखा–दलवीर–वीरमाया वालाहाङ राई छेन्बिभुङ’ अक्षयकोषबाट व्यवस्था गरिएको हो, जसको कुल कोष ३ लाख १५ हजार रुपैयाँ रहेको छ । यो अक्षयकोष भोजपुर हतुवागढीका दलवीर राई र वीरमाया राईको स्मृतिमा उहाँका सन्तानहरूले स्थापना गर्नुभएकाे हाे ।
पदम राईका अनुसार डिजिटल युगमा मातृभाषामा चिठी लेख्ने परम्परा हराउँदै गएकाले यसलाई जोगाउन प्रतियोगिता आयोजना गरिएको हो । उहाँले बान्तावा भाषाको साहित्यिक परम्परा पुनर्जीवित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयाे ।
विजेतालाई आगामी वैशाख २६–२७ गते इलामको फिक्कलमा हुने ‘बान्तावा साहित्य महोत्सव’मा औपचारिक रूपमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

