काठमाडौं । नाट्यसम्राट बालकृष्ण समद्वारा रचित गजललाई सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले स्वर र सङ्गीत दिएर सार्वजनिक गर्नुभएकाे छ ।
समले करिब एक शताब्दीअघि रचना गरेको तथा ‘मेरो कविताको आराधन उपासना–१’ मा सङ्कलित गजल ‘जान लाग्यो नाम जप्ने सास यो’ लाई श्रेष्ठले सङ्गीतबद्ध गर्नुभएकाे हाे । उक्त गजलको श्रव्यदृश्य शनिबार मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गजल अभियन्ता तथा समालोचक घनेन्द्र ओझाले सम नाट्यसम्राटका रूपमा परिचित भए पनि उहाँले गजल विधामा समेत महत्वपूर्ण सिर्जना गरेको उल्लेख गर्नुभयाे। उहाँले आदिगजलकार मोतीराम भट्टपछि नेपाली गजल लेखनको परम्परामा समको पनि उल्लेखनीय योगदान रहेको बताउनुभयाे ।
समले गजल शीर्षक नराखे पनि उक्त रचना गजलको शास्त्रीय संरचनाअनुसार नै सिर्जना गरिएको ओझाको भनाइ थियो । कृष्णभक्तिमा केन्द्रित उक्त गजललाई सङ्गीतमा उतार्दै सन्तोष श्रेष्ठले महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र बालकृष्ण समका गजललाई नयाँ पुस्तामाझ पुर्याउने प्रयास गरेको उहाँले बताउनुभयाे ।
चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले साहित्य र सङ्गीतमा नयाँ प्रयोग गर्न रुचाउने सन्तोष श्रेष्ठले अग्रज स्रष्टाका सिर्जनालाई नयाँ ढङ्गले प्रस्तुत गरेकोमा खुशी व्यक्त गर्नुभयाे ।
गजलकार राधा कँडेलले सन्तोष श्रेष्ठ र घनेन्द्र ओझाले अघि सारेको ‘नेपाली गजल गायन स्वर्ण दशक (वि.सं. २०८०–२०९०)’ अभियानले छोटो अवधिमै देशका विभिन्न स्थानमा प्रत्यक्ष गजल गायन कार्यक्रम सञ्चालन गर्नुका साथै केही एल्बम सार्वजनिक गरिसकेको उल्लेख गर्नुभयाे । त्रिमूर्तिका गजललाई सङ्गीतमार्फत प्रस्तुत गर्नु अभियानको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो ।
महाकवि देवकोटाका सुपुत्र प्रा. डा. पद्मप्रसाद देवकोटाले अग्रज स्रष्टाको सम्मान गर्ने सन्तोष श्रेष्ठको प्रयास प्रशंसनीय रहेको बताउनुभयाे ।
सङ्गीतकार तथा गायक श्रेष्ठले आफूले व्यावसायिक उद्देश्यभन्दा पनि अग्रज स्रष्टाप्रतिको सम्मानका भावले यस्ता सिर्जनालाई सङ्गीतमा उतार्दै आएको बताउनुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले नेपाली गजल गायनको प्रवर्द्धनमा सन्तोष श्रेष्ठको सक्रियता उल्लेखनीय रहेको भन्दै उहाँको प्रयासको प्रशंसा गर्नुभयाे ।
अनाममण्डलीद्वारा आयोजित कार्यक्रमको सभापतित्व प्रभाती किरणले गर्नुभएकाे थियाे भने सञ्चालन रूपक अलङ्कारले गर्नुभएकाे थियाे ।

