‘यथार्थ’ आफैँ सापेक्षित कुरा हो र यसको रूप द्रष्टाको अवस्थिति र आग्रहअनुसार फरक फरक हुन्छ भनेर तर्क गरिएकै कारण यथार्थवादको व्यतिरेकमा अतियथार्थवाद तथा मायावी यथार्थवाद जस्ता उत्तर–यथार्थवादी सिद्धान्तहरू अघि सारिए । तर पनि, समकालीन आख्यान साहित्यको केन्द्रबाट यथार्थलाई च्युत गरिहाल्न कसैले पनि सकेको छैन । सापेक्षितै सही, यथार्थ कुनै न कुनै रूपमा आख्यानमा आएकै छ र विवेचनाको केन्द्रीय भाग ओगटेकै छ ।
यसै क्रममा उदयपुरका स्रष्टा बोधकुमार घिमिरेका ‘बलिदानका कथा’ प्रकाशित भएका छन् । प्रगतिशील लेखक सङ्घ नेपालका उपमहासचिव समेत रहेका घिमिरेको वैचारिक धरातल र साङ्गठनिक आबद्धताले पनि बुझिन्छ र यसले उनका कथाको विचारपक्षको थेरथोर सङ्कत गर्दछ नै । त्यसमा ‘बलिदानका कथा’ शीर्षक दिएर माओवादी द्वन्द्वको सेरोफेरोमा घटित घटना–दुर्घटना र तिनमा ज्यान गुमाउन पुगेका पात्रहरूको अन्तरकथाको आख्यनीकरण गरिनुले उनले सङ्केत गरेको ‘बलिदान’ को अर्थ र सन्दर्भ पनि सहजै बुझ्न सकिन्छ । सङ्ग्रहले बोकिल्याएको समयको कालखण्ड पनि वि.सं. २०५० र ६० को दशकको हो, यद्यपि प्रसङ्गअनुसार कथानकले यसको अघिपछिको समयलाई पनि यदाकदा सङ्केत गरेको छ ।
सङ्ग्रहमा एघारवटा कथा समेटिएका छन् । ‘अधुरो चाहना’ मा माओवादी द्वन्द्वताका उदयपुरमा खटिएको बेला घाइते भएकी र समाख्याता स्वयंले उपचार गरेकी विद्रोही जमुनाको गृह जिल्ला कालिकाट पुगेर पनि उनको चिहानमा एक अँजुली माटो चढाउन नसकेको पछुतो छ । जमुनाका अतिरिक्त योद्धा, नवीना, टीका भाइ, कमरेड मौसम आदिको दिनचर्या, युद्धमा संलग्नता र व्यवहारको चित्रण मार्फत् लेखकले जनयुद्धको अन्तर्यमा चिहाउने प्रयास गरेका छन् । यो कथाको मूल शरीर चाहिँ नियात्राको जस्तो छ— नेपाल प्रज्ञा–प्रतिष्ठान र प्रगतिशील लेखकसंघले आयोजना गरेको ‘रारा–कर्णाली पर्यटन साहित्य यात्रा’ सम्पन्न गरेर फर्कंदाको विवरण हो । मूल कथाचाहिँ यात्रारत लेखकको सम्झना र आकांक्षाको पाटो हो ।
‘अन्तिम दृश्य’ मा एउटा सामान्य गाउँले परिवार वैचारिक आग्रह र बाध्यताको चङ्गुलमा कसरी सरकारी सेना र माओवादी विद्रोही सेनाबीच बाँडिन्छ र सखाप हुन्छ भन्ने कुरा समेटिएको छ । मूल कथा माइला तामाङको परिवारको हो । छोरो रामे, बाको इच्छाविपरित छापामार सेनामा जान्छ र मारिन्छ । पहिल्यैदेखि संभवतः एमाले निकट रहेर स्थानीय राजनीति गर्दै वडा सदस्यसम्म भएका माइला माओवादीका घोर विरोधी हुन् । अझ, रातेमान जस्ता गाउँका मिचाहा, हिंस्रक, बलात्कारी र गुण्डा नै विद्रोही सेनामा प्रवेश गरेको थाहा पाएपछि उनी झनै कटु आलोचक बन्न पुग्छन् । उनकै कटु र निर्भीक आलोचनाका कारण रातेमानलाई विद्रोही सेनाबाट च्युत गरिन्छ । रातेमान सेनाको पक्षमा लाग्छ । समयक्रममा माइला बेपत्ता पारिन्छन्, श्रीमतीलाई रातेमानकै सूचनाका आधारमा सेना र पुलिसले कुटपिट गर्छ र समातेर गाइघाट लान्छ । भनौँ, प्रतिक्रियास्वरूप रातेमान सेनापुलिसको सुराकी बनेको छ । बूढाको घरमा भने राति नै आगो लाग्छ र त्यस घरको एउटा विपुल संसार ध्वस्त हुन पुग्छ । रातेमानप्रतिको क्षोभका कारण भनौँ, पाका उमेरका र माओवादीका कटु आलोचक माइला आफैँ विद्रोही सेनामा प्रवेश गर्छन् र कमरेड ज्वाला कहलिन्छन् । कथाको अन्त्यमा माओवादीले आयोजना गरेको कुनै आमसभामा रामेले उदयपुरगढी नजिकैको वैजनाथ खोलाको गोहियो भन्ने ठाउँमा भएको हत्यामा सहादत प्राप्त गरेको खबर आउँछ । यस खबरले स्तब्ध भएका माइलामाथि एक्कासि रातेमानले आक्रमण गर्छ । भीडन्तमा माइलाको पेस्तोलको गोली लागेर रातेमान ढल्छ । जवाफमा सेनाले हानेको गोली लागेर माइला पनि त्यहीँ अस्ताउँछन् ।
‘आस्थाको अवसान’ मा पढ्न काठमाडौँ आएर माओवादी सेनामा लागेको एउटा गाउँले बाहुन केटो मगरनी केटीसँग जनवादी बिहे गर्न पुग्छ । लामो समय घर पनि नआएको ऊ कुनै दिन एक्कासि आइपुग्छ, र हिँडि पनि हाल्छ । पछि सेना समायोजनका क्रममा ऊ र उसकी श्रीमती दुवै ‘अयोग्य’ घोषित हुन्छन् र घर फर्कन्छन् । न पैसा छ, न वर्तमान छ, न भविष्य छ । सबै कोणबाट विक्षिप्त ती दम्पती आफूहरू बस्ने कोठाको धुरीबलोमा डोरी लगाएर झुण्डिएका भेटिन्छन् । परिवारकै पल्लो घरमा भने बुढा बा र आमा झुण्डिएका भेटिन्छन् । एउटा विचारको हुण्डरीले कसरी सपनाहरू निल्छ, परिवार उजाड बनाउँछ र सबैलाई नआहकमा मृत्युको मुखमा धकेल्छ भनेर यस कथाले दर्साएको छ ।
‘प्रतिज्ञा’ शीर्षकको कथामा भने उदयरपुरगढीका विवेक र इलामकी उर्गेन लेप्चाको कथा समेटिएको छ । पढ्ने सपना बोकेर राजविराज छिरेका उनीहरू दुवै अनेरास्ववियुका सदस्य हुन् । एकअर्काका सहयोगी हुन् । दाजु–बहिनीको साइनो लगाएका छन् । एकचोटि विवेक उर्गेनको गाउँ पनि पुग्छ र उसको पृष्ठभूमि पनि थाहा पाउँछ । तर समयक्रममा उर्गेन र विवेक छुट्छन् । उर्गेन गाउँ फर्किन्छे र छिमेकी राष्ट्र भारतमा नेपाली भाषीहरूले चलाएको भाषा मान्यताको आन्दोलनमा भारतीय सेनाको गोली लागेर घाइते हुन्छे । केही समय हिरासतमा रहेर घर फर्किन्छे तर घाउ निको हुँदैन । ऊ बित्छे । लामो अशक्तताका बेला विवेक उसलाई भेट्न आउला भन्ने विश्वास थियो तर ऊ आएन । आयो, तर ऊ बितेपछि र आँसुको श्रद्धाञ्जली दिएर गयो ।
‘पल्लो घरको बत्ती’ मा एउटा यस्तो परिवारको कथा छ, जसमा एउटा छोरो पूर्ण सरकारी कर्मचारी, अर्को शिव नेपाली सेनाको सिपाही र बहिनी शिला विद्रोही सेनामा छापामार बन्न पुग्छन् । विद्रोही सेनाले सदरमुकाममा धावा बोल्दा पूर्ण मारिन्छ । शिव र शिला भने विद्रोही सेना र सरकारी सेनाबीच भएको दोहोरो भिडन्तमा आमने–सामने हुन्छन् र एकअर्काको हत्या गर्न पुग्छन् । लेखक भन्छन्— ‘जनता र आफ्नो शान्ति सुरक्षाका नाममा दाजुले बहिनी र बहिनीले दाजु मारे ।’ तिनका बाबु, ‘माहिला’ लाई सेनाले समातेर बेपत्ता पार्छ । आमा माहिली भने विद्रोही सेनामा प्रवेश गरेर कमरेड सुनिता बन्छिन् र सरकारी सेनासँगको भीडन्तमा दिवङ्गत हुन पुग्छिन् ।
‘सेतो लुगा’ चाहिँ दुई पूर्वमाओवादी लडाकु नन्दलाल उर्फ मथ्थूराम र ‘ऊ’, यानि कमरेड जसवीरको कथा हो । जसवीर बाबुको किरिया गर्न कोरामा छ । नथ्थुराम जनसेनामा हुँदा र उसका बाबु मर्दा उसलाई किरिया गर्न जाने अनुमति दिइएको थियो । यस्ता क्रियाकलापलाई धार्मिक अन्धता र अन्धविश्वास भनेर निरुत्साहित गर्ने कतिपय कमरेडहरू आफैँ काजकिरिया गर्ने, धामी क्राँक्रीमा विश्वास गर्ने र पूर्ण वस्तुवाद र भौतिकवादलाई प्रताडना दिने काम गरिरहेका छन् । उनका भनाइ र गराइमा तादम्य छैन । नन्दलाल भने यस्तै विरोधास देख्दादेख्दा वाक्क भएकोले मदिरा सेवनको अम्मली बन्छ र गाउँ फर्कन्छ, ‘मथ्थुराम’ बनेर । समयक्रमा कमरेड जसवीर बाबुको करियामा बस्न घर फर्कन्छ । आफूले आजन्म विरोध गरेको धार्मिक अन्धताकै बाटो अपनाएकोमा उसलाई कोरामै पुगेर नथ्थुरामले थर्काउँछ, ‘साला ! तेरो बाउ चैँ बाउ, मेरो बाउ चैँ आलु ?’ किरिया बस्नुपर्दा विचारमाथिको विचलन भएकाले जसवीरलाई पनि पछुतो छ र नन्दलालको प्रश्नको उत्तर ऊसँग छैन । पछुतोको ताप यति छ कि किरियाकै क्रममा एक दिन ऊ कोराबाटै उठेर लापत्ता हुन्छ र कोसीमा हामफालेर अलप हुन्छ ।
‘हराएको लेखक’ आजन्म वामपन्थी विचारप्रति प्रतिबद्ध, स्वाभिमानी, प्रगतिशील र परिवर्तनकारी एक लेखकको कथा हो, जसलाई न आफू समर्थित पार्टीले बुझ्यो, न उसको विचारलाई कसैले आत्मसात गर्यो । उनका मत पढ्दा लाग्छ, येनान सम्मेलनमा लेखकहरूलाई प्रवचन दिइरहेका माओसेतुङका नयाँ संस्करण हुन् उनी । आफू सधैँ अभावमा रहेर, सुखसुविधाबाट टाढै बस्ने उनको जीवनमा उनले न परिवारलाई समय दिन सके, न छोराछोरी र श्रीमतीलाई खुसी राख्न सके । अन्ततः आफ्ना सम्पूर्ण पाण्डुलिपि जलाएर उनी अलप हुन पुगे । कहाँ गए थाहा छैन ।
‘पश्चाताप’ वैदेशिक रोजगारीमा गएकाहरूको घर कसरी विखण्डित हुँदै जान्छ भन्ने भावभूमिमा आधारित कथा हो । कथाको मूल पात्र रविवाल बिहे गरेर एक बच्ची कोपिला जन्मेपछि विदेश जान्छ । बाआमासँग छोरी हुर्काइरहेकी र पेटमा अर्को भ्रुण हुर्काइरहेकी उसकी श्रीमती सरिता सासू–ससुरासँगै छे ।
समयक्रममा ऊ सासूसँग झैझगडा गर्छे र माइत जान्छे । अरूका कुरा सुनेर रविलाल बाआमाकै विरुद्ध उभिन्छ, घर देश फर्केर ससुरालीतिरै लाग्छ, जायजेथाको अंशबन्डा गराउँछ, आफ्नो भाग लिन्छ र बेचेर सकाउँछ । यसै क्रममा कान्छो सन्तान छोरो जन्माएपछि सरिता अर्कैसँग भाग्छे । न परिवार छ, न सम्पत्ति बाँकी छ, न जायजेथा छ । पराजित मानसिकताका साथ रविलाल पुनः आफ्नै बाआमासँग आश्रित हुन जन्मघर आइपुग्छ । कलिला छोराछोरी बुढा भइसकेका बाआमालाई जिम्मा लगाएर, रिनपान गरेर पुनः विदेशतिरै लाग्छ ।
‘भिडियो कल’ यस्तो पात्रको कथा हो जो विदेशमा छ तर घरमा उसकी आमा र श्रीमतीबीच कलह छ । गाउँघरमा, ती दुवै महिलाको अन्यत्र सम्बन्ध चलेको गाइँगुइँ छ । जति पैसा पठाए पनि पुग्यो भन्दैनन् । मिलेर पनि बस्दैनन् । जति सम्झाए पनि सम्झँदैनन् । आजित भएर ऊ, दुवैलाई भिडियो कलमा जोडेर लाइभ आत्महत्या गर्छ । ‘भिडियो कल’ एक मार्फत् हो, माध्यम हो । त्यो न मृत्युको कारण हो, न मूल द्वन्द्वको कारक हो । त्यसैले, यस कथाको शीर्षकको चयन त्यति सटीक भएन कि ?
राजनीतिलाई केन्द्र बनाएर लेखिएका यी कथाको उपसंहार प्रष्ट छ— माओवादी सङ्घर्षले धेरै युवाहरूलाई अनाहकमा बाटो बिराएर जङ्गल पसायो, मरायो, परिवार विखण्डित पार्यो र शून्यशून्य बनाइदियो । बुझेर लाग्नेको कथा पनि छ, लहैलहैमा लागेकाको कथा पनि छ । कथामा माओवादको प्रभाव किशोरदेखि वृद्धवृद्धासम्ममा परेको देखिन्छ । कतिपयले भने विचार वा सिद्धान्तको बोध वा आकर्षणले भन्दा पनि आफ्ना भूल र गल्तीहरू लुकाउन, अथवा रिसिबी साँध्नका लागि यस द्वन्द्वलाई हतियार बनाएको देखिन्छ । सिद्धान्तको बलमा राजनीतिमा लागेकाहरूले अवसरको दुरुपयोग गर्दै आफ्नो स्वार्थको पूर्तिमा लागेका कुराहरू पनि यी कथामा समेटिएका छन् । कतिपय कथाहरूमा धर्म र संस्कृतिलाई अभौतिक अन्धता भनेर दुत्कार्नेहरू नै फेरि धामी, झाँक्री, पूजापाठ र काजकरिरियातिर लागेको चित्रण गर्दै लेखकले वामपन्थी विचारधाराका हिमायतीहरूभित्र देखिने विरोधासलाई पनि सतहमा ल्याएका छन् । आजीवन सिद्धान्तको पक्षमा उभिएकाहरू उपेक्षित भएका, ठगिएका र मर्न बाध्य पारिएका प्रसङ्गहरू पनि सङ्ग्रहभरि भेटिन्छन् ।
उल्लेखित राजनीतिक कथाको लेखनमा लेखकले आफूलाई एक वामपन्थी विचारक र विशेष गरी मार्क्सवादी पार्टीका समर्थकका रूपमा उभ्याएका छन् । सामान्यतः कथालेखन एक कलात्मक अभिव्यक्तिको विधा भएको हुँदा यसमा सकेसम्म वैचारिक तटस्थता कायम गरिसोस् भन्ने आग्रह राखिन्छ । तर कथाकार घिमिरे फरक देखिन्छन् । यदाकदा मार्क्सवादी पार्टीका नेता–कार्यकर्ताका विरोधाभासी चरित्रको विरोध देखिए पनि उनको आग्रह पाठकबाट लुक्दैन । त्यसैले, लेखकको निजी आग्रहको बाटोमा पाठकलाई डोर्याउने उनको प्रयास प्रष्ट देखिन्छ । उनी चित्रण वा कथन भन्दा पनि पाठकलाई आफ्ना विचारको निकट तान्ने प्रयास गरिरहेका देखिन्छन् । एक ठाउँ एउटा पात्र भन्छ, ‘मनमोहन बाहेक अरू कसले के नापे नेपालमा ?’ (२०) । मार्क्सपरस्ती यति छ कि, कथामा अन्यत्रै कतै उल्लेख नगरिएका मार्क्स कथाको अन्त्यमा पूर्णाहुतिको अनिवार्य अंश बनेर आइपुग्छन्— ‘घरको मूलढोका बाहिर सयौँ वर्षअघि जन्मेर विचारले संसार हल्लाएका काल मार्क्सको मलिन मुहार भएको चित्र झुन्डिरहेको देखिन्थ्यो ।’ (४३) ‘प्रतीक्षा’ शीर्षकको कथामा उर्गेनका लागि भनिएको छ, ‘अखिल मात्र होइन, नेकपा मालेका नेताहरूको सम्पर्कले उनी राम्रो कार्यकर्ता बनिसकेकी थिइन्’ (७०) । पृष्ठ १३८ मा पढ्न पाइन्छ, ‘पश्चिमबाट उदाएको नाटकीय उज्यालोभन्दा पूर्वबाट उदाएको सूर्य नै भरपर्दो हुन्छ भन्ने सोचिरह्यो ।’ यस्ता वाक्यले पनि परोक्ष रूपमा एमालेप्रतिको आस्था दर्साउला कि ? पुरै सङ्ग्रहभित्र उल्लेख गरिएका दुई मात्र चर्चित लेखक — मोदनाथ प्रश्रित र प्रदीप नेपाल । मोदनाथ प्रश्रितले त ‘संसारै जुरुक्कै उचाल्ने रचना’ को सिर्जना गरे भनिएको छ (१४२) । उल्लेख भएका संस्था अनेरास्ववियु, एमाले पार्टी र प्रगतिशील लेखक संघ । विचारकमा कार्ल मार्क्स, सिद्धान्तमा द्वन्द्वात्मक भौतिकवाद । अधिकांश पात्र मार्क्सवादी वा माओवादी । विपक्षमा सरकार र उसका सेनापुलिस । घटनाहरूको चित्रण, देखिने गरी आग्रही छ । माओवादी र सेनापुलिसका बारेमा एउटै अनुच्छेदमा गरिएको एउटा चित्रण हेरौँ— ‘गाउँमा सेना र प्रहरीको सक्रियता बढ्दै गएको थियो । बाजेको घरमा पनि आउँथे । सबैतिर खानतलासी गर्दै छोरीहरूलाई पाट्टपिट्ट पार्थे । आमाचाकरी गाली गर्थे र बाटो लाग्थे । विद्रोहीहरू आउँथे । भात पकाउन लगाउँथे । नाच्थे, गाउँथे, चामल, सामान, जे पाउँथे, उठाउँथे र हिँड्थे ।’ (३९) । लाग्छ, सेनापुलिस आतङ्कारी, माओवादी देउसे–भैले । द्वन्द्वकालमा सरकारी सेनाको कर्तुतबारे एक ठाउँ यस्तो चित्रण गरिएको छ— ‘आज बिहानै सरकारी सिपाही गाउँ आए । माइलीको घर घेरे । विद्रोही सेनाले ओढाएको दोसल्लासहित घरबाट बाहिर निकाले । अत्यधिक यातना दिँदै रगतपच्छे बनाएर उनले दैनिक पूरा गर्ने भगवतीले महिषासुरलाई मार्दै गरेको फोटो, शान्त योगमुद्राको भगवान् गौतम बुद्धको मूर्ति, दसैँमा टीका लगाएर खिचेको सबै परिवारको सिसाको फ्रेम हालेको सामूहिक फोटो, घाँस काट्ने खुकुरी र कचिया, दाउरा चिर्ने बन्चरोसहित घिसार्दै लगे ।’ (७७० । प्रश्न गर्न सकिन्छ — सरकारी सेनाले भगवानका फोटोहरूको अपमान गरे होला र ?
एक प्रतिबद्ध मार्क्सवादी समाख्यता कतै भन्छन्, ‘साँच्चै हाम्रो देश, हाम्रो त्यस्तो गौरवमय इतिहास बोकेको देश, कुन पापीको नजरमा पर्यो !’(१११) । पापीको नजर पर्ने कुरा र मार्क्सवादी चिन्तनको तादम्य बुझ्न अलि सकिएन । फेरि, ‘त्यसले शिक्षा नीतिलाई चुर्लुम्मै फोहोरको आहालमा डुबाइदियो’ (१११) भनेको कुरामा पनि पापीको नजरको यस्तो प्रभाव हुन्छ र भनेर सोध्न मन छ । साथै, शिक्षा नीति चुर्लुम्मै फोहोरको आहालमा डुबाइदिएको कुरालाई सत्य मान्नु र ?
मार्क्सवादी र समानतावादी लेखकको लेखनमा कतिपय अनपेक्षित असावधानी पनि भेटिन्छन् । पात्रले नै बोलेको भए पनि समाख्याता त लेखककै प्रतिनिधि हो । एकठाउँ समाख्याता भन्छ, ‘जनताको मुक्तिको कुरा गर्थे, पहिलेका झापालीहरू जस्तै ।’ यहाँ सिङ्गो जिल्ला झापाका बासिन्दाहरूप्रति मजाक गरिएको छ । अन्यत्र उनी लेख्छन्— ‘कक्षामा नेपालीमा बोल्यो भने विद्यार्थीलाई सजाय दिइन्छ, जरिवाना गरिन्छ । अनि ती बच्चाहरूमा कसरी देशमै बसौँ भन्ने भावनाको विकास होस् ? पाठ्यक्रममा इतिहास, नागरिकशास्त्र, नैतिक शिक्षाजस्ता विषयहरूलाई हटाइयो । जीवनमा आवश्यक पर्ने स्वास्थ्य र व्यावसायिक विषयहरू पनि पढाइएन । यसले विद्यार्थीलाई कस्तो बनाउँदैछ ?’ (१११) वास्तविक अवस्था यो होइन । र, अर्को कुनै भाषामा पढ्दैमा कसैले देश छोड्दैन । देश त, एमाले, कांग्रेस, माओवादी लगायतका अन्य पार्टी वा राजाको लामो कुशासनमा भएका व्यथितिका कारण छोड्छन् युवाहरू ।
आपसी कलहमा मरेका वा मारिएकाहरूको मृत्युलाई पनि ‘बलिदानका कथा’ मा किन समेटियो, बुझिँदैन । सासूबुहारीको कलहका कारण मरेको पनि ‘बलिदानी’ भएर उभिएको छ । घर मिलाउन नसकेर बाथरुममा झुण्डिने पात्रको कथा कसरी यहाँ अटायो, बुझिँदैन । राज्यले नै यो अवस्था निम्त्याएको हो भनेर सामान्यीकरण गर्न पनि त सकिँदैन । उता, माओवादीको भनाइ र गराइमा विरोधाभास देखियो र त्यसको दोषी आफू पनि हुँ भनेर ग्लानिवश कोसीमा हामफाल्ने जसवीरको कथा पनि ‘बलिदानका कथा’ भित्रै अटाएको छ ।
सङ्ग्रहमा दुई कथा फरक कलेवरका छन् — ‘उदयचन्द्रको रथ’ र ‘दलमुखी’ । पहिलो इतिहास र दोस्रो किंवदन्तीमा आधारित यी कथामा, यद्यपि, बलिदानका प्रसङ्ग छन् । कथामा भनिए अनुसार उदयचन्द्रकै नामबाट आजको उदयपुरगढीको नामाकरण गरिएको हो । कथामा राजा उदयचन्दलाई प्रजावत्सल भए पनि धेरै श्रीमती थुपार्ने स्त्रीलम्पट राजाको रूपमा चित्रण गरिएको छ । राति मात्रै रथमा दौड्ने र उनको रथ प्रत्यक्ष र परोक्ष रूपमा हेर्नेलाई मृत्युदण्ड दिने प्रथा चलाएका उनी यस दृष्टिले क्रूर पनि देखिन्छन् ।
समयक्रममा उनी धेरैवटी रानी भित्र्याउन पुग्छन् र प्रत्येकलाई नयाँ नयाँ एक एक दरबार वा गढी बनाएर बसाल्छन् । कथामा भनिए अनुसार कमला, ककरु र तावा खोलाको सङ्गम त्रिवेणीमा माघ मेला भर्न आएकी उपध्याय बाहुनकी एक छोरीलाई जबर्जस्ती उठाएर रानी बनाई दरबारमै भित्र्याए । अर्की रानी मगरकी छोरीलाई वैजनाथ र माटेखोलामाथिको डाँडामा फँडिरै फँडिरको जङ्गलबीच बनाइएको दरबारमा राखेका थिए । उनी निःसन्तान अर्थात् ‘बाँझी’ भएकीले उक्त स्थानको नाउँ बाँझीगाउँ र कालान्तरमा बाँझागाउँ भनियो । अर्की रानी तामाङकी छोरी थिइन्, जसलाई ताउखोलाभन्दा माथि हाडेबयरका रुखहरू पाइने जङ्गलमा नयाँ दरबार बनाएर राखियो । अर्की रानी भने कमलानदी छेउतिरका दनुवारकी छोरी हुन पुगिन् । कथाअनुसार राजाकी कान्छी श्रीमती, दरबारको उत्तरपट्टि रिस्कु र तावा खोला छेउको गाउँकी सिर्किनी केउवती हुन् । आफूलाई राज्यकी मूल रानी बनाउने सर्तमा उनी बिहे गर्न तयार भइन् तर सर्किनी, त्यस बेला मानिने अछुत जातकी भएकीले राजाले लोकलाजका कारण तत्काल उनलाई रानी बनाउन सक्दैनन् । फलस्वरूप, कुनै एक रात, राजा आफूलाई भेट्न उनको एकान्त दरबारमा आएको बेला उनी झुण्डिएर आत्महत्या गर्छिन् । विक्षिप्त बनेर आफ्नो रथमा भागेका राजा उदयचन्द्रलाई त्यसपछि कसैले देखेन । भनाइ छ— केउवती रानी न्याउली भइन् र राज उदयचन्द्र हाप्सिलो भए । कहिलेकाहीँ उनीहरू एकैचोटि रुन्छन् र त्यस्तो बेला गाउँमा विपत्ति आउँछ भन्ने लोक विश्वास छ ।
अर्को कथा ‘दममुखी’ एक किंवदन्तीमा आधारित कथा हो । कथालाई एक शिक्षक ‘अमर सर’ ले विद्यार्थीलाई सुनाएका हुन् । किंवदन्ती अनुसार नेपालटारवरिपरि शासन गरी बसेका खम्ब राजाले छोरी पौवामैयाँका लागि योग्य वर खोज्न कुस्ती खेलको आयोजना गरे । सबै हार्दै गएपछि अन्ततः सुकुमार, कृष्ण वर्णका युवक बैजु र हेर्दै डरलाग्दो, बलियो दलमुखी प्रतिस्पर्धामा बाँकी रहे । प्रतिस्पर्धामा मूल अतिथिका रूपमा मधेसका राजा ‘राजाजी’ आमन्त्रित थिए । राजा खम्ब र उनका पक्षधर बैजुको पक्षमा थिए तर राजाजी दलमुखीको पक्षमा । दलमुखीको शक्तिको स्रोत उसले बोक्ने गरेको ढ्याङ्ग्रो थियो । तर राजा खम्ब समूहले यो कुरा थाहा पाएपछि षड्यन्त्रपूर्वक उसको ढ्याङ्ग्रो लुकाइयो र उसको शक्ति क्षीण गरायो । फलस्वरूप, बैजुले उसलाई लिहिदहमा डुबाएर मार्यो र पौवामैयाँसँग बिहे गर्यो । रिसाएका राजाजीले श्राप दिए— ‘तिम्रो वरिपरिको खोला, कुवा र धाराको पानी अझै चिसो होस् ।’ मैयाको दरबार भने न्यायो होइरहोस् भन्ने शुभेच्छा पनि व्यक्ति गरे । पछि एक प्रलयमा त्यो दरबार यानि रङ्गमहल नामोनिशान मेटिने गरी नष्ट भयो । लेखकको दाबी छ— ‘आज पनि पौवा खोला र वरिपरिका कुवाहरूमा मनतातो पानी बग्छ । त्यहीँ नजिकै वैजनाथ खोला र वरिपरिको कुवाहरूमा अति चिसो । दर्भे र तितेनीको बिचको जङ्गलमा यामानको ढ्याङ्गो अझै छ । मानिसहरू भन्छन्, बेलाबखत दलमुखी लिहिदहबाट निस्केर जङ्गलमा भएको ढ्याङ्ग्रो बजाएर धामी बस्छन् । उनको उफ्राइले पहिरो जान्छ र वैजनाथ खोला थुनिन्छ । त्यो खोलाको पानीले डुबाएर जबसम्म दलमुखीको रगत पसिना बगेको दोभाने पखालिँदैन, तबसम्म खोला खोलिँदैन ।’
दुवै कथामा अन्याय छ, मृत्यु छ । तर पनि, कुनै विशाल साझा सरकोरका लागि भएका मृत्यु होइनन् । केउवतीको मृत्यु रानी हुन नपाएको झोँकमा भएको हो, यद्यपि यसको पृष्ठभूमिका जातीय विभेद छ । दलमुखीको मृत्यु पनि राजकुमारी पाउने ध्याउन्नमा भएको षड्यन्त्रका कारण भएको छ । त्यसैले, क्षेपकमा जोडिन आएका सामाजिक–राजनीतिक सरोकारका कुरा यी कथामा जोडिएका भए पनि यी सारभूत रूपमा बलिदानका कथा भने होइनन् । अँ, यी कथाको एउटा विशेषता छ । यनिले ‘विजडम सिट्स इन प्लेसेज’ यानि, स्थानहरूमा ज्ञानको स्रोत निहीत हुन्छ भन्ने केथ बास्सोको तर्कलाई सार्थक तुल्याएका छन् । साथै, यिनले लोकप्रज्ञालाई हेर्ने एउटा आँखीझ्याल दिएका छन् ।
कथाकार घिमिरेका कथामा दुर्लभ कथानक छन् । तिनले समाजका अर्थपूर्ण विवेचना गर्न मद्दत गर्छन् । माओवादी पृष्ठभूमिका घटनाक्रमहरूको आख्यानीकरणको जुन जोखिम उनले उठाएका छन्, त्यो प्रशंसनीय छ । उनले सरकार र माओवादी — दुवै पक्षका ज्यादतीलाई सहमतमा ल्याउने प्रचेष्टा गरेका छन्, यद्यपि त्यसमा आग्रहको सन्तुलन अलि कम छ र तटस्थता पनि कम छ । उनको सबैभन्दा ठूलो कमजोरी भनौँ, कथामा अपेक्षित कलाको प्राधान्यमाथि उनको एमाले पक्षधरताको ग्रहण छ्याप्पै लागेको छ । राजनीतिकै पैरवी गर्न उनले कथाभन्दा पनि वैचारिक लेखहरू लेख्दा उत्तम हुन्छ । साहित्यका आम पाठकलाई कुनै अमुक दलको पक्षधरतामा उभिएको साहित्यसँग त्यति ठूलो सरोकार रहँदैन । अर्को कुरा, उनी कथा लेखनको सीमा भत्काउँदै नियात्रा, निबन्ध र विश्लेषणतिर पनि बरालिन्छन् । कृतिको सम्पादन पक्ष ज्यादै फितलो छ ।

